अनुभवी रियल मड्रिडलाई दियो नयाँ टिमले गम्भीर धक्का

च्याम्पियन्स लिगमा डेब्यू गरेको शरिफ तिरास्पोलले सर्वाधिक सफल क्लब रियल मड्रिडलाई स्तब्ध पारेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह डी मा रहेको रियल मड्रिड मंगलबार राति भएको खेलमा शरिफ तिरास्पोलसँग २–१ ले पराजित भएको हो ।
२५ औँ मिनेटमा याख्शिबोएभले गोल गरी शरिफलाई अग्रता दिलाए ।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल गरे । तर ८९ औँ मिनेटमा सेबास्टियन थिलले शरिफका लागि विजयी गोल गरेका हुन् ।

१३ पटक उपाधि जितेको रियल मड्रिड पहिलोपटक च्याम्पियन्स लिगमा सहभागी भएको शरिफसँग पराजित भएको हो । लगातार दुई जित निकालेको शरिफ ६ अंकसहित शीर्ष स्थानमा छ ।

तीन अंकसहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ।

मंगलबार राति भएका अरु खेलमा अजाक्सले बेसिक्टासलाई २–० तथा बोरुसिढा डर्टमण्डले स्पोर्टिङ्गलाई १–० ले पराजित गरेको छ ।

असोज १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्