बाँकेमा स्वास्थ्य सेवातर्फ डुडुवा उत्कृष्ट

नेपालगञ्ज– बाँकेमा डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको छ।

डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए।

उनका अनुसार मूल्यांकनका क्रममा पालिका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न सूचकको आधारमा डुडुवा उत्कृष्ट देखिएको हो। प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवा प्रदान गर्दै आएको र त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको बताए।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको दुईदिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदरपत्र प्रदान गरे।

त्यस अवसरमा डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यका बारेमा जानकारी गराएका थिए।
डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ। अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य ईकाईको स्थापना गरेको छ।

नेपाल सरकारले उपलब्ध गराउने औषधिबाहेक मधुमेह, उच्च रक्तचाप तथा जटिल रोगको उपचारका लागि थप निःशुल्क औषधिको व्यवस्था डुडुवाले गरेको छ। उसले गाउँघर क्लिनिक, खोप, प्रशूति सेवा र स्वास्थ्य समस्या आउनेबित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको जनाएको छ।

जिल्लामा मूल्यांकनका आधारमा जानकी गाउँपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भए। ती दुई पालिकाललाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। जिल्लाका आठवटै पालिकालाई नेपालगञ्जमा बोलाएर आर्थिक वर्ष ०७७–०७८ मा गरेका कार्यहरुको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो।

कोरोना महामारीका बीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोगलगायतका स्वास्थ्य सेवामा राम्रो सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्