सरकार जोगाउन हरसम्भव प्रयास जारी राखेका छौँः मन्त्री साम्सोहाङ

मोरङ– प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सरकार टिकाउनका लागि कोशिस गरिरहेको बताएका छन्।

देश सञ्चारसँग संवादका क्रममा साम्सोहाङले ४१ जना एमालेका सांसद प्रदेशमा एकढिक्का भएको हुदाँ बाँकी सिट संख्याका लागि हरसम्भव प्रयास जारी रहेको बताए।

उनले भने, ‘मान्छेको मन नै हो। पग्लिने छ। हामीले हरसम्भव प्रयास जारी राखेका छौँ। मन्त्री पदसमेत सुनिश्चित गरी कुरा गरिरहेका छौँ। मान्छेको मनै त हो, कसो नपग्लेला?’

प्रदेशमा २२ गतेका लागि सदन आह्वान भएको छ। सो समय मुख्यमन्त्री भीम आचार्यले बहुमत पुर्‍याउने दाबी गर्दै आएका छन्।

मन्त्री साम्सोहाङका अनुसार वर्तमान सरकारले बहुमत पुराउन नसके विपक्षी गठबन्धनले बहुमत पुराउनु पर्ने हुन्छ। तर गठबन्धनमा पनि मुख्यमन्त्री को हुने भन्ने विषयले अन्यौलता देखिँदै आएको छ।

उनले भने, ‘उहाँहरुले पनि सदनमा बहुमत पुर्‍याउनु पर्ने हुन्छ। त्यो सम्भावना पनि कम छ।’

असोज २२ गतेपछि गठबन्धनले बहुमत नपुर्‍याए वर्तमान सरकार अल्पमत, काम चलाउ सरकारका रुपमा अघि बढ्ने बताउँदै मन्त्री साम्सोहाङले राजनीतिमा सम्भावनाको खेल भएको हुँदा कांग्रेससँग पनि सहमति हुनसक्ने बताए।

प्रदेशको नामाकरणसमेत हुने सम्भवना अब कम भएको बताउँदै मन्त्री साम्सोहाङले विगतमा प्रष्ट बहुमत हुँदा राख्न नसकिएको नाम अब यसै रुपमा आउला भन्न कठिन रहेको उल्लेख गरे।

उनले भने, ‘कुरा प्रस्ट गर्नुपर्छ। यथार्त कुरा गर्नुपर्छ। हिजोको दिनमा बहुमत भएर पनि सरकारले नाम राख्न सकिएन। जनता माझ पटक–पटक नामाकरण आउने मात्र भनियो। तर सकिएन। त्यो बेलाको सरकार असफल भएको हो।’

प्रष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नाम राख्न नसक्नु तत्कालिन मुख्यमन्त्री शेरधन राईको असफलता भएको उनको भनाइ छ। उनले भने, ‘प्रदेशको राजधानी तोकेको अवस्थामा मुख्यमन्त्री राईले नामाकरण पनि डाङ्डुङ ठोक्न सक्नुपर्थ्यो। त्यो हामीले गरेनौँ।’

प्रदेशमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संंयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका समान १ प्रदेशसभा सदस्य रहेका छन्।

हाल मुख्यमन्त्री भीम आचार्यले ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन्।

असोज १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्