यस्तो छ आगामी तीन महिनाको मौसमी आँकलन

काठमाडौँ – मनसुनपछिको तीन महिनाको अवधिमा नेपालका केही क्षेत्रमा सरदरभन्दा बढी तथा पश्चिमका केही स्थानमा सरदरभन्दा कम पानी पर्ने देखिएको छ।

दक्षिण एसियाली जलवायु विश्लेषण मञ्चले अक्टोबरदेखि डिसेम्बरसम्म (तीन महिना) को हावापानी आँकलन गरेको छ। उक्त आँकलनअनुसार नेपालको बागमती प्रदेश, प्रदेश २, प्रदेश १ र लुम्बिनी प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको मञ्चले जनाएको छ।

सो अवधिमा सुदूर पश्चिम प्रदेशको उत्तर–पूर्वी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जनाइएको छ। नेपालका अरु क्षेत्रमा तीन महिनाको अवधिमा पानी पर्ने सम्भावना कस्तो छ भन्ने स्पष्ट संकेत नदेखिएको मञ्चले जनाएको छ।

ओएनडी भनिने सो अवधिमा नेपालभर अधिकतम तापक्रम भने सरदरभन्दा बढी हुने आँकलन गरिएको छ। यस्तै बागमती प्रदेशका अधिकांश क्षेत्र र अरु प्रदेशका तराईका जिल्लाहरुमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आँकलन गरिएको छ।

गएको वर्ष यही अवधिमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिएकोमा नेपालमा सरदरभन्दा बढी वर्षा भएको थियो। दैनिक मौसमी अवस्था तथा मौसमजन्य विविधताले पूर्वानुमानलाई प्रभावित गर्ने जनाइएको छ।

मनसुनपछिको दुई महिना (अक्टोबर र नोभेम्बर) र डिसेम्बर महिना नेपालमा प्रायः सुक्खा हुने गर्छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरियोलोजिष्ट डा. इन्दिरा कँडेलले भनिन्, ‘यो अवधि (मनसुनपछिको तीन महिना अक्टोबर, नोभेम्बर र डिसेम्बर) नेपालमा प्रायः सुक्खा हुने गर्छ। निकै कम पानी पर्छ। तर दक्षिण एसियाली क्षेत्रको तीन महिने पूर्वानुमानमा यो वर्ष नेपालका केही क्षेत्रमा सरदरभन्दा केही बढी र केही स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना देखिएको छ। तर सम्भावना ३५–४५ प्रतिशतमा रहेकाले विश्वसनीयता अर्थात कन्फिडेन्ट लेभल केही कम छ। वर्षा वा मौसमी अवस्था आँकलन गरिएभन्दा फरक हुन पनि सक्छ।’

नेपालबाट यो वर्षको मनसुन बाहिरी सकेको भने छैन। सरदरमा अक्टोबर २ मा मनसुन बाहिरिने भए पनि यो वर्ष केही दिन लम्बिने देखिएको विभागले जनाएको छ।

यसैबीच दक्षिण एसियाको श्रीलंका र माल्दिभ्स तथा चीनका केही क्षेत्रसहितका दक्षिणी भू–भागमा तीन महिनाको अवधिमा सामान्यभन्दा कम पानी पर्ने मञ्चले पूर्वानुमान गरेको छ। यी क्षेत्रमा यो अवधिमा सामान्यतया राम्रो मात्रामा पानी पर्ने गर्छ।

दक्षिण एसियाको उत्तर–पश्चिम र उत्तरी क्षेत्रमा पनि सरदरभन्दा कम वर्षा हुने देखिएको छ। यो क्षेत्रमा अक्टोबरदेखि डिसेम्बरसम्म निकै कम वर्षा हुने गर्छ सामान्य अवस्थामा। दक्षिण एसियाका मध्य, दक्षिण पूर्वी र उत्तर पूर्वी क्षेत्रमा औसतभन्दा बढी पानी पर्ने आँकलन मञ्चले गरेको छ। अरु क्षेत्रमा सरदर वर्षाको सम्भावना छ।

गएको सेप्टेम्बर २७ देखि ३० सम्म दक्षिण एसियाली देशका मौसम पदाधिकारीहरुको २० औँ शत्र (अनलाइन) पछि एकीकृत मौसम पूर्वानुमान जारी भएको हो।

पूर्वानुमानअनुसार मध्य र भारतको समुद्री क्षेत्रबाहेकको अधिकतम तापक्रम सरदरदेखि सरदरभन्दा बढी हुने आँकलन छ। मध्य–पश्चिम र सुदूर उत्तर–पश्चिम क्षेत्रबाहेकका स्थानको न्यूनतम तापक्रम औसतभन्दा बढी हुने आँकलन छ।

असोज १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्