हड्पिएको सम्पत्ति फिर्ता माग्दैछन् नदीहरु

नदीहरुकाे धैर्य र आक्रोशको बाँध फुटे के होला?

बाढी आउँदा बागमती नदीको बहाव।

काठमाडौँ– नदीका दुवै किनारका अधिकांश क्षेत्रमा पक्की सडक छन्। पार्क बनाइएका छन् वा बन्ने क्रममा छन्। नदी बग्नका लागि सीमित भाग छोडिएको छ र दुवै छेउमा पर्खाल लगाइएको छ। मुख्य सहर काठमाडौँ उपत्यकामा मात्रै नभएर देशभरका अधिकांश सहर हुँदै बग्ने नदी आसपासको अवस्था यस्तै छ।

बस्ती बढ्दै जाँदा नदीहरु खुम्चिँदै, साँघुरिँदै गएका छन्। बढ्दो सहरीकरण र जनघनत्वले नदीको बहाव क्षेत्र झन् झन् सानो भएको छ। त्यसमाथि सौन्दर्यकरण, व्यवस्थापन र नदी कोरिडोरका नाममा भइरहेका निर्माणहरुले नदी–खोलाको प्राकृतिक बहाव सिद्धान्तलाई बेवास्ता गरेकोमा स्वभाविक चासो बढेको छ ।

‘सौन्दर्यकरणको नाममा भइरहेका कामहरु प्राकृतिक नियमसँगै इञ्जिनियरिङ सिद्धान्तविपरीत छ। इञ्जिनियरिङ समुदायले पनि त्यसैगरी काम गरेको छ’, जलस्रोत इञ्जिनियर सरोज कार्कीले भने, ‘मानवलाई चाहिने जति ठाउँ लिएर बाँकी बचेको ठाउँमात्रै खोलालाई दिने देखिएको छ। हाम्रा योजनाहरु नदीलाई नदीकै रुपमा रहन दिने पक्षमा छैनन्। यिनीहरु नदीको प्राकृतिक नियमविपरीत छन्।’

नदी–खोलाको बहाव क्षेत्रका दुई किनार प्राकृतिक रुपमा केही भिरालो हुने गर्छन्। तर काठमाडौँ उपत्यकाका नदी संरचनामा हाल भइरहेका सौन्दर्यकरण वा करिडोर व्यवस्थापनको क्रममा बहाव क्षेत्र सीमित गरेर सीधा अर्थात ठाडो पर्खाल लगाइएको छ।

भौगर्भिक प्रकोपविज्ञ श्रीकमल द्विवेदीले नदीको ‘सम्पत्ति हड्प्ने’ क्रम विभिन्न बहानामा जारी रहेको बताए। उनले भने, ‘बगर भनेको नदीको सम्पत्ति हो। मान्छेले आफ्नो आवश्यकता पूर्तिका लागि नदीको सम्पत्ति हड्पिरहेका छन्। कहिले बस्ती विकास, कहिले सौन्दर्यकरण, बाटोघाटो र पार्कका नाममा नदीको किनार वा बगर क्षेत्र सखाप पारिएको छ। अहिले काठमाडौँ उपत्यकाका प्रमुख नदीहरुमा बगर बाँकी हुने त परको कुरा भयो बहाव क्षेत्र नै साँघुरो बनाएका छन्। नदीहरु कुलो जस्तो देखिन थाले।’

नदी किनार सौन्दर्यकरण अर्थात दुई किनारमा पर्खाल

थापाथली पुलबाट तल ललितपुर तर्फ बागमती नदी किनारमा सौन्दर्यकरण तथा करिडोर अन्तर्गत पर्खाल लगाउने काम भएको छ ।

काठमाडौँ उपत्यकाको प्रमुख नदी सभ्यताका रुपमा रहेको बागमती नदी किनारमा करिडोर विकासको क्रममा बाटो तथा पार्कहरु निर्माण गरिएका छन्। केही क्षेत्रमा निर्माणको काम जारी छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको मातहतमा करिडोर विकास तथा सौन्दर्यकरणको काम भइरहेको छ।

सौन्दर्यकरण र नदी करिडोर विकासका क्रममा हरियाली पार्क, बाटो र नदी किनारमा पर्खाल तथा घाटहरु बनाइएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले करिडोर विकास तथा सौन्दर्यकरणको काम नदीको बहाव क्षेत्रलाई सीमित गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यअनुरुप भइरहेको बताउँछ।

