संगी श्रेष्ठको 'संवेग'

‘… तर बाँच्न छाड्न सकिन्न नि’

भित्तामा टाँगिएको तेस्रो क्यानभास,

आधुनिकताका नाममा जटिल बन्दै गएको समाज अनि त्यसलाई नियाल्दै गरेका तीन सदस्यहरु । जो कठीन परिस्थितिमा स्थीर रहेर समय अवलोकन गरिरहेका छन्, धैर्यका साथ। किनकि बाँच्नका लागि विश्वास हुन जरुरी र विश्वास आशा नगरी आउँदैन।

कोरोना महामारीको पहिलो लहरको समयमा संगी र उसको परिवार घरभित्र सीमित भयो। आधुनिक जीवनशैलीले पछिल्लो समय संगीको ३ जनाको परिवार साथ भएपनि साथ नभएको भाव संगीलाई हुन्थ्यो।

‘छोरी बिहान ७ बजे स्कुलको लागि हिँड्ने अनि बाबा सुतेको हुने। रातमा बाबा आउने समयमा छोरी निदाइसकेको हुने। उनीहरुबीच हाई-हेलो बाहेक अरु सम्बन्ध नै नभएको जस्तो भइरहेको थियो,’ श्रेष्ठले भनिन्, ‘मैले मेरो परिवारलाई नै सम्झिएँ यो चित्र बनाउँदा। हामी एउटै घरमा बस्छौँ, एउटै ठाउँमा बसेर चिज हेर्छौँ तर हाम्रो सोचाइ फरक छ। कोरोनाको समय मेरो घरमा छोरी र बाबाको लागि भने राम्रो भयो। छोरीले इलुस्ट्रेट गर्न सिकिन्।’

संगीका श्रीमान् कार्टुनिस्ट अबिन श्रेष्ठ हुन्। उनीहरुकी छोरी आश्रितीले लकडाउनको समयमा थुप्रै चित्र कोरिन्। यही चित्रहरुको प्रदर्शनी नेपाल आर्ट काउनसिल, बबरमहलमा चैतमा भएको थियो।

संगीको बानी छ- मठमन्दिरमा पूजाआजा गर्ने। सानैबाट सिकेको संस्कार बानी जसरी विकास भएको थियो। तर लकडाउनपछि घरमा बस्दा मन्दिर जान मिस भयो उनलाई । ‘शुरुमा मैले काम गर्न सकिन। कोरोनाको समाचार हेर्दा हेर्दा नकारात्मक प्रभाव पनि पर्‍यो। तर विस्तारै मैले यसरी हुँदैन भनेर आफै चित्र बनाउन थालेँ, छोरीले पनि चित्र बनाउन थालिन। उनको आफ्नै तरिका थियो। परिवारमा सबै सँगै भयौँ अनि बिस्तारै सबै ठीक भएजस्तै लाग्यो।’

त्यसपछि उनले उक्त चित्रमा रहरहरु भरिन्। ध्यानमग्न भई अगाडि बढिरहेको समाज नियाल्ने चित्रका तीन व्यक्ति माथिको आकाशमा चन्द्रमा उदायो।

‘म धेरै भावनामा काम गर्छु। आशा गर्न त कहिले छोड्नु हुँदैन। सकारात्मक पनि सोचौँ न। कोरोनाले नराम्रो मात्र भएको छैन, राम्रो चिजहरु पनि थुप्रै भएको छ। जीवनमा उतारचढाव छ नि तर बाँच्न छोड्न सकिन्न नि !’ उनले भनिन्, ‘त्यसपछि मैले मानिसमा हुने संवेगहरुलाई फरक फरक चित्रमा उतारे यहाँ चित्रमा रंग उस्तै छ तर भाव फरक। भावना उजागर गर्ने यी चित्रहरु प्रदर्शनीको नाम नै मैले ‘संवेग’ राखे।’

उनको सार थियो, ‘हामी बाँच्नको लागि केही गर्दैछौँ। बाँच्नलाई हामीलाई आशा हुनुपर्छ। नकारात्मक भाव विकास गर्नको लागि त धेरै चिज छन् यहाँ।’

कोरोनाले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सबैलाई प्रभावित पार्‍यो। कसैलाई धेरै कसैलाई थोरै पारे पनि मानिस अछुतो छैन। उनले भनिन्, ‘कोरोनाको समयमा मैले मलाई बुझ्ने मौका पनि पाएको छु। मेरो चाहना, इच्छा के हो बुझ्ने अवसर पनि दिएको छ। अहसज परिस्थितिलाई धैर्य गरी स्थिर रहन सिकाएको छ।’

प्रदर्शनी हेर्न आएकाहरु चित्रको बारेमा सोध्दै थिए। ‘हामी समान भएर पनि असमान छौँ। एउटै धरातल, संस्कार र मूल्य मान्यतामा रहे पनि हामीबीच फरक मनस्थिति हुन सक्छ। एकै ठाउँबाट हेरे पनि हामीले फरक फरक स्वरुप र आकार देख्न सक्छौँ।’ एम क्यूब ग्यालरीमा प्रदर्शनमा राखिएको चित्रहरु हेर्न आएका कला पारखीलाई अर्थ बुझाउँदै थिइन्, संगी श्रेष्ठ। ‘हामीले एकले अर्कालाई उस्तै देखेपनि, भावना एक भएपनि हाम्रो सोचाइ फरक हुन्छ।’

चाकुपाटको मित्र रोडको छेवैमा छ- ‘ग्यालरी एम क्यूब’ । सानो क्याफे कटेपछि भर्‍याङ उक्लिए र ओर्लिएपछि पुगिन्छ तस्बिर झुण्डिएका हलहरु। चित्रकार श्रेष्ठले सभाहलमा मानिसका विभिन्न भावभङ्गी उतारेकी छन्।

त्यहाँ झुण्डिएका चित्रमा धेरै आँखा छन्, जसले कहिले बन्द भएर त कहिले खुल्ला गरेर आशाको त्यान्द्रो जोडिरहेको छ। उनले ब्रोसरमा चित्रमा जोडिएका आशाहरुलाई प्रस्टाएकी छन्, ‘व्यक्तिपिच्छे फरक हुने हाम्रा आशारुपी संवेगहरु इन्द्रेणीका रंगहरु झै रंगीन हुन्छन्। आशा विश्वासको, खुसीको, शान्तिको, दिर्घायुको, जितको, प्रेमको, सम्पत्तिको, प्राप्तिको।’

वर्गाकार कम्पोजिसनमा सेमी एक्रोलिक पेन्टिङ गरेकी उनको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो। यसभन्दा अगाडि उनले ‘अव्यक्त अभिव्यक्तिहरु’ विषयमा सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी गरेकी छन्। यस बाहेक उनले २०० भन्दा धेरै चित्रकला प्रदर्शनी र कार्यशालामा सहभागिता जनाइसकेकी छन्।

संगीको यस क्षेत्रमा ३ दशकदेखि अनुभव रहेको छ। उनले फाइन आर्ट्स कलेजबाट सन् २००१ मा स्नातक तह सम्मको अध्ययन गरेकी छन्। उनीसँग कार्टुन बनाउने सीप पनि रहेको छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्