सन्दर्भ : इन्द्रजात्रा

‘राजा’ समेत हुन मान्दैनथे भक्तपुरे, उल्टै विस्थापित हुनुपर्थ्याे

काठमाडौँ– सः कुबियो, लायकुया च्युता !
अर्थात् खर्पनमा मल बोक्नेले सिंहासन ताक्ने !

मेहनत गरेर खेतीकिसानी गर्ने तथा व्यापार व्यवसाय गर्ने भक्तपुरका किसानहरुप्रति तात्कालिन शासक वर्ग कहिल्यै सकारात्मक भएनन्। उनीहरुले शासक वर्गविरुद्ध कहिल्यै विद्रोह पनि गरेनन्। बरु उनीहरु राज्यको शासन अझ भनौं राजनीतिप्रति उदासीन नै रहे। किसानहरु शासक वर्गबाट उपेक्षित रहँदै आएको इतिहासदेखि नै हो। त्यहीं उपेक्षा र विभेदस्वरुप मुखरित हुने आराेप नै हाे माथिकाे  वाक्य। जसको साक्षी उसबेलादेखि चल्दै आएका सांस्कृतिक जात्रापर्वसमेत हुन्।

काठमाडौं उपत्यकामा इन्द्रजात्रा चलिरहेको छ। भक्तपुरमा भने शुक्रबार पुलुकिसी जात्रा मनाएसँगै विधिवत रुपमा यस वर्षको इन्द्रजात्रा सम्पन्न भएको छ। यहाँ आठ दिन इन्द्रजात्रा मनाइन्छ। काठमाडौंमा इन्द्रजात्रा अझै चार दिन बाँकी छ।

भक्तपुरमा इन्द्रजात्राको मुख्य केन्द्र मूःपात्र

भक्तपुरको इन्द्रजात्राको मुख्य पात्र एवं केन्द्र राक्षसराज मूःपात्र हुन्। इन्द्रजात्राको किंवदन्तीअनुसार मूःपात्रले इन्द्रका छोरा जयन्तलाई बन्दी बनाउँछन्। जयन्त आफ्नी हजुरआमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न आवश्यक पर्ने पारिजात फूल र खाइसी (अमिलो जातको एक फल) लिन मत्र्यलोक आउँछन्। तर जयन्तले कसैलाई नसोधी मूःपात्रको राज्यका एक किसानको बगैंचाबाट पारिजात फूल र खाइसी टिप्छन्। बगैंचा धनी किसानले आफूसँग नसोधी जयन्तले पारिजात फूल र खाइसी चोरेको भन्दै समाएर राक्षसराज मूःपात्रलाई बुझाउँछन्। राक्षसराजले आफ्नो शत्रु देवताका राजा इन्द्रका छोरालाई सजायस्वरुप पछाडिबाट हात बाँधेर जयन्तलाई चौबाटो उभ्याउँछन्।

जयन्तलाई चौबाटोमा उभ्याएको प्रतीकस्वरुप इन्द्रजात्रामा काठमाडौं इन्द्रध्वजसहितको यःसिं र भक्तपुरमा यमःद्यो ठड्याइन्छ। बन्दी बनेका इन्द्र एवं जयन्तलाई छुटाउन स्वर्गका राजा इन्द्रले विभिन्न देवदेवी र आफ्नो बाहन ऐरावत हात्ती पठाउने घटना विवरण नै इन्द्रजात्राको पूर्ण रुप हो।

भक्तपुरे किन बन्न चाहन्दैनन् मूःपात्र ?

मूःपात्र (बीचमा) आफ्ना दुई सहायक ढिःचाकाे साथमा ।

मूःपात्र राक्षसरास रत्नजडित मुकुट लगाएका हुन्छन्। राजा जस्तै देखिने मौलिक एवं परम्परागत पोशाक लगाएका हुन्छन्। आफ्ना दुई सहायक ढिःचालाई दायाँबायाँ राखेर हातमा काठको तरवार बोकेका हुन्छन् मूःपात्रले।

