एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीतिः महरा

दाङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले ‘एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीति’ भएको बताएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीतिअन्तर्गत आएको दाबी गरे।

‘एमसीसी प्रक्रिया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रूपमा स्थापित गरेको छ,’ महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन।’

यस्तै, उनले पार्टी अध्यक्ष प्रचण्ड अहिले गुट तथा उपगुटहरूबाट आजित भएको बताए। ‘अध्यक्ष प्रचण्ड पार्टीभित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरूबाट आजित हुनुभएको छ,’ उनले भने, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु, गुट र उपगुटको म सधैँ विरोधी हुँ।’

समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाइ छ। ‘अहिले अध्यक्ष प्रचण्डले पार्टीभित्रका विकृतिका विषयमा गम्भीर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्ची समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ।’

०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थी लाग्नुपर्ने महराले बताए। आगामी निर्वाचनमा माओवादीलाई मुलुककै पहिलो पार्टीको रूपमा स्थापित गरिने उनले दाबी गरे।

‘अब हामी गाउँ फर्कनुपर्छ, अहिले हाम्रो उठबस अलि बढी बुर्जुवाहरूसँग भयो कि भन्ने चिन्ता बढेको छ,’ महराले भने, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताका लागि हामीले पहल गरिरहेका छौँ।’

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्