रणवीरका लागि आमिरले सारे ‘लाल सिंह चड्ढा’को प्रदर्शन मिति

काठमाडौँ– अभिनेता आमिर खानले आउँदै गरेको चलचित्र ‘लाल सिंह चड्ढा’को प्रदर्शन मिति सारेका छन्। क्रिसमसको अवसरमा प्रदर्शन गर्ने भनिएको चलचित्र अब ‘भ्यालेन्टाइन डे’ २०२२ मा प्रदर्शन हुने भएको छ।’

आमिर खान प्रोडक्सनले विज्ञप्तिमार्फत यसबारेमा प्रस्ट पारेको छ। ‘महामारीले प्रभावित भएको कारण हामी हाम्रो चलचित्र ‘लाल सिंह चड्ढा’ क्रिसमसमा प्रदर्शन गर्न असमर्थ छौँ। हामी सन् २०२२ को ‘भ्यालेन्टाइन डे’को दिन यो चलचित्र प्रदर्शन गर्ने छौँ।’

आमिरसँगै करिना कपूर, मोना सिंह र नागा चैतन्यको अभिनय रहेको यो चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक हो।

क्रिसमसमा रणवीर सिंहको चलचित्र ‘८३’ प्रदर्शनमा आउँदैछ। प्राविधिक कारणले चलचित्र प्रदर्शन मिति सारेको जनाए पनि रणवीर सिंहको क्रिकेटसँग सम्बन्धित चलचित्र जुधेकोले आमिरले यो निर्णय लिएको बताइन्छ।

यो चलचित्र हिन्दी, तमिल, तेलगु, कन्नाडा र मलायलम भाषामा आउँदैछ। रणवीर सिंहसँगै यो चलचित्रमा दीपिका पादुकोण, पंकज त्रिपाठी, बोमन इरानी, सकिव सलिम, हार्डि सन्धु लगायतका कलाकारहरुको अभिनय रहेको छ।

८३ अप्रिल २०२० मा प्रदर्शन मिति तोकिएको चलचित्र हो तर कोभिड १९ को कारण भएको लकडाउनले चलचित्र प्रदर्शन मिति पर सारियो। सन् २०२१ को जुन ४ मा दोस्रो पल्ट प्रदर्शन मिति तोकिएको यो चलचित्र कोभिडको दोस्रो लहरबाट प्रभावित भएको थियो।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्