‘नदीको किनारामा कायम रहेको नापी नक्साको छेउबाट बाहिर कति छोडेर संरचना बनाउने भन्नेबारे २०६५ सालको मंसिर १ गते मन्त्रिपरिषद्को बैठकबाट बागमती र यसका सहायक नदीको मापदण्ड तोकिएको थियो। अहिले भइरहेका कामहरु सोही मापदण्डलाई आधार मानेर भइरहेका हुन्’, समितिका प्रवक्ता कमल अर्यालले भने।

प्राकृतिक रुपमा नदीको बहाव क्षेत्र माथिबाट जति तल गयो त्यति बढ्दै जान्छ। प्रवक्ता अर्यालका अनुसार नदीको प्राकृतिक सिद्धान्तलाई नै आधार मानेर तोकिएको मापदण्डअनुसार अहिले बागमती नदीको बहाव क्षेत्र कायम गरिएको छ। यसअनुसार सुन्दरीजलबाट गोकर्णसम्म २० मिटर, गोकर्णबाट जोरपाटीसम्म ३५ मिटर, जोरपाटीबाट गुहेश्वरी पुलसम्म ४० मिटर र क्रमशः बढ्दै जाँदा चोभारमा ८० मिटर बहाव क्षेत्र कायम गरिएको उनले जानकारी दिए।

तर जल उत्पन्न प्रकोप विभागले गरेको अध्ययनअनुसार उपत्यकामा बग्ने नदीहरु मनोहरा, बागमती, धोबीखोला, विष्णुमती, गोदावरी, हनुमन्ते र बल्खुखोलामा ५० वर्षमा आउन सक्ने बाढी सहज रुपमा बग्नका लागि क्रमशः ४२–१३० मिटर, ५१–२०५ मिटर, ३१ मिटर, २८–८३ मिटर, १३–५१ मिटर, ७८ मिटर र ५० मिटर (करिब) खुला बहाव क्षेत्र चाहिन्छ।

समितिले एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा बागमती नदी किनारको गोकर्णबाट गुहेश्वरी फाँटसम्म ६.१ किलोमिटर, तिलगंगा पुलबाट तल ९०० मिटर एकतर्फी गरी कुल ७ किलोमिटर (दुवै किनार गरेर कुल १४ किलोमिटर) को एक प्याकेजमा सौन्दर्यकरण तथा करिडोरको काम भइरहेको जनाएको छ। यसको ७५ प्रतिशत जति काम सकिएको छ। दोस्रो प्याकेजमा ललितपुरतर्फ युएनपार्कबाट बल्खु पुलसम्म तथा काठमाडौँतर्फ थापाथलीबाट विष्णुमतीको दोभानसम्म कुल ६ किलोमिटरमा काम भइरहेको छ।

सौन्दर्यकरण तथा करिडोर विकासका लागि एडिबीसँग समितिले सन् २०१४ को मार्चमा तीन करोड ६० लाख अमेरिकी डलर र सन् २०१९ को डिसेम्बरमा सात करोड ८८ लाख अमेरिकी डलर बराबरको सहयोग सम्झौता गरेको थियो। सोही सम्झौताबाट प्राप्त रकम अहिले सौन्दर्यकरण तथा करिडोर व्यवस्थापनमा खर्च भइरहेको हो।

प्रवक्ता अर्यालले भने, ‘यसमा पुराना घाटहरुको व्यवस्थापन गरिएको छ। छेउमा रेलिङ, दुई मिटरको फुटपाथ, दुई मिटर साइकल लेन, त्यसपछि पाँचदेखि सात मिटर ग्रिनरी वा सौन्दर्यकरणको काम भइरहेको छ।’

यसैगरी २०६६ को माघमा समितिले गरेको निर्णयअनुसार विभिन्न धार्मिक, निजी र स्थानीय संस्थाले २४ वटा पार्क बनाएको उनले जानकारी दिए। १० वटा पार्क निर्माण भइरहेको र अझै २०–२२ वटा पार्कका लागि माग आएको प्रवक्ता अर्यालले बताए । यसरी संस्थाहरुले बनाएका पार्कहरुको व्यवस्थापनको जिम्मा उनीहरुले नै लिनुपर्ने उनले जानकारी दिए। हालसम्मलाई सौन्दर्यकरणको जिम्मामात्रै दिइएको भए पनि समितिको चल–अचल सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि नै बनाएर लिजमा दिने वा के गर्ने भन्नेबारे निर्णय गर्ने काम भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए। सो कार्यविधि तयारीको भइरहेको छ।

