भारततर्फ तस्करी गर्न लागिएको २० लाख रुपैयाँ बराबरको सुपारी, छोकडा र मरिच बरामद

वीरगञ्ज– प्रहरीले वीरगञ्जबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सुपारी, छोकडा तथा मरिच लगायतका सामानहरु नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ र्सिसियास्थित सडकखण्डबाट प्रदेश नं.२–०३ –००१ थ ०००१ नम्बरको ट्र्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरिएको अवस्थामा सुपारी,छोकडा मरिच लगायतका सामानहरु नियन्त्रणमा लिएको हो।

भारततर्फ तस्करी हुन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्र्याक्टरलाई रोकेर चेकजाँच गर्दा टयाक्टर डब्बाभित्रबाट सुपारी ४६ बोरा, छोकडा १० बोरा, मरिच ५ बोरा, केराउ ७ बोरा लगायतका अन्य किराना सामानहरू बरामद गरेको थियो।

उक्त सामानहरुको बिल बिजक नभएकोले ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

बरामद गरिएको २० लाख मूल्य बराबरको सामानसहित नियन्त्रणमा लिइएका ट्र्याक्टर चालक पर्साको धोबिनी गाउँपालिका–५ बस्ने आलिम अन्सारीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले बताए।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्