भक्तपुरमा भत्कियो कांग्रेसको परम्परागत समीकरण

काठमाडौँ– भक्तपुरमा नेपाली कांग्रेसको परम्परागत समीकरण भत्किएको छ। पार्टीको १४ औं महाधिवेशनको लागि भक्तपुरमा भएको नगरपालिका अधिवेशनको क्रममा उक्त समीकरण भत्किएको हो।

परम्परागत समीकरणलाई भत्काएर यहाँ नगरपालिका अधिवेशनको लागि नयाँ समीकरण अगाडि आएको छ। उक्त समीकरणको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको परम्परागत गुटभित्रै फुट आएको हो। देउवा गुटबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिको गुटले कांग्रेस संस्थापनइतरको गुटसँग मेलमिलाप गरेका छन्।

प्रकाशमान र विमलेन्द्र दुवैले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। संस्थापनइतरसँग प्रकाशमान र विमलेन्द्र निधि गुटको मेलमिलापमा कृष्णप्रसाद सिटौलाको अर्को गुटसमेत सहभागी भएको छ।

दुई नयाँ समीकरणले भक्तपुरका चारवटै नपामा आआफ्नो प्यानलसहितको उम्मेदवारी पेश गरेका थिए। संस्थापनइतरको नयाँ समीकरणले भक्तपुरका चार नपाामा एउटाएउटा भागबन्डा लगाएको छ। जसअनुसार भक्तपुर नपामा विमलेन्द्र निधिको तर्फबाट राजेन्द्र तमखु, मध्यपुर थिमिमा प्रकाशमान सिंहको तर्फबाट हरिदास प्रजापति, सूर्यविनायक नपामा रामचन्द्र पौडेल एवं शशांक कोइरालाको तर्फबाट रवि राणा र चाँगुनारायण नपामा कृष्णप्रसाद सिटौलाको तर्फबाट गोपाल पौडेलको नेतृत्वमा उम्मेदवारी दिएको थियो।

संस्थापन पक्षले भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नपामा क्रमशः रामप्रसाद कासुला, सुरेन्द्र श्रेष्ठ, निशान ढुंगेल र शिवहरि केसीको नेतृत्वमा उम्मेदवारी दिएको थियो। निधि समर्थित बागमती प्रदेश सांसद कृष्णलाल भँडेल संस्थापन पक्षमै अडिएका थिए। जसको पुरस्कारस्वरुप भँडेलले आफू पक्षीय शिवहरि केसीलाई चाँगुनारायण नगर सभापतिको टिकट दिलाए।

यहाँ आइतबार चारवटै नपामा नगर अधिवेशनअन्तर्गत निर्वाचन भएको थियो। जुन निर्वाचनमा दुई नयाँ समीकरणले समान दुईदुई नगरपालिकामा जीत हात पारे।

संस्थापनइतरको नयाँ समीकरणले भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा आफ्नो वर्चश्व कायम गरेको छ। यस समीकरणबाट भक्तपुर नपामा राजेन्द्र तमखु र मध्यपुर थिमिमा हरिदास प्रजापतिले जीत दर्ता गरेका हुन्।

संस्थापन पक्षले सूर्यविनायक र चाँगुनारायण नपामा आफ्नो प्रभाव छोड्यो। यस पक्षबाट सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा शिवहरि केसी नगर सभापतिमा निर्वाचित भए।

को को छन् नयाँ समीकरणका अगुवा ?

नयाँ समीकरण निर्माण गर्न संस्थापनइतरतर्फ नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, पूर्वजिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधर तथा देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणा अगाडि देखिएका छन्।

कायस्थ र राणा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइराला पक्षीय हुन्। वरिष्ठ अधिवक्ता रहेका जोशी पार्टी सभापति शेरबहादुर देउवा पक्षीय हुन्। यसैमा शेरबहादुर देउवाबाट अलग्गिएको प्रकाशमान सिंह समर्थित पूर्वसभापति चक्रधर र अघिल्लो जिल्ला अधिवेशनमा सभापतिमा पराजित अष्टकुमार कवे जोडिए। कृष्णप्रसाद सिटौला समर्थित पूर्वजिल्ला सभापति महेश श्रेष्ठ मेलमिलापमा आउँदा विमलेन्द्र निधि समर्थित राजनकाजी त्वाती पनि यहीं समीकरणमा समाहित भएका छन्।

संस्थापन पक्षमा भने वर्तमान जिल्ला सभापति दुर्लभ थापालाई निधि समर्थित बागमती प्रदेश सांसद भँडेलसँगै मध्यपुर थिमि नपाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नपाको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिने राजाराम खड्का, जिल्ला उपसभापति हरिप्रसाद नेपाल, पूर्वजिल्ला सचिव जगन्नाथ कार्कीले साथ दिएका छन्।

