नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छुः शाहीद अफ्रिदी

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन्। अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताएका हुन्।

नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए। कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताए।

आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने उनको भनाइ छ।

अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालको बसाइ कस्तो भइरहेको छ? 

म एकदमै खुसी छु। अहिले नेपालमा छु। क्रिकेटको कारण अहिले म नेपालमा छु। यो सँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ। तीन दिनको बसाइको क्रममा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै पाएको छु।

क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु। मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु। म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु। जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ। यो प्रगाढ हुँदै जाओस्।

तपाईं त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नुभएको छ, कसरी विश्लेषण गर्नुहुन्छ?

नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु। यसको मतलब नेपाली खेलाडीमा प्रतिभा, क्षमता छ। पछिल्लो खेल इपिएलमा मैले खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ। सन्दिप लामिछाने लगायतको खेलाडीहरुको टोली क्षमतावान् छ।

उनीहरुले नेपाललाई विश्वमा कहीँ पनि चिनाउन सक्छन्। नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तह ग्रासरुटदेखि नै ध्यान दिनु पर्छ। सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ।

सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ। सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ।

नेपालको फ्रेन्चाईज लिगसँग जोडिनु भयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु। कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छ।

क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत–पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो। पाकिस्तान आफ्ना मित्रराष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ।

हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ। भारतमा त क्रिकेटलाई धर्मजस्तै भइसकेको छ। क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ। मलाई यस्तो लाग्छ।

क्रिकेट कै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ। यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ। मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु। क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिनसक्ने विषयहरु के –के छन्? कसरी जोडिन सक्छन्?

दुई देशको राजनीति आफ्नो स्थानमा छ। क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ। यो पनि एक प्रकारको राजनीति हो। यसबारेमा मेरो बुझाइ अलि फरक छ।

यही क्रिकटबाट जोडिन म नेपाल आएको हुँ। म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो। नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु। पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु। यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन्।

तपाईंले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नुभएको छ । त्यस्तो के विषयले मोहित बनायो?

यो भ्रमणमा मैले पुरै नेपाल राम्रो सँग घुम्न पाइनँ। छोटो भ्रमण छ। आज माउन्टेन फ्लाइट गएँ। सगरमाथा देखेँ। सँगै अन्य हिमालहरु हेरेँ। मेरो रोमाञ्चक अनुभव रह्यो। त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु। किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुनेछैन। शहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्