चम्किन पनि सक्छन् देउवा, भासिन पनि सक्छन्

एमालेका केपी ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाएर बनेको संयुक्त सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट जनताले धेरै आस गरेका छैनन्। कमसेकम अहिलेको भन्दा अरू खराब कार्य नगरुन् भन्ने चाहेका छन्।

जनताले निवर्तमान प्रधानमन्त्री केपी ओलीबाट धेरै आस गरेका थिए। उनका विगतका केही महत्वपूर्ण कार्य र उनले निर्वाचनमा दिएका आश्वासनबाट उनीप्रति जनता धेरै आश्वस्त थिए। उनको कार्यकालको बीचबाटै पार्टीभित्रको आन्तरिक कलह र उनका केही गलत निर्णयबाट जनता निरास हुँदै गए।

शेरबहादुुर प्रधानमन्त्री हुुँदा उनका विगतका क्रियाकलापका कारण जनताले कुुनै आस गरेनन्। एउटा भनाइ छ नि, ‘जेठा मामाको फाटेको धोती कान्छा मामाको के गति ?’ जनताले धेरै आस गरेका केपी ओलीले जनतालाई निरास पारेका बेला जनताले आसै नगरेका शेरबहादुरबाट धेरै आस गरिएको छैन।

शेरबहादुुर राजनीतिका धुर्त खेलाडी भएजस्तै प्रशासनिक कार्यमा सुव्यवस्थामा कायम गर्दै पार्टी र सरकारको टिमलाई सही तरिकाबाट अघि बढाउन सके देशले सही बाटो लिन सक्छ। यसबाट शेरबहादुरले धेरै लाभ लिन सक्छन्।

अहिले देशको राजनीतिक तथा आर्थिक अवस्था अत्यन्त डामाडोल छ। शेरबहादुरको संयुुक्त सरकारले अहिलेसम्म मन्त्रीमण्डलसमेत पूरा गठन गर्न सकेको छैन। मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, महत्वपूर्ण नीतिगत निर्णय गर्न मन्त्री आवश्यक पर्छ।

प्रधानमन्त्री ६ जना मन्त्रीको भरमा क्याबिनेट निर्णय गरिरहेका छन्। पार्टी फुटाउन अध्यादेशबाट ल्याइएको विधेयकअनुसार २० प्रतिशत भए पुग्ने हुनाले दलका नेताले मन्त्रीमा आफ्ना सांसद पठाउन अन्कनाइरहेका छन्।

अरूको पार्टीको आन्तरिक कुरालाई प्रधानमन्त्रीले अत्यन्त महत्व दिएर समयमा मन्त्रीहरू नियुक्त नगरी आफ्नो छवि झन् बिगारिरहनुभएको छ। शेरबहादुरका विगतका खराब निर्णय र केही राष्ट्रघाती कार्यबाट पनि उनलाई आफ्नो छवि सुधार्न निकै कठिनाइ हुनेछ।

यही समयमा कांग्रेसको महाधिवेशन पनि भएकाले उनलाई झन् व्यस्त हुन बाध्य हुनुपरेको छ। यदि, प्रधानमन्त्री शेरबहादुरलाई भविष्यमा आफ्नो कार्यबाट नेपाली जनतालाई खुसी र सुखी पार्न चाहे भने असम्भव भन्ने छैन।

अहिले देशमा अमेरिकन सहयोगको नाममा आएको एमसीसीको तीव्र विरोध भइरहेको छ। यसलाई शेरबहादुरले बेवास्ता गर्दै अघि बढ्नु उनको आफ्नो छवि बिगार्नु मात्र होइन, राष्ट्रलाई हानि पुर्‍याउनु पनि हो।

साथै, छिमेकी राष्ट्र चीनसँगको सम्बन्ध बिगार्नु पनि हो। नेपालले असंलग्न परराष्ट्र नीति लिएर मात्र अघि बढ्न आवश्यक छ। हाम्रा दुई छिमेकी देशसँग समदूरीमा रहेर असल सम्बन्ध राखेर मात्र हामी शान्ति कायम राख्दै विकास गर्न सक्छाैँ।