तैपनि जात्राको क्रममा भक्तपुरे मूःपात्र बन्न चाहँदैनन् । यसको प्रमुख कारण भक्तपुरे देवदेवीप्रति अनुगृहित हुनु रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्। ‘त्यसैले चोरै भए पनि भक्तपुरे देवतालाई साथ दिन्छन्। तर शासकहरुलाई साथ दिएको देखिँदैन’, उनले थपे, ‘यसले के पनि देखाउँछ भने जनतालाई राज्यसत्ता अझ राजनीतिप्रति कुनै लगाव छैन। नेपालभाषीहरु राजनीतिमा धेरै पछाडि छन्। उनीहरु खेती किसानी गर्ने, व्यापार गर्ने र सुखशान्तिको जीवन बिताउने स्वभावका हुन्छन्। परिश्रम गर्ने यस समुदायको पुस्तैनी गुण हो, छलकपट गरेर, अरुलाई ढाँटेर शासक बन्ने तथा नीति निर्माण गर्ने होइन। त्यसको उदाहरण आफूलाई शासन गर्ने मूःपात्रलाई साथ नदिएर चोर्न आएकै इन्द्रका छोरा जयन्तलाई साथ दिएकोबाट पनि प्रस्ट देखियो।’

उनका अनुसार मूःपात्र राजाको प्रतीक हो तर इन्द्रजात्राको क्रममा राक्षसको संज्ञा दिइयो। अनि त्यसबेलाका जनताले आफूलाई राक्षसको सन्तान नभएको हुँदा देवताको पक्षमा लिने जाति हो भन्ने देखाउने काम धार्मिक ग्रन्थ, कथा, किंवदन्तीले गरेको उनी तर्क गर्छन्।
जसले गर्दा राक्षस र देवताको युद्धको प्रतीकमा इन्द्रजात्रा सञ्चालन भएको मानिएको छ।

‘राजा होस् या शासक निरंकुश नै हुन्छ। निरंकुश नभई राज्यको नीतिनियम तथा आदेश पालना गराउन मुस्किल हुन्छ’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘त्यो निरंकुशतालाई नै राक्षसको नाम दिएर इन्द्रजात्रामा मूःपात्रलाई असत् पात्रको रुपमा जनतामा घृणा जगाउने काम भएको छ।’

मूःपात्रलाई शासक वर्गले राजनीतिक प्रतिशोध लिने अस्त्र बनायो

राणाशासनसम्म राजनीतिक रुपले आफूलाई मन नपर्ने व्यक्तिलाई जनताबीच नंग्याउन वा पतन गराउन मूःपात्र बनाइन्थ्यो। मूःपात्र बनेपछि उनलाई नाताकुटुम्बले सामाजिक बहिस्कार गर्ने, अछूत व्यवहार गर्दैै समाजबाटै लखेट्ने, जातीय रुपमा पतित गर्ने गरिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्। यसले गर्दा पनि भक्तपुरेहरु जात्रा मनाउने जाति भएर पनि इन्द्रजात्राको मूःपात्र बन्न कहिल्यै अघि नसरेको उनको भनाइ छ।

‘त्यसबेला राणाहरुको त शासनै थियो। त्यसमाथि स्थानीय तहमा उनका आसेपासेहरुको जगजगी थियो’, उनले थपे, ‘जसले गर्दा उनीहरुले राणाहरुकहाँ गएर ‘सरकार यसवर्ष फलानालाई मूःपात्र बनाउनुपर्छ’ भनेर बिन्ती बिसाउनेबित्तिकै फरमान जारी हुन्थ्यो र त्यो व्यक्ति मूःपात्र नबनी सुखै हुँदैनथ्यो।’

उनका अनुसार त्यसबेला मूःपात्रलाई राजनीतिक प्रतिशोध साँध्ने दरिलो अस्त्रको रुपमा शासक वर्ग र उसका पिछलग्गूहरुले प्रयोग गरे। त्यसैले राणाहरु एवं उनका आसेपासेहरुको जगजगी रहेको समयमा मूःपात्र बन्नुपर्ला र बनाइएला भनेर भक्तपुरेहरुबीच इन्द्रजात्रा नआउँदै रातारात भागाभाग चल्थ्यो। त्यसबेला धेरै भक्तपुरेहरु विस्थापित हुन बाध्य भए। यसरी विस्थापित भएका भक्तपुरेहरु देशका विभिन्न ठाउँमा पुगे। यसरी विस्थापित भएर पनि धेरै भक्तपुरेहरु देशका धेरै ठाउँमा पुगेको संस्कृतिकर्मी धौभडेल सुनाउँछन्।

