हृदयाघातले अचानक मुटुको धड्कन बन्द हुँदा सीपीआरले बचाउन सक्छ (भिडियाे)

काठमाडौँ– सीपीआर के हो? सीपीआरको अभ्यास कुन समयमा गरिन्छ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ।

पछिल्लो समय हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। परिवर्तित जीवनशैली, असन्तुलित आहारका कारण मानिसहरुमा हृदयघातको समस्या बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्।

अकस्मात रुपमा हृदयघात भएर मुटुको धड्कन रोकिँदा मानिसहरुलाई बचाउनका लागि अभ्यास गरिने एक उपाय हो, सीपीआर। हृदयाघात भएको व्यक्तिलाई तत्काल सही तरिकाले सीपीआर दिन सकिएको खण्डमा उक्त व्यक्तिको ज्यान केही हदसम्म बचाउन सकिने चिकित्सकहरुले बताएका छन्।

नेपालको सन्दर्भमा दैनिक १ सय ५० जनाले हृदयाघातका कारण ज्यान गुमाउने गरेका छन् जसमध्येका इन्जिनियर डा. भाष्कर थापा पनि हुन्। ८ वर्ष पहिले टेनिस खेल्दै गरेका थापाले कोर्टमै ज्यान गुमाएका थिए।

शुक्रबार उनै थापाको ५८ औँ जन्मदिनको अवसर पारेर भाष्कर–तेजश्री स्मृती प्रतिष्ठानले एक कार्यक्रम गर्दै २० जना स्कूल नर्सहरुलाई सीपीआर तालिम दिएको छ।

प्रतिष्ठानले अकस्मात रुपमा हुन सक्ने अप्रिय घटनलाई रोक्नका स्कूल नर्सहरुलगायत डाक्टर तथा हेल्थ असिस्टेन्टलाई सीपीआर तालिम दिएको जनाएको छ। प्रतिष्ठानले स्थापनाकालदेखि नै यस्ता अकाल मृत्युबाट कसरी युवा–युवतीहरूलाई बचाउन सकिन्छ भन्ने हेतुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।

जनस्वास्थ्यको लागि प्रतिष्ठानले गर्दै आएका कार्यहरु सराहनीय रहेको पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए।

‘प्रतिष्ठान आयोजना गर्ने कार्यक्रममा जुनसुकै बेला पनि मेरो साथ रहने छ। प्रतिष्ठानले गर्न खोजेको सकरात्मक प्रयत्नलाई बल पर्‍याउनु पर्छ’, उनले भने, ‘प्रतिष्ठानले आफ्नोतर्फबाट जुन पहल गरिहेको छ, त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु। नथाकिकन जहाँसम्म सकिन्छ, यसलाई अगाडि बढाउन शुभकामना व्यक्त गर्दछु।’

थापाका अनुसार बाल्यकालदेखि सरल जजीवनशैलीका बारेमा सिकाउन सकेको खण्डमा कुनै पनि व्यक्ति अस्पतालसम्म पुग्ने गर्ने स्थिति नआउन सक्छ।

‘सानै उमेरबाट बालबालिकालाई जीवनशैलीमा के खाने? कसरी जीवन बिताउने? भन्ने कुरा सिकाउँदै गयौँ भने कुनै पनि व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउन नपर्ने स्थिति बनाउन सक्छौँ’, उनले भने,‘अहिले स्थानीय समुदायको सहयोगमा सहरी स्वास्थ्य केन्द्रले पनि विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई जीवनशैली लगायत धुम्रपान गर्नु हुँदैन भन्ने सिकाउँदै आएको छ।’

तर सरकार भने आकस्मिक स्वास्थ्य सेवामा चुकिरहेको उनले बताए।

उनले भने, ‘आकस्मिक रुपमा कोही बाटोमै लड्यो भने पनि तत्काल सेवा दिन सक्ने स्थिति छैन। केही सीमित स्वास्थ्यकर्मीलाई आकस्मिक सेवाका लागि तालिम दिन सकिन्छ। फेरि यसको अर्थ बाटोमा कोही लड्ने बित्तिकै स्वास्थ्यकर्मी पुग्नुपर्छ भनेको होइन। त्यो ठाउँमा समयमै एम्बुलेन्स पुग्ने, बिरामी अस्पताल पुगेलगत्तै तत्काल उपचार सुरु गर्ने व्यवस्था हुन जरुरी छ।’

