प्रदेश १ मा नयाँ सवारी साधन भित्रिने क्रम तीव्र

मोरङ – प्रदेश १ मा तीव्र रूपमा नयाँ सवारीसाधन भित्रिन थालेका छन्। यससँगै सुनसरीस्थित यातायात व्यवस्था कार्यालयमा साउन र भदौमा ३१ करोड ८६ लाख ४१ हजार रुपैयाँ आम्दानी भएको छ।

इटहरीस्थित कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले उक्त दुई महिनामा सवारीसाधन कर १७ करोड ८० लाख ६५ हजार, चालक अनुमति पत्र तथा सवारी दर्ता किताबबाट २ करोड ३० लाख ६७ हजार राजस्व संकलन भएको बताए।

उनले गत दुई महिनामा यातायात क्षेत्रको आम्दानीमा ९ करोड ८१ लाख ८ हजार रुपैयाँ संकलन भएको जानकारी दिए। त्यसैगरी, ०७७।७८ मा कार्यालयले १ अर्ब १ करोड, ६८ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ। जसमा यातायात क्षेत्रको आम्दानी ५ करोड ५७ लाख ५८ हजार, चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १० करोड ४२ लाख ११ हजार र सवारीसाधन करबाट ८५ करोड ३४ लाख ९५ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका निमत्त प्रमुख गुप्ताले सवारीसाधनको संख्यासमेत पछिल्लो समय बढ्दो छ। गत दुई महिनामा मोटरसाइकल र स्कुटर ९ हजार १ सय ४८ वटा भित्रिए भने गत वर्ष यसको संख्या ४१ हजार ८ सय १८ थियो। त्यस्तै, निजी तथा भाडा सञ्चालनका लागि प्रदेशमा गत १४ महिनामा ३ सय ३३ वटा कार कार्यालयको किताबमा दर्ता भएको उनले जानकारी दिए।

यातायात व्यवस्था कार्यालयका अनुसार ०७७ असारदेखि हालसम्म प्रदेशमा सार्वजनिक सवारी मिनिबस, माइक्रोबस, इलेक्ट्रिक तथा डिजेल ट्याम्पो भित्रिएको छैन।

नेपाल यातायात मजदुर संघका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले सवारी चाप बढेसँगै सडक स्तरोन्नति हुन नसकेको बताए।

सवारी साधन बढे पनि सडक सञ्जाल कम भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले बताए। मुख्य राजमार्गसँगै तीन तहकै सरकारले भित्री सडक सञ्जालसमेत निर्माण तथा मर्मतमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

प्रदेश १ मा ०७७।७८ मा ४५ हजार ५ सय ४५ वटा सवारीसाधन भित्रिएका थिए। गत साउन र भदौ महिनामा १० हजार २ सय ७८ वटा सवारी दर्ता भएका छन्।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्