वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ सुरु

भक्तपुर– गीतकार एवम् मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ नामक कार्यक्रम सुरु गरेका छन्। ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘मुक्तकको कथा’ को शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

चारदशकदेखि आफ्ना कालजयी गीतहरुमार्फत लोकप्रिय गीतकार ढुंगेल केही वर्षयतादेखि मुक्तक विधामा सक्रिय छन्। आफ्नो लेखन यात्राको सुरुवात गीतबाट गरेर उनी पछिल्लो समय मुक्तकमा सक्रिय भएका हुन्।

भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशनमा सुरु भएको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादन प्रणय भुजू, व्यवस्थापन समन ढुंगेल र उद्देश्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन्।

भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए।

कार्यक्रमबारे सर्जक ढुंगेलले भने, ‘मुक्तकको कथा सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथासमेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको हो।’

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्