सरकारले अरूलाई खुसी पार्नुभन्दा नेपाली जनतालाई खुसी पार्न सके यो देशमा कांग्रेसले फेरि पनि शासन गर्न सक्नेछ। हामीले नेपाली जनताभन्दा अमेरिकाको बढी चिन्ता लिन आवश्यक छैन। अमेरिका सधैँभरि सुपरपावर भएर बस्न चाहन्छ। चीनको सामरिक र आर्थिक विकास अमेरिकाका लागि पाच्य हुन सकेको छैन।

अमेरिकाले आफ्नो राजनीतिक र आर्थिक स्वार्थका लागि उसले आफ्ना मित्र शक्तिलाई पनि छाड्दैन। आफ्नो मित्र शक्ति फ्रान्सलाई छाडेर अस्ट्रेलियालाई साथ लिँदै आफ्ना आणविक पनडुब्बी बेच्दै छ जुन अस्ट्रेलियाले फ्रान्ससँग किन्दै थियो।

अमेरिकाको आफ्नो स्वार्थ नहुुँदो हो त उसले नेपालजस्तो सानो देशलाई यसरी एमसीसीको ५०० मिलियन डलर लगानी गर्न जबर्जस्ती गर्ने थिएन। त्यसैले सबभन्दा पहिला एमसीसी फिर्ता गर्ने हिम्मत गर्नुहोस् प्रधानमन्त्रीजी। यसले प्रधानमन्त्री शेरबहादुरको राष्ट्रवादी छवि उज्यालो हुनेछ।

अख्तियारलाई बिनाहस्तक्षेप स्वतन्त्रपूर्वक कारबाही गर्न दिइयोस्। सबै खालका ठूला भ्रष्टाचारीलाई कारबाही गर्ने निर्देशन दिइयोस्। भ्रष्टलाई आफ्ना र दलका भनेर बचाउने कार्य कहिल्यै नगरियोस्। जसले गर्दा विगतको सरकार धेरै बदनाम भएको छ।

प्रधानमन्त्री शेरबहादुरले संयुुक्त सरकारको नेतृत्व गरिरहँदा, देशको कार्यकारी प्रमुखको नाताले सम्पूर्ण देशको जिम्मेवारी जवाफदेहीता उनीमा रहन्छ।

मन्त्रीहरूले गरेका सबै राम्रो–नराम्रो कामको जस अपजस प्रधानमन्त्रीको हुुन्छ। त्यसैले मन्त्रीहरूको नियुक्ति गर्दा क्षमतावान इमान्दार राष्ट्रप्रेमीहरू छनोट गरियोस्।

यदि, कसैले कमिसन लिएको या भ्रष्टाचार गरेको बुझिएमा निजको तुरुन्त राजीनामा माग्ने या बर्खास्त गर्न सकिने सर्त पहिल्यै राख्नुपर्छ। मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सम्पूर्ण जिम्मेवारी दिने र अन्तर्गतका सबै कामको जवाफदेहिता मन्त्रीहरूले लिन लगाउने।

अहिले सबै राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइएको छ। यसरी बीचमा बोलाउनु उपयुुक्त होइन। अब फिर्ता बोलाइसकेपछि राजदूत नियुक्ति गर्दा कूटनीतिक ज्ञान भएका क्षमतावान, इमान्दार तथा राष्ट्रप्रेमी मध्येबाट छनोट गरियोस्।

संवैधानिक पदमा नियुुक्त गर्दा प्रतिस्पर्धाद्वारा क्षमतावान इमान्दार तथा दूरदर्शी सोच भएका व्यक्ति छनोट गरियोस्। आयोजना प्रमुखहरूमा जिम्मेवार बहन गर्न सक्ने तोकिएको समयमा कार्य सम्पन्न गर्ने कार्यकुशलता भएका क्षमतावान मानिसमध्येबाट प्रतिस्पर्धा गरी नियुक्त गरियोस्।

मेडिकल कलेज नभएका प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम अघि बढाइयोस्।

व्यावसायिक शिक्षामा जोड दिइयोस्। जसले गर्दा स्कुल पास गर्ने विद्यार्थीले आफ्नो सीपबाट रोजगार पाउन सकून्। कृषकको उत्पादनलाई बजार पुर्‍याउन स्थानीय निकायलाई समन्वय गर्न लगाइयोस्। कृषिमा आत्मनिर्भर हुन सिँचाइका कार्यक्रम अधिराज्यभर चलाइयोस्।