समितिले बागमती करिडोर विकास तथा सौन्दर्यकरणका लागि भइरहेका कामहरु नदी संस्कृतिको प्राकृतिक सिद्धान्न, विगतको वर्षाको विश्लेषण र सम्भावित जोखिमलाई मध्यनजर गरेर गरिएको बताएको छ। तर नदीका दुई किनारका घाटबाहेकका क्षेत्रमा लगाइएका सीधा वा ठाडा पर्खाल तथा बगर क्षेत्रमा निर्माण गरिएका संरचना तथा पार्कहरु भने त्यसअनुरुप देखिँदैन।

गत भदौ तेस्रो हप्ता परेको भारी (आरीघोप्टे) वर्षा र त्यसले बागमती र यसका जलाधारमा पर्ने नदीहरुमा आएको बाढी तथा त्यसले गरेको डुबान र क्षतिले सौन्दर्यकरण र कोरिडोर विकासमा ‘हिलो, लेदो र भग्नावशेष’ छोडेर गएको छ।

शहरका नदी करिडोर र अत्यधिक वर्षा

भदाै तेस्राे हप्ता काठमाडाैँमा आएकाे बाढी ।

विष्णुमति, धोबीखोला, बागमती र मनोहरा शिर तथा हनुमन्ते नदीका शिर क्षेत्रमा हुने वर्षाको प्रभाव तल्लो तटीय क्षेत्र अर्थात काठमाडौँ उपत्यकामा पर्छ।

गएको भदौ तेस्रो हप्ता (२१ गते रातिदेखि २२ गते बिहानसम्म) बागमती नदी र यसका सहायक नदीका शिर क्षेत्रसहितमा भारी वर्षा भयो। भक्तपुर नगरकोटमा १२२.४ मिलिमिटर, काठमाडौँको सुन्दरीजलमा ८६.२ मिलिमिटर, काठमाडौँको बुढानिलकण्ठमा ७८.६, बबरमहलमा ७९.६ तथा नुवाकोटको ककनीमा ६५ मिलिमिटर वर्षा मापन भएको थियो।

यस्तै काठमाडौँ उपत्यकाबाट उत्तर सिन्धुपाल्चोकको सरमथाङमा ९५.६ मिलिमिटर तथा धापमा ११४.४ मिलिमिटर वर्षा भएको थियो। त्यसबेला काठमाडौँ विमानस्थलमा १२१.५ मिलिमिटर पानी परेको थियो।

मौसम विज्ञान विभागका अनुसार काठमाडौँको विमानस्थल र भक्तपुरको नगरकोटमा मौसम मापन केन्द्र स्थापना भएदेखि क्रमशः तेस्रो र पाँचौँ भारी दैनिक वर्षा मापन भएको थियो।

विमानस्थलमा सन् १९६८ मा वर्षा मापन केन्द्र स्थापना भएको थियो। सो केन्द्रमा मापन भएअनुसार सन् २००२ को जुलाई २३ मा सबैभन्दा धेरै १७७ मिलिमिटर पानी परेको थियो। यस्तै १९८७ को अक्टोबर २० मा १२४.४, सन् २०२१ को सेप्टेम्बर ६ मा १२१.५, सन् २०१५ को नोभेम्बर ५ मा ११५.५, २०१९ को जुलाई १३ मा १०३.५ तथा १९७२ को जुलाई २८ मा १०२.८ मिलिमिटर पानी परेको थियो। यसरी हेर्दा काठमाडौँमा १९ वर्षपछि सबैभन्दा ठूलो वर्षा भएको हो।

भक्तपुरको नगरकोटमा सन् १९७१ मापन केन्द्र स्थापना भएको थियो। त्यहाँ सन् १९८६ को जुलाई ३१ मा सबैभन्दा धेरै १७९.४ मिलिमिटर तथा २००२ को जुलाई २३ मा १६१.५, २०१२ को सेप्टेम्बर १२ मा १२५, १९९७ को जुलाई १ का १२४.९ तथा यो वर्षको सेप्टेम्बर ६ मा १२२.४ मिलिमिटर पानी परेको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ।

तर विगतका अत्यधिक वर्षाहरु र यो वर्षको वर्षामा भिन्नता छ अवधिको। यो वर्ष छोटो अवधि (करिब साढे तीन घण्टा) मा अत्यधिक वर्षा भएको हो अर्थात आरीघोप्टे वर्षा भयो। लामाे अवधिमा हुने भारी वर्षा र केही क्षणमै हुने भारी वर्षाले गर्ने क्षतिको आकार भिन्न हुन्छ।

