चाडबाड नजिकिएसँगै बाँके प्रहरी सक्रिय

नेपालगञ्ज– बाँके प्रहरीले गरगहना लगाएर एक्लै हिँडडुल नगर्न सचेत गराएको छ। चाडबाड लक्षित १९ बुँदे जनहितमा सूचना जारी गर्दै प्रहरीले भनेको छ, ‘चाड पर्वको अवसर पारेर अनावश्यक गरगरहनाको प्रदर्शन नगरौं, गरगहना लगाएर एक्लै हिँडडुल नगर्नुहोस्।’

प्रहरीले दसैँ र तिहारमा लामो समयसम्म घर छोड्नु परेमा छिमेकी र नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ। घर, टोल आसपासमा शंकास्पद व्यक्ति देख्नेबित्तिकै प्रहरीलाई खबर गर्न भनिएको छ।

आर्थिक कारोबार हुने ठाउँहरुमा चोरी, डकैती, लुटपाट हुन सक्ने भएकाले व्यक्तिगत रुपमा सचेत हुन बाँके प्रहरीले आग्रह गरेको छ।

बैंकहरुबाट पैसा झिक्दा र राख्दा वा हिँडडुल गर्दा सचेत रहन भनिएको छ। प्रहरीले यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सम्झाएको छ। प्रहरीले मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जुवातास नखेल्न आग्रह गरेको छ।

जिल्लामा कुनै पनि ठाउँमा शंकास्पद गतिविधि भएमा जानकारी दिनको लागि प्रहरी कन्ट्रोल, सञ्चार र कार्यालय प्रमुखको नम्बर उपलब्ध गराएको छ।

असोज १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्