एमाले विधान महाधिवेशन आज सकिँदै

पाँच समूहको सुझावपछि शीर्ष नेताले जवाफ दिने

काठमाडौँ– नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदै छ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको थियो।

जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावउपर १० जटा समूहको समूहगत छलफलसँगै समूहको सुझाव प्रस्तुत भइरहेको छ। जसअनुसार शनिबारसम्म पाँच समूहले आफ्नो सुझाव प्रस्तुत गरेका छन्। केन्द्रीय निकाय तथा विभाग, बागमती, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका हुन्।

आज बाँकी पाँचवटा समूहका टोली नेताले समूहबाट आएको सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश नंं १, प्रदेश नं. २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूहको सुझाव प्रस्तुति बाँकी रहेको हो।

बाँकी सबै समूहको सुझाव प्रस्तुति सकिएपछि आजै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओली, सङ्गठनात्मक प्रस्ताव पेश गर्ने महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जवाफ दिने थप कार्यसूची रहेको छ ।

त्यसपछि पार्टी प्रवेश कार्यक्रमसँगै तीनदिने विधान महाधिवेशन समापन गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्