एकीकृत समाजवादी सरकारमा सहभागी भएर देश हाँक्ने छः माधव नेपाल

फाइल तस्बिर।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्।

शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्।

उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने बताए।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ। यो देश हाक्नेछ। यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ। हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो। जनताको सेवा गर्ने हो। देशको इजजत र प्रतिष्ठा बचाउने हो।’

अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए। उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए।

उनले भने, ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ। प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहन्छौँ। राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ। योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहन्छौँ।’

उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको बताए। आफूहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उनले उल्लेख गरे।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्