नयाँ समीकरणको मेलमिलापमा आएवापत संस्थापनइतरका सबै गुटले भक्तपुरका चार नपामा एकएकवटा भागबन्डा मिलाए। जसअनुसार पौडेल–कोइराला गुटले कविरका भाइ रविलाई सूर्यविनायक नगर सभापतिमा उठाए। रवि देउवा गुटका निशान ढुंगेलसँग नराम्ररी पराजित भए। विजेता ढुंगेल कांग्रेस जिल्ला सचिव हुन् भने पराजित हुने राणा निर्माण व्यवसायी।

प्रकाशमान सिंह समर्थित चक्रधर र कवेले मध्यपुर थिमिमा भाग पाए। उनीहरुको समर्थनमा नगर सभापति उठेका हरिदास प्रजापतिले देउवा पक्षका सुरेन्द्र श्रेष्ठलाई धेरै मतान्तरमा हराए। पराजित सुरेन्द्र यसअघिका नगर सभापति थिए। विजेता हरिदास मध्यपुर थिमि नपाका कार्यपालिका सदस्य हुन्।

त्यस्तै भक्तपुर नपामा विमलेन्द्र निधि समर्थित गुटले भाग पायो। पौडेल–कोइराला र देउवा गुटकै समर्थनमा भक्तपुर नपामा निधि समर्थित राजेन्द्र तमखू नगर सभापतिमा निर्वाचित भए। उनले यसअघि नगर सभापति रहेका रामप्रसाद कासुलालाई पछि पारेका हुन्। संस्थापन इतरको नयाँ समीकरणअन्तर्गत कृष्णप्रसाद सिटौला गुटले भाग पाएको चाँगुनारायणमा देउवा पक्षका शिवहरि केसी नगर सभापतिमा निर्वाचित भए। उनले सिटौला गुटका गोपाल पौडेललाई हराएका छन्। निर्वाचित केसी चाँगुनारायण नपा वडा नं. २ का निर्वाचित अध्यक्ष हुन्।

नयाँ समीकरण धेरै अघि नजाने आशंका

नेताहरुले आफ्नो स्वार्थ हेरी अनुकूलतामा नयाँ समीकरण निर्माण गरेकाले यो क्षेत्र र जिल्ला अधिवेशनसम्म पनि जान नसक्ने आशंका गरिएकाे छ। भक्तपुर कांग्रेसकै नेताहरुले पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने उद्देश्यले नयाँ समीकरण बनेको प्रतिक्रिया दिएका छन्।
‘महाधिवेशन प्रतिनिधिमा आफू निश्चित हुने गरी नेताहरुले व्यक्तिगत स्वार्थ हेरी नगर अधिवेशनमा नयाँ समीकरण बनाएका हुन्’, एक जिल्ला नेताले भने, ‘क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेपछि यो समीकरण भत्किने सम्भावना बढी छ।’

महाधिवेशन प्रतिनिधि नचुनिए जिल्ला अधिवेशनमा चुनाव लड्न पाइँदैन। त्यसैले जिल्ला अधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्ने स्वार्थले प्रेरित भएर नगर अधिवेशनमा नयाँ समीकरण निर्माण भएको उनको भनाइ छ।

नयाँ समीकरण निर्माणका अगुवा सबै जिल्ला सभापतिका आकांक्षी हुन्। सबैजनाले सभापतिमा दावेदारी पनि प्रस्तुत गरिरहेका छन्। क्षेत्रीय अधिवेशनको क्रममा महाधिवेशन प्रतिनिधिमै पराजित गरिदिने डरले सभापति आकांक्षी नेताहरुले अहिल्यै मुख खोलेका छैनन्। दुर्लभ थापा, अष्टकुमार कवे, कविर राणा र विनोद कायस्थले सभापतिको लागि आन्तरिक तयारी तीव्र बनाए पनि अरु खुलेका छैनन्।

संस्थापन पक्षबाट दुर्लभ थापा एकलौटी दावेदार छन् भने नयाँ समीकरणमा अहिल्यै तीनजना अगाडि आएका छन्।

‘यो स्थिति हेर्दा जिल्ला अधिवेशनसम्म कांग्रेसको परम्परागत गुट नै अस्तित्वमा आउने सम्भावना छ’, ती नेताले भने, ‘अन्तिममा जिल्ला सभापतिमा दुर्लभ थापा र अष्टकुमार कवे नै मुख्य प्रतिस्पर्धी हुने देखिन्छ।’