आरीघोप्टे अर्थात छोटो अवधिमा हुने अत्यधिक वर्षा (यो वर्षको जस्तो) का कारण भलबाढी आउने र क्षतिको सम्भावना अधिक हुने गर्छ। हालै सार्वजनिक भएको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था आइपिसिसीको प्रतिवेदनमा उपलब्ध वैज्ञानिक प्रमाणहरुका आधारमा पछिल्लो समय देखिएका अत्यधिक वर्षा तथा अत्यधिक गर्मीका घटनाहरुमा मानवीय कारणले भएको जलवायु परिवर्तन कारक रहेको देखिएको उल्लेख छ।

आइपिसिसीको प्रतिवेदनमा जलवायुजन्य अतिशय घटनाहरु आउँदा वर्षहरुमा अझ धेरै र बारम्बार हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्। यसको अर्थ नेपालमा पछिल्ला वर्षहरुमा देखिएका छोटो अवधिमा हुने अत्यधिक वर्षा तथा त्यसले निम्त्याउने लेदो, गेग्रानसहितको बाढी तथा हुने क्षतिका घटनालाई पनि जलवायुजन्य विपद्को दृष्टिबाट हेरिनुपर्ने तर्क विज्ञहरुको छ।

काठमाडौँ उपत्यकाको मुख्य नदी बागमती तथा यसका सहायक नदी करिडोरमा भइरहेका कामहरु सम्भावित जलवायुजन्य अतिशय घटनाका कारण निम्तन सक्ने जोखिम न्यूनीकरणको दृष्टिले उपयुक्त नरहेको प्रमाण यो गत भदौ तेस्रो हप्ताको घटनाले देखाएको छ।
‘वैज्ञानिक अध्ययन अनुसन्धान तथा प्रमाणहरुले मौसमी तथा जलवायुजन्य गम्भीर घटनाहरु बढ्दै जाने भन्छन्।

काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा १२१ मिलिमिटर र त्यसको आसपासमा वर्षा हुँदा त हामीले त्यति ठूलो बाढीको अवस्था देख्यौँ भने त्योभन्दा बढी वर्षा हुँदा अवस्था के होला?’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख अनिल पोखरेलले भने।

उपत्यकाका नदी करिडोर वा त्यस आसपासका संरचनाहरु सम्भावित जोखिमलाई थेग्न सक्ने खालका नरहेको बताएका पोखरेलले भने, ‘यो वर्षकै मुनसुनमा नवलपरासीको बतासा, कपिलवस्तुको बाणगंगा क्षेत्रमा ३५० मिलिमिटरदेखि माथि वर्षा भयो। त्यस्तो पानी काठमाडौँमा पनि नपर्ला भन्न सकिन्न। त्यो स्तरमा पानी परेको अवस्थामा काठमाडौँ उपत्यकाका नदी आसपासका क्षेत्रहरुको अवस्था भयावह हुनेछ। हाम्रा संरचना र विकासका कामहरु सम्भावित जोखिम थेग्न सक्ने खालका छैनन्। नदी करिडोरको अवस्था त झन् नाजुक छ।’

तर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति भने अत्यधिक वर्षाका घटना बारम्बर नहुने विगतको तथ्यांक हेरेर पनि थाहा हुने दाबी गर्छ। ‘उपत्यकामा अत्यधिक वर्षाको अवस्था झण्डै १९ वर्षपछि देखियो’, समितिका प्रवक्ता कमल अर्यालले भने, ‘फेरि यस्तै वर्षा तत्कालै नहोला, भए पनि नदी करिडोरहरु केही समयपछि पुरानो अवस्थामा फर्किन्छन्। अहिले समस्या देखिएको छोटो अवधिमा अत्यधिक वर्षा भएर हो।’

वर्षामात्रै समस्याको कारण हो त?

सन् १९५० को दशकमा थापाथली क्षेत्रबाट देखिएको बागमती नदी । यो तस्बिर टोनी हेगनले खिचेका हुन्।

विगतको अनुभव जस्तो रहे पनि अहिले अवस्था फेरिएको र उपलब्ध प्रमाण तथा घटनाक्रमहरुले जलवायुजन्य अतिशय घटनाहरुको संख्या र आकार बढ्दै जाने देखिएको विश्वभरका उपलब्ध अध्ययन तथा प्रमाणहरुको विश्लेषणात्मक संक्षिप्त स्वरुप आइपिसिसीको प्रतिवेदनमा उल्लेख छ।

