नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (सेप्टेम्बर १९ देखि २५)

भोलिको सुखका लागि आज कोरोनाको दुख झेलौँ

विश्वमा कोरोना संक्रमण र यसका  प्यान्डेमिक लहरहरु आउने र जाने क्रम जारी नै रहेको देखिन्छ। यसै क्रममा अमेरिकामा हाल पछिल्लो लहर चलिरहेको छ जुन हालसम्मको दोस्रो ठूलो लहरको रुपमा देखिएको छ र त्यहाँ दैनिक औसत मा १ लाखभन्दा धेरै नया संक्रमण देखापरिरहेका छन् । विगत करिब साढे दुई महिनादेखि चलिरहेको यस नयाँ लहर त्यहाँ हाल पनि जारी छ।

त्यस्तै बेलायत, रसिया लगायत सिंगो युरोपमा पनि हाल नया लहर चलिरहेको छ जुन हालसम्म दोस्रो  ठूलो लहरको रुपमा देखिएको छ। युरोपमा हाल दैनिक औसतमा करिब डेढ लाख नयाँ संक्रमण देखा परिरहेका छन्।

त्यस्तै पूर्वी मेडिटेरानियन क्षेत्र जहाँ ग्रिस, सिरिया, टर्की, इजिप्ट, इज्राएल आदि देशहरु पर्दछन् त्यहाँ हाल हालसम्मकै सबैभन्दा ठूलो लहर चलिरहेकोमा विगत करिब एक महिनादेखि दैनिक संक्रमणमा केही कमी आइरहेको छ। पश्चिमी प्यासिफिक क्षेत्र जहाँ चीन, जापान, हंगकंग, मलेसिया लगायत अस्ट्रेलिया र न्युजिल्यान्ड पनि पर्दछन्, त्यहाँ पनि हालसम्मकै सबैभन्दा ठूलो लहर चल्दै आएकोमा विगत करिब ३-४ हप्तादेखि केही कमी आइरहेको छ।

त्यस्तै अफ्रीकाको पछिल्लो लहर जुन महिनाको सुरुवातिदेखि अगस्टको अन्त्यसम्म चलेको थियो हालसम्मकै सबैभन्दा ठूलो लहर थियो।

यसरी विश्वकै धेरै ठाउंहरुमा पछिल्लो समय नया र ठूला लहरहरु चलिरहेको बेला दक्षिण एसिया भने केही शान्त देखिएको छ। यद्यपि गत फेब्रुअरी ताकाको जस्तो दैनिक संक्रमण अति न्यून भएको अवस्थासम्म भने पक्कै पुगेको छैन। त्यति बेला दैनिक संक्रमण हालकोभन्दा आधाभन्दा कम थियाे ।

चित्र न १ ले दक्षिण एसियाको बिगत १५ दिनको समग्र दैनिक संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको  देखिएता पनि हाल केही तल माथि बाहेक दैनिक संक्रमण र दैनिक मृत्यु दुवै स्थिर देकिन्छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नयाँ संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा श्रीलंका, बंगलादेश र पाकिस्तानमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ भने भारत र नेपालमा दैनिक परीक्षण संख्या अनुसार कोरोना सक्रमण स्थिर देखिन्छ।

त्यस्तै चित्र न.३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ। भारतमा भने केही तल माथि बाहेक दैनिक मृत्यु स्थिर देखिन्छ।

चित्र न. ४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समय सबै दक्षिण एसियाली देशहरुको दैनिक संक्रमण दरमा कमी आएको देखिन्छ। यद्यपि श्रीलंकाको दैनिक संक्रमण दर हाल पनि अन्यको भन्दा उच्च देखिन्छ भने अमेरिकाको संक्रमण दरमा विशेष कमी आएको देखिँदैन।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् सन् सन् २०२१ सेप्टेम्बर १९ देखि २५ (बिसं २०७८ आश्विन ३ देखि ९) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ सेप्टेम्बर १९ देखि २५ (बिसं २०७८ आश्विन ३ देखि ९) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, असोज ९ गते शनिबारसम्म, देशभरि जम्मा ६७५२  जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ७९०६६२ पुगेको छ। साप्ताहिक नया संक्रमण दुई हप्ताअघि ७५८५ थियो। त्यस्तै, साप्ताहिक मृत्यु गत हप्ता ५९ रह्यो जुन दुई हप्ताअघि ९२ थियो। गतहप्ता जम्मा ६८०३७  पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ७१६१३ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको तुलनामा औसतमा ३९.५१% जति देखिएको छ जुन दुई हप्ताअघि ३५.५७% थियो। पर्वको समयसँगै सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात बढ्नु राम्रो संकेत होइन। बजार तथा सार्वजनिक क्षेत्रमा बढ्दो भिडभाड यसको प्रमुख कारण हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की, मोरङ, सुनसरी, सुर्खेत, रुपन्देही, झापा आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate) 

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ६ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ जुन बिस्तारै केही घट्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ८.०९% देखि अधिकतम ११.२१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ९.९७% रह्यो जुन दुई हप्ताअघि १०.६६% थियो। नेपालको कोरोना संक्रमण दर बिगत १ महिनाभन्दा लामो समयदेखि केही कम हुँदै गएको छ।

संक्षेपमा, पछिल्लो समय, नेपालमा पर्ब र भिडभाडको समयको बाबजुद, दैनिक संक्रमण, मृत्यु र संक्रमण दरमा कमी आइरहेको देखिन्छ जुन सुखद कुरा हो। तर सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको कोरोना संक्रमण अनुपात पनि घट्दै गएकोमा फेरि गतहप्ता यो अनुपात बढ्नु काठमाडौँ बासीको लागि चिन्ताको विषय हुन सक्दछ। त्यस्तै दक्षिण एसियामा पनि समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आएको छ।

सरकारी नियम जेसुकै भए पनि नागरिकले आफ्नो तर्फबाट कडाईका साथ होसियारी तथा सावधानीका उपाय अपनाउनु पर्ने देखिन्छ। आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। कोरोना प्यान्डेमिक समस्त मानब जतिको लागि एक युद्ध हो। अलि दु:ख र कष्ट सहेर भए पनि सुनौलो भविष्यको लागि यो युद्ध लडेर जित्नै पर्छ। यसको अरु कुनै विकल्प नै छैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हथियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्