आइसिटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’

काठमाडौँ– छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ। आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो। सम्झौताअनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेसन खुला गरिएको थियो। जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार अहिले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन भइरहेको छ। पुरस्कार वितरण तथा ग्राण्ड फिनाले कार्यक्रम १७ डिसेम्बर २०२१ मा सोल्टी होटलमा आयोजना हुनेछ। आइसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनको रूपमा असोज १५ गते ४० बढी स्टार्टअपलाई मेन्टरिङ सेसन र १६ गते शनिवार एक्जिविसन आयोजना हुने आयोजकले जनाएको छ।

एफवान सफ्ट १७ वर्षअघि स्थापना भएको नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा प्रदान गर्ने संस्था हो। एफवान सफ्ट ग्रुपअन्तर्गत हाल १३ कम्पनी सञ्चालन भइरहेका छन्, जसमा एफवान सफ्ट, ई–सेवा, फोनपे, ई–सेवा मनी ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, ई–सेवा ट्राभल आदि रहेका छन्।

आइसिटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सघाउ पुर्‍याउने एफवान सफ्टका ग्रुप सिओओ शिशिर पछाईले बताए। एफवान सफ्टको सहकार्यले नेपालमा स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनसँगै आइसिटी अवार्डको महत्व र प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउन सकिने अवार्ड आयोजक समितिका संयोजक राजन लम्सालले बताए।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) गरी ११ विधामा आइसिटी अवार्डको नोमिनेसशन खुसला गरिएको थियो।

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन्। पावर्ड वाई स्पोन्सर ह्वावेले स्र्टाअप आइसिटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ।

यस वर्ष आइसिटी अवार्डको इन एसोसिएसन विथमा जिनस, पावर्ड वाई ह्वावे, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेसिडेन्सियल बिजनेश स्कुललगायतको सहकार्य तथा सहयोग रहेको छ।

असोज १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्