‘तर यसरी विस्थापित भएर देशका अन्य ठाउँमा पुगेका भक्तपुरेहरु यो तीतो यथार्थ भन्न चाहँदैनन्। नयाँ पुस्तालाई यो जानकारी पनि नहुनसक्छ’, उनले भने।

मू:पात्र बन्न नपर्ने शर्त पनि थिए

उनका अनुसार त्यसबेला शासक वर्गले मूःपात्र बन्न नपर्ने केही शर्त एवं व्यवस्थासमेत गरेका थिए। जसअनुसार भक्तपुरको तलेजुभित्र आवद्ध भएर त्यहाँ निःशुल्क काम गर्ने व्यक्ति र उसको परिवारका अन्य सदस्यले मूःपात्र बन्न पर्दैन थियो।

मूःपात्र बन्नबाट जोगिन धेरैजसो भक्तपुरेले तलेजुभित्र केही न केही काम गरे। धौभडेलका अनुसार तलेजुमा कमलको फूल चढाउनेसम्मको काम गरे। तलेजु क्षेत्रमा लिटपोट गर्ने रातो माटो पुर्‍याउने काम गर्नेहरुसम्म देखापरे। ‘अझ वडा दसैँमा बलि चढाइने राँगाेसम्मलाई नुहाइदिने काम गर्न भक्तपुरे तयार भएको देखिन्छ’, धौभडेलले भने, ‘यो सबै शासक र उसका आसेपासेहरुको रजगजको प्रभाव र परिणाम हो।’

तलेजुमा काम गरेको थर समुदायको पुस्ता अहिलेसम्म पनि तलेजुमै कार्यरत छन्। तर अहिले उनीहरु रकमी भएका छन् र गुठी संस्थानबाट पारिश्रमिक वा आयस्ता पाउँछन्।

त्यस्तै इन्द्रजात्रा, बिस्का जात्रा र गाईजात्राको मुख्य केन्द्र टौमढी, योसिंखेल, खःलाँ, लाकुलाछेंमा घर हुनेले पनि मूःपात्र बन्नुपर्दैन। त्यसैले त्यसबेला धनसम्पत्ति भएकाहरुले यी क्षेत्रमा घरजग्गा किन्ने लहरसमेत चलेको संस्कृतिकर्मी धौभडेल बताउँछन्। यस्तो बाध्यात्मक अवस्थाले तात्कालिन भक्तपुरका मुख्य तीन विशेष क्षेत्रमध्ये यस क्षेत्रमा छिटो वस्ती विकास एवं विस्तार भएको उनको भनाइ छ।

अहिले पनि सुख छैन मूःपात्र बन्ने व्यक्तिलाई

समयक्रमसँगै मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ। यसबीचमा मूःपात्र बन्ने र बनाउनेमा शासक वर्ग र उसको आसेपासेको कुनै प्रभाव छैन। तैपनि मूःपात्र बन्न कोही भक्तपुरे अघि सरेका छैनन्। गुठी संस्थानले राम्रै पारिश्रमिक र सम्मानपूर्ण व्यवहार गरे पनि मूःपात्र बन्न भक्तपुरे अघि नबढेका हुन्। गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले पछिल्लो समय मूःपात्र र उनका दुई सहयोगी ढिःचा बन्ने तीनजनालाई तीन दिनको २५ हजार रुपैयाँ भुक्तानी दिँदै आएको बताए। इन्द्रजात्राअन्तर्गत तीन दिनसम्म हुने मूःपात्र जात्रा सम्पन्न गरेपछि उनीहरुले उक्त रकम हात पार्छन्। उक्त रकमसँगै जात्राको विधिविधानअनुसार मिष्ठान्न भोजनसमेत गर्न पाइने कर्माचार्य बताउँछन्।

