न्यूयोर्कको सेराक्यूस सहरमा मनाइयाे नेपालीकाे सम्मानमा ‘जे रेग्मी डे’

काठमाडौँ– हाल अमेरिकाको न्यूयोर्कस्थित सिटी अफ सेराक्यूसमा बस्दै आएका नेपाली आप्रवासी जे रेग्मीले गरेको सामाजिक सेवाको सम्मानमा स्थानीय मेयरको घोषणामा उनको नाममा दिवस मनाइएको छ।

न्यूयोर्क राज्यको सिटी अफ सेराक्यूसका मेयर बेन वालसले गरेको घोषणाअनुसार सेप्टेम्बर २३ मा ‘जे रेग्मी डे’ मनाइएको हो।

कोरोना भाइरसको महामारीको समयमा पनि निरन्तर सार्वजनिक सेवा गरेकाले उनको सम्मानमा दिवस मनाउने निर्णय भएको मेयर वालसले उल्लेख गरेका छन्।

रेग्मी सन् २०१८ मा अमेरिका गएका थिए। जन्मजात बहिरो रहेका उनले नेपाली बहिरा समुदायको हितमा काम गर्दै आएका थिए अमेरिका जानुअघिसम्म।

अमेरिकामा गएपछि उनी सिटी अफ सेराक्यूसका पहिलो आप्रवासी बहिरा अमेरिकी वकिल बन्न सफल भए। उनी अहिले पनि बहिराहरुको पक्षमा वकालत गर्ने तथा सामाजिक सेवामा सहभागी हुँदै आएका छन्।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्