गर्भपतन अधिकारको पक्षमा अमेरिकामा प्रदर्शन

गर्भपतनसम्बन्धी अधिकारको पक्षमा अमेरिकाका सबै राज्यमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन्। अमेरिकाका सबै ५० राज्यमा शनिबार गर्भतपनको अधिकारका लागि प्रदर्शन भएको हो।

टेक्सासमा हालै गर्भपतनको अधिकार अति साँघुरो बनाउने गरी लागू भएको कानुनका विरुद्ध अमेरिकाभर प्रदर्शन भएको हो। टेक्सासमा लागू भएको कानुनअनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन्। ६ हप्तापछि गर्भपतन गराएमा ती महिला, गर्भपतन सेवा प्रदान गर्ने क्लिनिक तथा चिकित्सकविरुद्ध कुनै पनि व्यक्तिले उजुरी दिनसक्ने व्यवस्था कानुनमा छ।

टेक्सासको जस्तै कानुन अरु राज्यमा पनि ल्याउने तयारी भइरहँदा प्रजनन अधिकारमा महिलाको छनोटका पक्षधरहरु संविधानले सुरक्षित गरेको व्यवस्थामाथि आक्रमण हुन सक्ने भन्दै चिन्तित छन्।

देशभर गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको सन् १९७३ को रोज भर्सेज वेड मुद्दाको फैसला उल्ट्याउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा आउँदो महिनामा सुनुवाइ हुँदैछ।

वासिङ्गटन डिसीस्थित सर्वोच्च अदालतको भवन अगाडि प्रदर्शनकारीहरुले गर्भपतनलाई कानुनी मान्यता प्रदान गर्न माग गर्दै र्‍याली गरेका छन्। वासिङ्गटनमा गर्भपतनविरोधी (प्रो–लाइफ) प्रदर्शनकारीले ‘काउन्टर प्रोटेस्ट’ गरेका थिए।

वार्षिक रुपमा हुँदै आएको महिला र्‍यालीअन्तर्गत यो वर्ष गर्भपतनको पक्षमा प्रदर्शन भएको हो।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्