भक्तपुर कांग्रेसको नयाँ समीकरणमा खटपट सुरु

भक्तपुर– परम्परागत समीकरण भत्काएर बनेको भक्तपुर कांग्रेसको नयाँ समीकरणमा खटपट सुरु भएको छ। सूर्यविनायक नगर सभापतिका साझा उम्मेदवार रवि राणा पराजित भएपछि नयाँ समीकरणमा खटपट सुरु भएको हो।

भक्तपुरमा शेरबहादुर देउवा पक्षभित्रै फुट आएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला पक्षको नेतृत्वमा नयाँ समीकरण निर्माण भएको थियो। जसमा देउवा पक्षीय प्रभावशाली जिल्लास्तरीय नेताहरुसँगै देउवा गुटका प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा कृष्णप्रसाद सिटौला गुटले एकता गरेको थियो।

भक्तपुरमा देउवाको संस्थापन र पौडेल तथा कोइरालाको संस्थापनइतरबीचको परम्परागत समीकरण भत्किएर पार्टीको १४ औं महाधिवेनअन्तर्गत पालिका अधिवेशनको क्रममा भक्तपुरमा नयाँ समीकरण बनेको हो। नयाँ समीकरण बनेसँगै यो भक्तपुरमा बलियो अवस्थामा आयो। जसअनुसार समीकरणमा सहभागी चार गुटले भक्तपुरका ४ वटा नपामा भागबन्डा गरे।

नगर अधिवेशनमा नयाँ समीकरणले भक्तपुर र मध्यपुर थिमि नपामा आफ्नो वर्चश्व स्थापित पनि गर्‍यो। यहाँ समीकरणका उम्मेदवारहरु क्रमशः राजेन्द्र तमखू र हरिदास प्रजापति नगर सभापतिमा निर्वाचित भए। चाँगुनाराण नपामा नयाँ समीकरणले तयार गरेका उम्मेदवारले धोका दिए। उनले अन्तिम समयमा आएर देउवा पक्षबाट नगर सभापतिमा उम्मेदवारी दर्ता गरे। नयाँ समीकरणले हतार हतार नयाँ व्यक्तिलाई नगर सभापतिको लागि प्रस्ताव गर्‍यो तर उनले सर्वसम्मत भएमात्रै नगर सभापति बन्ने अड्डी लिए। अनि समीकरणले तेस्रो व्यक्तिलाई उठायो तर उनले समीकरणको सबै मत पाउन सकेनन्। परिणामतः नयाँ समीकरणका उम्मेदवार पराजित भए।

तर सूर्यविनायक नपामा नयाँ समीकरण बलियो स्थितिमा हुँदाहुँदै साझा उम्मेदवार पराजित भए। साझा उम्मेदवारलाई समीकरणकै नेताहरु लागेर हराएको भन्दै नयाँ समीकरणमा खटपट सुरु भएको हो। यहाँ नयाँ समीकरणबाट रवि राणा साझा उम्मेदवार थिए। राम्रो स्थितिमा हुँदाहुँदै साझा उम्मेदवार राणा विपक्षीसँग पराजित भए। राणा कांग्रेस संस्थापन पक्षका निशान ढुंगेलसँग ३२ मतले पराजित भए। जबकि नगर अधिवेशनमा ३१ मत बदर भए। ढुंगेलले १४४ मत पाउँदा राणाले ११२ मत ल्याए। नगर सभापतिमा पराजित राणा कांग्रेस समर्थित देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणाका भाइ हुन्।

वरिष्ठ पत्रकारसमेत रहेका कविरले नयाँ समीकरणकै केही नेताहरु लागेर आफ्नो भाइलाई नगर सभापतिमा हराएको भन्दै आक्रोश पोखेका छन्। उनले आफ्नो रिस भाइमाथि पोखेर नगर सभापतिमा हराएको भन्दै यस्तो पाराले नयाँ समीकरण अघि नबढ्ने चेतावनीसमेत दिएका हुन्।
निर्वाचनमा रवि राणाको पक्षमा आएको ३१ मत बदर भएको थियो। कविरले उक्त मत जानी जानी बदर गरेको र समीकरणकै नेताहरुले विपक्षीलाई फ्लोर क्रस गराएर आफ्नो भाइलाई हराएको भन्दै समीकरणकै केही नेताहरुमाथि आरोप लगाए।

‘मेरो रिसमा भाइलाई समीकरणकै नेताहरुले हराए’, राणाको भनाइ उद्धृत गर्दै समीकरणका एक नेताले भने, ‘मेरो भाइलाई हराउन जानीजानी ३१ मत बदर हुने गरी खसालियो। यतिले नपुग्ने देखेर फ्लोर क्रससमेत गराइयो। यस्तो पाराले नयाँ समीकरण कसरी अगाडि बढ्छ ?’