हाल प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन शाखामा कार्यरत जलस्रोत इञ्जिनियर सरोज कार्कीले काठमाडौँसहितका सहरी क्षेत्रमा पछिल्ला वर्षाहरुमा देखिएका डुबान तथा बाढीका समस्यामा वर्षामात्रै कारक नरहेको बताउँछन्।

जलस्रोत इञ्जिनियरिङमा विद्यावारिधि गरेको कार्कीले भने, ‘वर्षा पहिले हुँदा र अहिले हुँदाको प्रकृति फरक छ र क्षतिको आकार बढेको छ। सहरीकरणले खुला क्षेत्र र खेतबारी छैनन्। पानी जमिनमा सोस्न पाइँदैन। वर्षाले नै बाढी आएको होइन, पहिलो कारण चाहिँ मानवीय हो। सहरीकरण र खोलाको बहाव क्षेत्र साँघुरिँदा पारेको असरबारे भएका अध्ययनहरुले विपद्को अवस्था अत्यधिक घातक हुने देखिएको छ। खोलाको चौडाइ साँघुरो बनाउनु निकै घातक हुने र डुबान हुने देखिएको छ।’

हरेक वर्ष डुबानको क्षेत्र र आकार बढेको र यो क्रम जारी रहने उनले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पनि नदी किनारका क्षेत्रका बस्ती तथा भइरहेका विकासका कामले क्षतिको आकार बढाउन सहयोग गरिरहेको बताउँछन्।

‘नदी मिचिएको छ। पानी बग्ने क्षेत्र साँघुरो भएको छ। परेको पानी सोस्ने खाली जमिन छैन। खेतबारी नहुँदा आलीहरुले पानी रोक्ने, केही पानी खेतबारीमै जम्ने अवस्था छैन। जमिन टालिँदा (सिमेन्टेड हुँदा) परेको पानी सोझै खोलामा आउनुको विकल्प छैन सहरी क्षेत्रमा’, उनले भने ।

यस्तो अवस्थामा नदी कोरिडोरको व्यवस्थापन र विकास सम्भावित जोखिम न्यूनीकरणका उपायलाई ध्यानमा राखेर गरिनुपर्ने उनले बताए।

विगतको वर्षाको प्रकृति हेरेर करिडोर विकास तथा सौन्दर्यकरणको काम भइरहेको बताएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता अर्यालले गएको भदौ तेस्रो हप्ताको बाढीले गरेको क्षतिको स्थलगत अध्ययन गर्दा माथिल्लो क्षेत्रमा अनियन्त्रित रुपमा भएका डोजरे विकासको असर पनि देखिएको बताए।

उनले भने, ‘माथिल्लो क्षेत्रमा डोजरले जथाभावी काटेर बाटो तथा अरु निर्माणका काम गरिँदा माटो कमजोर भएको छ । छोटो समयमा अत्यधिक वर्षा हुँदा आउने भलबाढीसँगै माटो पनि खोलामा आएको देखियो। त्यसले खोलाको पिँध पुरिँदै जाने र पानीको सतह माथि आउने हुँदा समस्या बढी भएको छ।’

अहिले भइरहेको निर्माण नदीको प्राकृतिक बहाव सिद्धान्तअनुसार नै रहेको दाबी गरेका उनले जलवायुजन्य विपद्को भावी गम्भीर अवस्था मैत्री भने नरहेको स्वीकार गरे। उनले भने, ‘छोटो अवधिमा धेरै पानी परेकाले हाम्रो अनुमान र विगतको तथ्यांकभन्दा फरक भयो र असर पनि फरक देखियो।’

नदीको पिँध क्षेत्रमा बाढीले बगाएर ल्याएको माटो, लेदो तथा गेग्रान जम्मा हुने गरेको छ। यसको कारण आरीघोप्टे वर्षासँगै नदीको शिर वा माथिल्लो क्षेत्रमा जथाभावी डोजरसहितका उपकरण चलाएर ‘विकास’ का काम गरिनु हो। योसँगै नदीको बहाव क्षेत्र सानो बनाउने र बहाव क्षेत्रलाई प्राकृतिक स्वरुपमा जस्तो फैलिने अवसर नदिनु रहेको भौगर्भिक प्रकोपका विज्ञ द्विवेदी बताउँछन्।

उनले भने, ‘विपदमा मानवीय कारण प्रमुख छन्। काठमाडौँको हकमा नदी कोरिडोरमा भइरहेका कामहरु विपदलाई बढावा दिने खालका छन्। नदी क्षेत्र ओगटे भनेर सुकुम्बासी बस्ती हटाउने तर फेरि सौन्दर्यकरण वा करिडोर विकासका नाममा नदीको बहाव क्षेत्र नै ओगट्ने र पर्खाल लगाएर सीमित गर्न खोजिएको छ। बाढीमा नदी बस्ती वा संरचनाहरुमा पसेको होइन, नदीको सम्पत्ति (बगर र कतिपय अवस्थामा बहाव क्षेत्र) मा हामीले हड्पेका कारण उसले आफ्नो सम्पत्ति फिर्ता मागेकोमात्रै हो।’

के गर्न सकिन्छ वा गर्नु पर्छ?

