भारतबाट घर फर्किएकाहरुसँग रकम असुलेको गुनासोपछि जमुनाह नाकाका १७ प्रहरी फेरिए

नेपालगञ्ज– नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी तानिएका छन्।

भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि बिहान नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका १७ जना प्रहरी परिवर्तन गरेका हुन्।

प्रहरीले नाकामा दसैं मान्न फर्किने नेपालीबाट ५० सय रुपैयाँ असुल्ने गरेको गुनासो आएको थियो। सादा पोशाकमा मुख छोपेर नाकामा पुगेका एसपी अधिकारी र डीएसपी न्यौपानेले ड्यूटीमा रहेका प्रहरीको काम चित्तबुझ्दो नरहेको पाएका थिए। डीएसपी न्यौपानेले लामो समयदेखि नाकामा बसेका र काम चित्तबुझ्दो नगरेकाहरुलाई आजै परिवर्तन गरेको बताए।

एसपी अधिकारीले भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट काम गरेर फर्किनेको झोला जाँच नगर्न निर्देशन दिएका छन्। डीएसपी न्यौपानेले भने, ‘विशेष सूचनाका आधारमाबाहेक कालापहाडेको झोला नखोतल्न निर्देशन दिएका छौँ।’

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा मौसमी कामका लागि मजदूरीमा जाने गर्दछन्। उनीहरु चाडबाड मान्न घर फर्किरहेका छन्।

नेपालगञ्ज नाकाबाट अहिले दैनिक एक हजार बढी मानिस घर फर्किरहेका छन्। दुःख गरेर कमाएको रकम नाकामा प्रहरी, रिक्सावाला र होटल सञ्चालकबाट ठगिने गरेका छन्।

रिक्सा चालकसँग मिलेका होटल सञ्चालक नाकामै पुग्ने गर्दछन्। उनीहरुलाई तानेर आफ्नो होटलमा ल्याउने गर्दछन्। प्रहरीले त्यसरी नाकामा पुग्ने होटल सञ्चालक र बदमासी गर्ने रिक्साचालकप्रति पनि कडा निगरानी राख्न निर्देशन दिएको छ।

असोज १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्