‘नेपालगञ्ज नाकामा किन जाँच्ने एन्टिजेन ?’

नेपालगञ्ज – नेपालगञ्ज नाकामा ‘एन्टिजेन’ किन जाँच्ने भन्दै चौतर्फी प्रश्न उठाउन थालिएको छ। एन्टिजेन जाँचेपछि पोजिटिभ आएकालाई सीधै घर पठाइदिने हो भने त्यस्तो जाँचको कुनै मतलव नभएको भन्दै विरोधको आवाज उठेको हो।

यतिबेला भारतबाट ठूलो संख्यामा नेपालीहरु घर फर्किरहेका छन्। कामका सिलसिलामा भारतमा पुगेका उनीहरु दसैँ मान्न घर फर्किरहेका हुन्। उनीहरुलाई नेपालगञ्ज नाकामा लाइन लगाएर एन्टिजेन जाँच गर्ने गरिन्छ। ठूलो भीड हुने र एक ठाउँमा मात्रै जाँच हुँदा धेरैले अनाहकमा दुःख पाइरहेका छन्।

यही बेलामा एन्टिजेन जाँच गर्न लाइन लागेर समय बर्बाद गर्नुभन्दा प्रहरीलाई सय रुपैयाँ दिएर अगाडि बढ्नेहरु कमी छैन।

नेपालगञ्ज नाकामा चैत्र महिनादेखि नै एन्टिजेन जाँच भइरहेको छ। भारतबाट आएकाको कोरोना जाँच हुनु राम्रो हो। तर पोजिटिभ देखिए पनि सीधै घरमै पठाइदिने गरिएपछि यसको विरोध हुन थालेको छ। अधिकांशले भन्ने गरेका छन्, ‘एन्टिजेन किन जाँच्नु प¥यो ? त्यसै पठाइदिए भइहाल्यो नि । खालि भारतबाट आएका व्यक्ति कतिलाई कोरोना देखियो भन्ने रेकर्ड राख्नमात्रै जाँच गर्ने गरिएको हो र?’

असोज महिनामा नाकामा एन्टिजेन जाँच गर्दा नौ जनालाई कोरोना पुष्टि भएको ल्याब टेक्निसियन चीरञ्जीवी ज्ञवालीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म चार हजार पाँच सय जनाको जाँच भएको छ। सरदर हेर्दा पाँच सय जनामा एकजनालाई कोरोना पुष्टि भएको छ।

ल्याब टेक्निसियन ज्ञवालीले समूहमा आएका व्यक्तिमध्ये केहीलाई जाँच गर्ने र पोजिटिभ आए पनि स्वास्थ्य परामर्श दिएर घर पठाइदिने गरेको बताए।

‘कोरोना पोजिटिभ पुष्टि भएपछि त्यस व्यक्तिको अवस्था कस्तो हुन्छ होला? उसका साथीसंगी, छिमेकी र घरपरिवारमा कस्तो तनाव हुन्छ होला?’, भारतबाट नेपाल प्रवेश गरेका एक युवाले भने, ‘यस विषयमा कसैले सोचेको छैन। नाकामा बसेर कोरोना पोजिटिभको ट्याग लगाएर पठाइदिने काममात्रै भएको छ।’

नाकामा एक ठाउँमा मात्रै कोरोना जाँच हुँदा धेरै बेरसम्म लाइन बस्नु परेको उनको गुनासो छ। यसलाई छिटो छरितो गराउन दुई ठाउँमा जाँच गर्ने व्यवस्था मिलाउन थालिएको छ। बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दुई ठाउँमा एन्टिजेन जाँच हुन सकेमा भारतबाट आएका व्यक्तिलाई सहज हुने बताए।

भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट मजदुरी गरेर फर्किने क्रम बढेको छ।

असोज १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्