‘इन्द्रजात्राको विधिविधानअनुसार मूःपात्र राक्षसराज भएकाले मूःपात्र बन्नेलाई राजकीयस्तरको सम्मान र मिष्ठान्न भोजनको व्यवस्था गरिँदै आएको छ’, उनले भने, ‘तैपनि मूःपात्र बन्ने भक्तपुरे पाउन सकेका छैनौं।’ जसले गर्दा भक्तपुरमा ज्यालामजदुरी गर्ने जिल्ला बाहिरका व्यक्तिहरु मूःपात्र र ढिःचा बन्दै आएको कर्माचार्य बताउँछन्। मू:पात्र बन्ने व्यक्तिलाई नेवारी परम्पराअनुसार हाँसकाे टाउकाेसहितकाे ‘स्यू काय् भ्वे’ खुवाउनुपर्छ। त्यसैले मूःपात्र जात्राकाे क्रममा मूःपात्रलाई जात्रालुले ‘हाय्चा कपः’ भनेर जिस्क्याउने तथा बिल्ला गर्ने प्रचलन अहिलेसम्म चल्दै आएकाे छ।

मूःपात्रले बन्दी बनाएका जयन्तकाे प्रतीकस्वरुप ठड्याइएकाे यमःद्याे ।

जात्राको बेला मद्यपान गर्ने नेपालभाषीहरुको चलनै हो। जसले गर्दा मूःपात्र बन्ने व्यक्तिलाई यातना दिने, दुर्व्यवहार  गर्ने, धारिलाे वस्तुले धाेच्ने जस्ता घटना  भने घटेको छैन। त्यसैले पनि स्थानीय भक्तपुरे मूःपात्र बन्न तयार नदेखिएको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले बताउँछन्।

उनका अनुसार इन्द्रजात्राको मूःपात्र पौराणिक पात्र भए पनि भक्तपुरमा कसैलाई हेयभाव एवं निचो देखाउन हाेच्याएर बाेलाउने शब्द मूःपात्र बन्दै आएकाे छ। ‘मूःपात्र कसैले कसैलाई धम्काउने अस्त्र अहिले पनि हाे। त्यसैले जोकोही मूःपात्र बन्न तयार भएको देखिँदैन’, भेले भन्छन्, ‘जात्राको तीन दिन मूःपात्र बनेको कसैले थाहा पाए ऊ वर्षभरि नै मूःपात्र कहलिन्छन्।’

मूःपात्र बन्ने व्यक्तिमाथि अरु बेला पनि यातना दिनसक्ने तथा दुर्व्यवहार गर्ने सम्भावना भएकाले पछिल्लो समय जात्राको क्रममा मूःपात्र बन्ने व्यक्तिको पहिचान नखुल्ने गरी मुख रंग्याउने गरिएको छ। मूःपात्रसँगै हिँड्ने उनका दुई सहायकको मुखाकृति पनि रंग्याइँदै आएको छ। त्यस्तै प्रहरीले सुरक्षासमेत दिँदै आएको छ।

अनि पुलुकिसी जात्रा उल्ट्याइयो

पुलुकिसी जात्रा।

भक्तपुरको इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी जात्रा मनाइन्छ। पुलुकिसी स्वर्गका राजा इन्द्रको बहान ऐरावत हात्तीको प्रतीक हो।

मर्त्यलोकका राक्षसराज मूःपात्रले बन्दी बनाएका जयन्तलाई छुटाउन ऐरावत हात्ती आएको प्रतीक स्वरुप भक्तपुरमा पुलुकिसी जात्रा मनाइन्छ। पुलुकिसीले जयन्तलाई मूःपात्रको बन्दीबाट छुटाएर लगेको सांकेतिक अभिनय जात्रामा अहिले पनि हुँदै आएको छ। यस दिन मूःपात्र अघिअघि लागेर जयन्तको हात काट्ने अभिनयसमेत गरिन्छ। यसरी अघिअघि लागेका मूःपात्रलाई पुलुकिसीले भेट्टाए कुल्चेरै मार्छ भन्ने जनकथन रहेको छ। त्यसैले अघि लागेका मूःपात्रलाई सचेत गर्न पुलुकिसीको घाँटीमा एउटा घन्टी झुन्ड्याइएको हुन्छ। जुन घन्टी पुलुकिसी जात्रा अवधिभर एकजनाले निरन्तर बजाउनुपर्छ। एकोहोरो टिनिङ टिनिङ आवाज आउने गरी घन्टी बजाइने भएकाले पुलुकिसी जात्राको बेला अरु मठमन्दिर तथा घरको घन्टी बजाउन हुँदैन भन्ने जनविश्वास भक्तपुरमा अहिले पनि छ।