अहिलेसम्म भएका खराब प्रयासहरुलाई तत्काल रोकेर नदी करिडोरमात्रै नभएर अरु क्षेत्रमा हुने विकासका कामलाई वातावरण र जलवायुमैत्री बनाइनुको विकल्प छैन। बागमती र यस आसपासको सभ्यता र संस्कृतिका जानकार गोविन्द टण्डनका अनुसार नदी सभ्यतामा बागमती र यसका सहायक नदीहरुको भूमिका ठूलो रहेको छ।

‘भगवान पशुपतिनाथको मुखबाट निस्किएको मानिने बागमती अहिले गम्भीर अवस्थामा आएको छ। कोरिडोर भनेर नयाँ योजना आयो। सडक बन्न थाले। त्यसले झनै दबाब बनायो। फोहोर थपियो। बहाव क्षेत्र खुम्चियो’, उनले भने, ‘हामी सानो हुँदा नदी क्षेत्रमा धेरै चरा देखिन्थे। नदी हुँदा खेतीपाती हुन्थ्यो, चारोका लागि चरा आउँथे। अहिले घरले भरिए। पानी खेतीपातीमा चाहिएन, सीधै ढल हुँदै नदीमा जान्छ।’

अझै पनि नदीको सम्पत्ति विभिन्न बहानामा सरकारी–निजी क्षेत्रले हडप्न नछोड्नु दुःखद रहेको उनले बताए। उनले भने, ‘नदीको बहाव क्षेत्र नै अतिक्रमणमा परेको छ, तत्काल यो रोकिनुपर्छ। हिजो नदी चल्नसक्ने अवस्था थियो, कहिले दायाँ कहिले बायाँ जान्थ्यो। अहिले त करिडोर भनेर दुवैतर्फ थुनेपछि समस्यामा छ बागमती। नदीको चौडाइ अतिक्रमण गर्नुभन्दा राम्रोसँग बहान दिनुपर्छ।’

जलस्रोत इञ्जिनियर सरोज कार्कीका अनुसार नदी करिडोर विकास गर्दा भविष्यको उच्चतम अवस्थालाई हेरेर बहाव क्षेत्र छोडिनुपर्छ । यस्तै बाँकी रहेका खुला क्षेत्रमा संरचना बनाउँदा सकेसम्म तल्लो तलमा खाली छोड्ने, सहरी क्षेत्रको ढल संरचनालाई परिमार्जन गर्नेसहितका उपाय अपनाउन सकिने उनले सुझाए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता अर्यालले पुरिएको नदीको पिँध सफा गरेमा जोखिम कम गर्न सकिने बताए। यस्तै समस्या समाधानका लागि नागमती खोला (बागमतीमा मिसिने) को चिसापानीबाट तीन किलोमिटर तल ढाप ड्याम बनाएको उनले बताए। त्यहाँ वर्षातको पानी संकलन गरिने र त्यो पानी हिउँदमा ४० लिटर प्रतिसेकेण्डका दरले नदीमा छोड्ने तयारी छ।

यस्तै अर्को नागमती बाँध बनाउने र ४०० लिटर प्रतिसेकेण्डको दरमा पानी बागमतीमा छोड्ने योजनासहित इआईए तयार भएको समितिले जनाएको छ।

जलस्रोत इञ्जिनियर कार्की, भौगर्भिक प्रकोपविज्ञ द्विवेदी तथा एनडिआरआरएमएका प्रमुख पोखरेलले ड्याम बनाएर वर्षातको पानी संकलन गर्ने र त्यसलाई हिउँदमा छोड्ने विकल्प राम्रो रहेको बताए। तर प्रमुख उपाय भनेको नदीको बहाव क्षेत्र साँघुरो नबनाउने अर्थात नदीको सम्पत्ति उसलाई नै दिनु रहेको उनीहरुको भनाइ छ।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्