औद्योगिक तथ्यांक संकलनमा जुट्दै उद्योग संगठन मोरङ

मोरङ – उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले सो क्षेत्रमा औद्योगिक तथ्यांकको विस्तृत जानकारीका लागि आइतबारबाट कार्य सुरु गरिएको बताएका छन्। उनले एकपटक तथ्यांकसहित तयार भएपछि नियमित अद्यावधिक गरिने योजना रहेको जानकारी दिए।
अध्यक्ष प्याकुरेलका अनुसार दुवै क्षेत्रका उद्योगको तथ्यांक गणकले मोबाइल एपको प्रयोगबाट गर्नेछन्। जुन तथ्यांकस्तरीय र अनलाइनबाटै नियमन गर्न सकिने उनको भनाइ छ।
संगठनका महानिर्देशक चूडामणि भट्टराईले उद्योगका विविध आयाम समेटिएका सय वटा प्रश्नसहित ५ जना गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्ने बताउँछन्। संगठनले तथ्यांकको गुणस्तरीयतालाई ध्यानमा राख्दै गणकका लागि २ दिनको तालिमसमेत सञ्चालन गरेको उनले जानकारी दिए।
सो तथ्य संकलन कार्य असोजभित्र सम्पन्न हुने उद्योग संगठन मोरङले लक्ष्य लिएको छ। त्यसैगरी, संकलित कार्यलाई मंसिर पहिलो साताभित्र सर्वेक्षण प्रतिवेदन तयार गर्ने बताइएको छ।
संगठनले तथ्यांक संकलनका लागि पुग्ने प्रतिनिधिलाई उद्योग व्यवसायसँग सम्बन्धित सूचना एवं तथ्यांक उपलब्ध गराउनसमेत आग्रह गरेको छ।