किसानलाई प्रोत्साहन र सहयोग पुर्‍याउन विदेशबाट तरकारी, फलफूल र मासुुजन्य पदार्थको आयात रोकियोस्। आफ्ना कार्यकर्तालाई कुनै न कुनै व्यवसाय गर्न प्रेरित गरियोस् अर्थात् सधैँ जुलुस नारा गर्नका लागि झोले कार्यकर्ता मात्र नबनाइयोस्।

भ्रष्टाचार रोक्न नीतिगत भ्रष्टाचारलाई पनि अख्तियारले कारबाही गर्न पाउने नीति बनाइयोस्। भ्रष्टाचार गर्ने प्रधानमन्त्री तथा राष्ट्रपतिसम्मलाई कारबाहीको दायरामा ल्याइयोस्।

अख्तियारलाई बिनाहस्तक्षेप स्वतन्त्रपूर्वक कारबाही गर्न दिइयोस्। सबै खालका ठूला भ्रष्टाचारीलाई कारबाही गर्ने निर्देशन दिइयोस्। भ्रष्टलाई आफ्ना र दलका भनेर बचाउने कार्य कहिल्यै नगरियोस्। जसले गर्दा विगतको सरकार धेरै बदनाम भएको छ।

अदालत स्वतन्त्र कायम राख्न कुनै दबाबबिना काम गर्न दिइयोस्। राजनीतिक नियुक्तिको नाममा सबैतिर राजनीतीकरण नगरियोस्। कर्मचारीलाई भ्रातृ संगठनका सदस्य बनाउन रोक लगाइयोस्। सेना, प्रहरी, निजामती कर्मचारी तथा विद्यार्थीलाई स्वदेशमा उत्पादन भएका कपडा उपयोग गर्ने नीति ल्याइयोस्। यसले स्वदेशी उत्पादनलाई सगाउ पुग्नेछ।

प्रत्यक्ष निर्वाचित सरकार प्रमुुख, संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा जनलहर देशमा बढ्दै गरेकाले कांग्रेसले यसपालिको महाधिवेशनबाट यसलाई समर्थन र साथ दिन सक्यो भने अवश्य पनि राष्ट्रको दीर्घकालीन हित हुनेछ। देशका लागि ठोस रुपमा केही गतिला निर्णय गर्न सक्नुभयो भने प्रधानमन्त्री शेरबहादुरको यसपालिको कार्यकाल छोटो भए पनि आफ्नो छवि सुधार गर्न अवसर हुनेछ।

त्यसपछि आगामी निर्वाचनमा आफ्नो दललाई बहुुमत पुर्‍याउन सक्नुहोला। नत्रभने ठूलो दल पनि अरू नै हुुन सक्छन्। त्यसैले रत्नाकार डाँकु पनि वाल्मीकि भएका थिए भने, बदनाम शेरबहादुर किन लोकप्रिय बन्न सक्दैनन् ? हामी त बाटो देखाउने मात्र हौं सही बाटोमा हिँड्ने काम त आफ्नै हो नि, होइन र प्रधानमन्त्रीज्यू?

अन्त्यमा प्रधानमन्त्री शेरबहादुुर देउवाको पाँचौँचोटिको प्रधानमन्त्रीत्वकालले अवश्य पनि उनका विगतका अप्रिय कार्य तथा पछिल्लो अवस्थामा अत्यन्त भद्रगोल रूपमा गरिएको तक्मा विभूषण वितरणको बदनामीलाई भुल्ने गरी देश र जनताको हितमा ठोस निर्णय तथा कार्यान्वयन गर्नु हो।

सबै क्षेत्रका विज्ञहरूको भेला गर्नुहोस्। उनीहरूबाट सही सल्लाह लिएर कार्यान्वयन गर्नुहोस्। सुुशासन, राष्ट्रियता, जनजीविकाजस्ता विषयमा गम्भीर भएर लाग्ने हो भने यसपछि अवश्य पनि देशले सही बाटो लिनेछ।

असोज १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्