आकस्मिक स्वास्थ्य सेवाका लागि केन्द्र सरकारले भन्दा पनि स्थानीय सरकारले नीति नियम बनाएर अगाडि बढेमा प्रभावकारी ढङ्गले आगाडि बढ्न सक्ने थापा बताउँछन्।

यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले प्रतिष्ठानले दिएको सीपीआर तालिम मुटु रोगबाट बचाउने एक प्रभावकारी पहल भएको बताए।

उनले भने, ‘मुटु रोगबाट बचाउनका लागि सीपीआर तालिम समसामयिक पहल हो। यो विधि कुनै पनि शिक्षित व्यक्तिलाई सिकाउँदा आइपरेको बेला समस्या परेका व्यक्तिलाई अस्पताल पुग्नु भन्दा अगाडि नै बचाउन सकिने एक प्रभावकारी माध्यम हो।’

भाष्करको ५८ औँ जन्म जन्म जयन्तीमा दिएको सीपीआर सम्बन्धी तालिमले परिआएका बेला यसको अभ्यास गरेर कुनै पनि व्यक्तिको ज्यान जोगाउन सकेमा प्रतिष्ठान आभार हुने प्रतिष्ठानकी संस्थापक अध्यक्ष डा. रीता थापाले बताइन्।

युरो २०२० फिनल्याण्डविरुद्धको फुटबलमा भएका घटनालाई उदाहरण दिँदै डा. थापाले भनिन्, ‘युरो २०२० फिनल्याण्डविरुद्धको फुटबल खेलमा एक जना खेलाडीलाई अकस्मात् कार्डियक अरेस्ट भयो। सोही टिमका अर्को खेलाडीले समयमै सीपीआर गरी कार्डियक अरेस्ट भएका खेलाडीको मेडिकल टिम आइपुग्नु भन्दा अगाडि नै ज्यान बचाएका थिए।’

यस्ते कार्डियक अरेस्ट हुँदा सीपीआर विधि अत्यन्तै उपयोगी हुने नर्स सिर्जना कंसकारले बताइन्।

‘कार्डियक अरेस्ट भएर कोही लडिरहेको छ भने उसलाई ५ मिनेट सीपीआर गर्न सकियो भने उसको ज्यान बचाउन सकिन्छ। तर त्यसका लागि केही विधी भने प्रयोग गर्नु पर्ने हुन्छ’, उनले भनिन्।

कंसकारका अनुसार लडिरहेको व्यक्तिलाई झक्झकाउनु हुँदैन।

‘कोही व्यक्ति आफ्नो अगाडि एक्कसी लड्यो भने उसलाई झक्झकाउनु हुँदैन। त्यसो गर्दा लडिरहेको व्यक्तिमा अर्को समस्या उत्पन्न हुन सक्छ। घोप्टो परको छ भने त्यसलाई उत्तानो पार्नु पर्छ। र उसको धड्कन, पल्स जाँच गर्नु पर्छ। यो कुराहरु रोकिएको छ भने उसलाई सीपीआर दिन सुरु गरिहाल्नु पर्छ’, उनले भनिन्,‘चेष्टको सेन्टर पोइन्टमा हात खपट्याएर प्रेस गर्नु पर्छ। व्यक्ति रिभाइभ नहुन्जेलसम्म यो प्रकृया दोहोर्‍याइरहनु पर्छ।’

यस्तै प्रतिष्ठानले सातै प्रदेशका सामुदायिक विद्यालयहरुका ४ हजार २२५ युवा विद्यार्थीहरुमा गरेको अध्ययनले अध्ययन अनुसार प्राणघातक जोखिम व्यवहारहरु घटाउन सकिने प्रमाणित गरिसकेको छ। जुन अन्तर्राष्ट्रिय ग्लोबल हार्ट जर्नलमा समेत प्रकाशित भइसकेको छ।

यो कुरालाई नीतिगत कार्यक्रम जस्तै स्कूलको पाठ्यक्रममा समावेश नगरेसम्म नेपाली युवा–युवतीले अकालमा ज्यान गुमाउने क्रमलाई रोक्न नसकिने प्रतिष्ठानले जनाएको छ।

त्यसैगरी विश्व स्वास्थ्य संघठनका अनुसार जीवनशैलीका ५ प्राणघातक जोखिम व्यवहारहरु जस्तै सूर्तिजन्य पदार्थ सेवन, मदिरापान, पत्रु खाना, शारीरिक निश्कृयता तथा मानसिक तनाव आदिलाई न्यूनिकरण गरे हृदयरोगबाट हुने यस्तो ८० प्रतिशत दर्दनाक स्थितीलाई रोकथाम गर्न सकिन्छ।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्