मूःपात्रले बन्दी बनाएका जयन्तकाे प्रतीकस्वरुप ठड्याइएकाे यमःद्याे ।

अघि लागेको मूःपात्रले पुलुकिसी आफ्नो नजिक आएको चाल पाओस् भन्ने हिसाबले नै उक्त घन्टी बजाउने व्यवस्था गरिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्। उनका अनुसार यसैगरी जात्रा चलाउने क्रममा एकपटक पुलुकिसीले मूःपात्रलाई झन्डै भेटाएको थियो। मूःपात्र एउटा घरभित्र छिर्न भ्याएरमात्रै उनको ज्यान जोगिएको उनको भनाइ छ। पुलुकिसी जात्राको बेला मूःपात्रलाई भेट्टाएर मारे पनि अपराध नमानिने जनस्रुति रहेको धौभडेल बताउँछन्।

‘त्यसबेलादेखि मूःपात्र बन्ने व्यक्तिको ज्यान जोगाउन पुलुकिसीको जात्रा नै उल्ट्याइयो’, उनले थपे, ‘मूःपात्र अघि लाग्नुपर्ने जात्राको विधि उल्ट्याएर पुलुकिसी अघि लाग्ने र मूःपात्र पछि लाग्ने व्यवस्था गरियो। जुन उल्टो विधिले अहिलेसम्म निरन्तरता पाएको छ।’

किन फरक फरक ठाउँबाट निस्किन्छन् मू:पात्र जात्रा ?

इन्द्रजात्राको बीचमा भक्तपुरमा मूःपात्रको जात्रा तीन दिनसम्म चल्छ। जुन जात्रा भक्तपुरका फरक फरक तीन ठाउँबाट सुरु गरिन्छ।

मल्ल शासनको सुरुवातअघि नै भक्तपुर तीन सहराज्यमा विभक्त थियो। जसलाई त्रिपुर दरबार पनि भनिन्थ्यो। जसमा वान्डिमगल, चन्नीगल र शिवगल हुन्। यी तीन दरबारले सहअस्तित्वसँगै सर्वसाधारणबीच मान्यता पाएका थिए। एउटै भक्तपुरका यी दरबारले विशेष क्षेत्र हालको प्रदेशको रुपमा आफ्नो सिमाना निश्चित गरेका थिए। यहीं त्रिपुर दरबारलाई मान्यता दिएर इन्द्रजात्राको बेलामा भक्तपुरका तीन फरक फरक ठाउँबाट जात्रा निस्किने संस्कृतिकर्मी धौभडेल बताउँछन्।

भक्तपुर नपा ७ इनाचाेस्थित स्वंग लाेहँ । जुन भक्तपुरका तात्कालिन तीन विशेष क्षेत्रकाे सीमाकाे प्रतीक मानिन्छ।

वान्डिमगलको प्रशासनिक केन्द्र दत्तात्रयस्थित वाने लायकू (राजदरबार) हो। इन्द्रजात्राअन्तर्गत मूःपात्र जात्राको पहिलो दिन वाने लायकूलाई केन्द्र मानेर दत्तात्रय तचपालस्थित भीमसेन मन्दिर परिसरबाट मूःपात्र निस्किन्छन्। मूःपात्रसँगै सलाँ गणेश मन्दिरबाट सलाँ गणेशको जात्रा हुन्छ। यसै केन्द्रअन्तर्गतको साकोलानका मानन्धर समुदायले आफ्नो आगमछेंबाट याःमता (आकाश दीप) जात्रा निकाल्ने गर्छन्।

