काठमाडौँ उपत्यकामा पूर्ण खोपको अवस्था

भक्तपुरमा ५१, काठमाडौँमा ४८ र ललितपुरमा ३८ प्रतिशत

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिले कोरोना भाइरसविरुद्धको खोप दिने क्रम जारी छ। एक महिनाअघि पहिलो मात्रा लगाएका उपत्यकाका नागरिकहरुले अहिले दोस्रो मात्रा लगाइरहेका छन्।

काठमाडौँ उपत्यकामा सरकारले चीन सरकारसँग किनेको भेरोसेल खोपको दोस्रो मात्रा दिने कार्य भइरहेको हो। कोरोना भाइरस संक्रमणका दृष्टि काठमाडौं उपत्यका अहिले पनि अति जोखिमपूर्ण क्षेत्रमा पर्छ। स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकालाई रेड जोनमा राखेबाटै यो पुष्टि हुन्छ।

पछिल्लो तथ्यांकले देशभरमा काठमाडौँ उपत्यकामा सर्वाधिक संक्रमित पुष्टि भएका छन्। कोरोना संक्रमणका कारण मर्नेहरुको संख्या पनि काठमाडौँ उपत्यकामै बढी छ। देशभरका मानिस रहने काठमाडौँ उपत्यका सर्वसाधारणको चाप अत्यधिक छ। राजनीतिक गतिविधि, सभासम्मेलन, बजारमा भीडभाड पनि काठमाडौँ उपत्यकामै बढी छ। त्यसैले पनि काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम सर्वाधिक छ।

यी सबैका बाबजुद यहाँ कोरोना भाइरसविरुद्धको खोपको अवस्था के कस्तो चासोको विषय हो। यसै चासोलाई मध्यनजर गर्दै यहाँ उपत्यकाका ३ जिल्लामा कोरोना भाइरस संक्रमण र खोपको अवस्थाबारे चर्चा गरिएको छ।

उपत्यकाका ३ जिल्लामध्ये सबैभन्दा बढी भक्तपुरले आफ्ना नागरिकलाई खोप लगाएको छ। भक्तपुरमा ५१.६ प्रतिशत जनसंख्याले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। उनका अनुसार ३ लाख ७४ हजार २१५ जनसंख्या रहेको भक्तपुमा एक लाख ९२ हजार ९३५ जनाले पूर्ण खोप पाएका हुन्।

भक्तपुरका ३ हजार ४७८ जनाले खोपको पहिलो मात्रा लिएको प्रमुख मिजारले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा करिब २९ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २१८ पुरुष र १२४ महिला गरी ३४२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भक्तपुरपछि काठमाडौं जिल्लाका ४८.०७ प्रतिशतले पूर्ण खोप पाएका छन्। यहाँका १० लाख ९९ हजार ८० जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए। २२ लाख ११ हजार ६४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये ११ लाख १२ हजार ५६९ जनाले खोपको पहिलो मात्रामात्रै लगाएका छन्।

प्रमुख खड्काले काठमाडौंमा अहिले दोस्रो मात्राको खोप लगाउने क्रम चलिरहेकाले पूर्ण खोप लगाउने प्रतिशत अझै बढ्ने बताए।
काठमाडौँमा २ लाख २६ हजार ६०० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। यसमध्ये यहाँ करिब ३ हजार जना संक्रमितको मृत्यु भइसकेको छ।

उपत्यकामा सबैभन्दा कम ललितपुरका नागरिकले खोप पाएका छन्। यहाँका २ लाख २२ हजार ३७१ जना अर्थात ३८.३१ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप पाएका छन्। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ललितपुरका २ लाख ६४ हजार २४१ जनाले पहिलो मात्रा खोप लिएको जानकारी दिए।

उनले ललितपुर जिल्लामा ५ लाख ८० हजार ३९९ जनालाई खोप दिनुपर्ने लक्ष्य रहेको बताए। तर ललितपुरमा बसाइसराइ गरी आउने जनसंख्या यसमा उल्लेख नभएको सुनाए।

प्रमुख डा. गेलालले जिल्लामा अनलाइन इन्ट्री गर्ने व्यवस्थाअघि नै धेरैजनालाई खोप दिइएको हुँदा स्वास्थ्य मन्त्रालयको तथ्यांकसँग जिल्लाको तथ्यांक नमिल्ने स्पष्ट पारे। उनका अनुसार जिल्लाका अस्पतालहरुमा दिइएको खोपको तथ्यांक मन्त्रालयले जिल्लामा राख्ने नगरेको बताए।

‘अनलाइन इन्ट्री गर्ने व्यवस्था पहिले थिएन। यो व्यवस्थाअघि पनि ललितपुरमा खोप अभियान चलेको छ’, उनले भने, ‘त्यसैले मन्त्रालयले दिएको तथ्यांक र जिल्लाको तथ्यांकमा मेल खाँदैन।’

उनले ललितपुरमा मन्त्रालयको तथ्यांकभन्दा बढीले खोप पाइसकेको दावी गरे। ललितपुरका ५० प्रतिशतभन्दा बढी जनसंख्याले खोप पाएको उनको भनाइ छ।

उपत्यकामा भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान जारी भएकाले पूर्ण खोप पाउने जनसंख्या अझ बढ्ने ३ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरुले बताएका छन्।

असोज १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्