महँगी नियन्त्रण गर्न र यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन अखिलको माग

काठमाडौँ – एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउँदै अखिलको टोलीले चाडवाड नजिकिएसँगै बजारमा महँगी बढेको दाबी गर्दै नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको हो।

अखिलले विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइँदै आएको छुटको व्यवस्था कार्यान्वन गर्न पनि माग गरेको छ।

अखिलले गृहमन्त्री खाँडलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली जनताले मनाउँदै आएका दशैं तिहार, छठ लगायतका चाडपर्वहरु नजिकै गर्दा जनताले दैनिक प्रयोग गर्ने अतिआवश्यक सामग्रीमा गरिएको मूल्य वृद्धि र कालाबजारीप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ।

खानेतेल, खाद्यवस्तु र इन्धनमा भएको मूल्य वृद्धि, यातायातमा भएको भाडा वृद्धि, यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ छुटको कार्यान्वयन, हवाइ यातायातमा छूट कालाबजारी नियन्त्रण लगायतका जनसरोकार र जनजीविका विषयमा नियन्त्रण र अनुगमन गर्न नेपाल सरकार गृह मन्त्रालय र माननीय मन्त्री ज्यूलाई हार्दिक अनुरोध गर्दछौँ।’

असोज १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्