इन्द्रजात्राकाे क्रममा निकालिने याःमता (आकाश दीप) ।

दोस्रो दिन शिवगललाई मान्यता दिएर गोल्मढी क्षेत्रका मानन्धर समुदायले याःमता जात्रा र चोछेंस्थित छुमा गणेशको जात्रा निकालिन्छ। मूःपात्र भने भक्तपुर दरबार क्षेत्रस्थित जगन्नाथ मन्दिरबाट निस्किन्छन्।

मूःपात्र जात्राको तेस्रो दिन तथा इन्द्रजात्राको अन्तिम दिन चन्नीगल क्षेत्रको तर्फबाट टौमढीस्थित भैरवनाथ मन्दिर परिसरमा रहेको बेताल द्योछेंबाट मूःपात्र निस्किन्छन्। मूःपात्र अघि लाकोलाछेंबाट इन्द्रको बहान ऐरावत हात्तीको प्रतीकस्वरुप पुलुकिसी र भैरव मन्दिरबाटै मसान भैरवको जात्रा निकालिन्छन्। यस दिन याःमता जात्रा भने वंशगोपाल तापालाछी क्षेत्रका मानन्धर समुदायले बोलाछेंबाट निकाल्छन्।

चन्नीगल क्षेत्रलाई भक्तपुरको केन्द्र मानेर यहाँबाट अन्तिम जात्रा निकालिने संस्कृतिकर्मी धौभडेल बताउँछन्। मल्लहरुको व्यवस्थित शासन सुरु हुनुभन्दा अघि नै भक्तपुरमा यी तीन विशेष क्षेत्रमा राजदरबार बनेको तथा ती दरबारहरुबाट प्रशासनिक कार्यसमेत हुने गरेको आधारमा यहाँ इन्द्रजात्रामा यी तीनै क्षेत्रको अस्तित्वलाई स्वीकार गरी फरक फरक ठाउँबाट जात्रा निस्काल्ने परम्पराले निरन्तरता पाउँँदै आएको उनको भनाइ छ।

यी तीन विशेष क्षेत्रलाई छुट्याउने सीमा ढुंगा ‘स्वंग लोहँ’ अहिले पनि भक्तपुर नगरपालिका ७ इनाचोमा अस्तित्वमा रहेको छ। ‘स्वंग लोहँको पूर्वतर्फको माथिल्लो भेग सबै वान्डिमगल क्षेत्र हो’, धौभडेलले थपे, ‘यसको मूल बाटो भई लालाछें उत्तरपट्टिको सबै क्षेत्र शिवगल हो। दक्षिणतर्फको सबै भाग चन्नीगल हो।’

उनका अनुुसार चन्नीगल मुख्य क्षेत्र हो। जहाँ त्रिपुर दरबार, भक्तपुर दरबार क्षेत्र, तलेजु परिसर, टौमढी, तालाक्वः रहेका छन्। लिच्छवि राजा आनन्ददेवको पालामै भक्तपुरमा तीन राज्यलाई मान्यता दिइएको उनी बताउँछन्।

‘यो मान्यता यक्ष मल्लको पालासम्म जिवन्त थियो’, धौभडेल थप्छन्, ‘यक्ष मल्लका सन्तानहरुले यही तीन राज्य विभाजनको मागसमेत गरेका थिए। यो क्रम भुवन मल्ल (नेस ६४७) को पालासम्म चलेको थियो। पछि गंगा महारानी (विश्व मल्लकी रानी) ले छोराहरु त्रैलोक्य र त्रिभुवनलाई अगाडि सारेर भक्तपुरको शासन हातमा लिएर भक्तपुरको तीनवटा विशेष क्षेत्रको अस्तित्व नामेट पारी सिंगो भक्तपुरलाई एकलौटी शक्ति केन्द्र बनाएकी थिइन्।’

गंगा महारानीको उक्त कदमपछि भक्तपुरका कुनै पनि मल्ल राजाले तीन विशेष क्षेत्रको धेरै ठूलो समस्याको रुपमा झेल्न नपरेको तर सांस्कृतिक जात्रापर्वमा भने त्यसले निरन्तरता पाउँदै आएको उनी बताउँछन्।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्