अघिल्लो जिल्ला अधिवेशनमा दुर्लभ थापा, अष्टकुमार कवे र गणेशमान चक्रधरबीच पहिलो चरणको प्रतिस्पर्धा भएको थियो। तीन उम्मेदवारमध्ये कसैले पनि विधानअनुसार ५१ प्रतिशत मत नल्याएपछि सर्वाधिक मत ल्याउने थापा र कवेबीच दोस्रो चरणको निर्वाचन भएको थियो। जसमा थापाले कवेलाई पछि पारे। थापालाई पहिलो चरणका उम्मेदवार चक्रधरले समर्थन गरेका थिए।

क्षेत्रमा आकर्षण, प्रदेशमा चुपचाप

भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। यी दुई निर्वाचन क्षेत्रमा ४ प्रदेश क्षेत्र छन्। पार्टीको महाधिवेशनअनुसार प्रदेश र क्षेत्रमा पनि अधिवेशन हुनेछन्। तर दसैँअघि यी दुईको अधिवेशन नहुने भएको छ। त्यसैले प्रदेश र क्षेत्रमा उम्मेदवार हुन चाहने नेताहरु खुला रुपमा अघि सरेका छैनन्। क्षेत्रमा केही आकर्षण देखिएको छ। प्रदेशमा भने अहिलेसम्म कमैले चासो दिएको देखिन्छ। प्रदेश सभापति दावी गर्न नेता तथा कार्यकर्ताहरु चुपचाप छन्।

क्षेत्रीय अधिवेशनसम्म नगर अधिवेशनको लागि निर्मित नयाँ समीकरणले निरन्तरता पाउने भक्तपुर क्षेत्र नं. १ का सचिव उद्धव खड्का दावी गर्छन्। उनले नगर अधिवेशनमा निर्मित नयाँ समीकरणले क्षेत्रीय अधिवेशनको लागि साझा उम्मेदवार टुंग्याउने गृहकार्य अघि बढाएको जानकारी दिए।

नयाँ समीकरण कायम रहेमा भक्तपुरका दुइटै क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने खड्का बताउँछन्। नगर अधिवेशनमा आएको मत परिणामअनुसार यो सम्भावना पनि छ। नेताहरुकाे नयाँ समीकरण कायम रहे संस्थापन पक्षभन्दा यसकाे पल्ला भारी रहेकाे कांग्रेस नेता तथा कार्यकर्ताहरु नै स्वीकार गर्छन्। दुई निर्वाचन क्षेत्रमा भक्तपुरका ४ नपामध्ये दुईदुई नपा पर्छन्। दुई नयाँ समीकरणले दुइटै निर्वाचन क्षेत्रमा रहेका एकएक नपामा नगर सभापतिमा जीत दर्ता गरेकाले क्षेत्रीय अधिवेशनमा कडा टक्कर हुने सम्भावना पनि छ।

भक्तपुर क्षेत्र नं. १ मा नयाँ समीकरणबाट खड्का स्वयम् सभापतिका आकांक्षी हुन्। सुरेश श्रेष्ठले यसै समीकरणबाट सभापति हुन चाहिरहेका छन्। देउवा गुटबाट वर्तमान क्षेत्रीय सभापति जीवन खत्रीले दोहोर्‍याउने चाहना व्यक्त गरिरहँदा उनलाई जयन्द्र खड्का र जनक खत्रीले पछि हट्न दबाब दिइरहेका छन्।

क्षेत्र नं. २ मा नयाँ समीकरणबाट भेषबहादुर कार्की अगाडि आएका छन्। देउवा गुटबाट भने अहिलेका क्षेत्रीय सभापति नारायणभक्त खायमलीले नै दोहोर्‍याउने इच्छा देखाइरहेका छन्।

‘प्रदेशमा उम्मेदवार बन्नेहरु स्पष्ट भइनसकेकाले क्षेत्रीय सभापतिका आकांक्षीहरु सबै अगाडि आएका छैनन्’, कांग्रेस युवा नेता धर्मराज कार्कीले भने, ‘नगर अधिवेशनमा निर्माण भएको नयाँ समीकरणको निरन्तरता टुंगो नहुँदा पनि नेताहरु अघि बढेका छैनन्।’

उनका अनुसार क्षेत्रीय सभापति बन्न इच्छा राख्ने नेताहरु धेरै छन्। सोहीअनुसार क्षेत्रमा धेरै आकर्षण छ। भक्तपुर कांग्रेसमा गुट र उपगुट हुँदै गुटिकासम्म रहेकाले नेताहरुलाई भागबन्डा लगाउन कठिन छ। त्यसैले पनि तत्काल क्षेत्रीय र प्रदेश सभापति हुने नेताहरु अघि नआएको नेता कार्की स्पष्ट पार्छन्।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्