वरिष्ठ पत्रकार राणा आफै जिल्ला सभापतिका दावेदार हुन्। उनले जिल्ला सभापति हुनकै लागि नयाँ समीकरणमा सहभागी भएको ती नेताले बताए। सूर्यविनायकमा निर्वाचित निशान ढुंगेललाई समीकरणका नेता बाबुराजा जोशीको समर्थन रहेको अहिले हल्ला चलाइएको छ।
ती नेताका अनुसार क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि नयाँ समीकरण पनि भत्किन सक्ने सम्भावना बढी छ। एक्लाएक्लै महाधिवेशन प्रतिनिधि निर्वाचित हुने सम्भावना नरहेपछि नेताहरुले नयाँ समीकरण निर्माण गरेको उनको भनाइ छ।

‘क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नयाँ समीकरण निर्माण भएको हो’, उनले भने, ‘महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि जिल्ला अधिवेशनको लागि फेरि नयाँ नयाँ समीकरण बन्ने सम्भावना पनि उत्तिकै छ।’

नयाँ समीकरणमा अन्तरघात !

त्यस्तै मध्यपुर थिमि नगरपालिकामा पनि समीकरणमै अन्तरघात भएको नेताहरुले निष्कर्ष निकालेको छ। यहाँ भएको नगर अधिवेशनमा पनि ४९ मत बदर भएको थियो। बदर मत नगर सभापति निर्वाचित हरिदास प्रजापतिको पक्षमा थियो। नयाँ समीकरण बनेसँगै यहाँ देउवा गुट अत्यन्त कमजोर बनेको थियो। जसले गर्दा देउवा गुटका सभापति उम्मेदवार सुरेन्द्र श्रेष्ठले ८५ मत पाउँदा विजेता हरिदासले १९० मल ल्याए। यहाँ समीकरणका उम्मेदवार विजयी भएरमात्रै नगर अधिवेशनमा भएको अन्तरघात चर्को गरी मुखरित नभएको मध्यपुर थिमीका एक कांग्रेस नेताले सुनाए।

‘मध्यपुर थिमिमा देउवा गुटको मत जम्मा ८० हाराहारी थियो’, ती नेताले भने, ‘तर उसले ८५ मत ल्यायो। त्यसमाथि ४९ मत बदर निस्कियो। त्यसैले यहाँ पनि नयाँ समीकरणभित्र इमानदारिता देखिएन।’

ती नेताका अनुसार ८० को हाराहारीमा मत आउने आँकलन गरेका देउवा गुटले ८५ मत आउनु नै आफूहरुको नैतिक जीत भएको बताएको थियो।

‘धन्न समीकरणका उम्मेदवार विजयी भए’, उनले भने, ‘नत्र समीकरणभित्र अन्तरघात भएको भनी मारामार भइसक्थ्यो।’

चाँगुनारायणमा नयाँ समीकरणले आफ्नै नेता कार्यकर्ता जोगाउन सकेनन्। यहाँ पनि नयाँ समीकरण बलियो अवस्थामा थियो। तर आफूले तयार गरेका शिवहरि केसीले अन्तिम समयमा देउवा पक्षबाट उम्मेदवारी दर्ता गरेपछि नयाँ समीकरणले चिल खायो। हतारहतार समीकरणले गोपाल पाैडेलको नेतृत्वमा प्यानलै उम्मेदवारी दर्ता गरे पनि आफ्ना कुनै पनि उम्मेदवारलाई जीत दिलाउनबाट समीकरण असफल भयो। उसले पहिल्यै आफ्नो पक्षको नगर सभापति भनेर शिवहरि केसीलाई नेता कार्यकर्तासामु अघि सारेको थियो। केसीले त्यसैको फाइदा उठाएर समीकरणका नेता–कार्यकर्ताहरुको मत आफूतिर तान्न सफल भए।

समीकरणमा भएको अन्तरघातको छानबिन सुरु

सूर्यविनायक र मध्यपुर थिमि नगर अधिवेशनमा अन्तरघात भएको आवाज उठेपछि त्यसको छानबिन अघि बढाइएको समीकरणका नेता राजनकाजी त्वातीले जानकारी दिए। उनले समीकरणका नेताहरुबीच नै एकापसमा आरोपप्रत्यारोपको स्थिति आएपछि नगर अधिवेशनमा भएको भनिएको अन्तरघातको छानबिन अघि बढाइएको सुनाए।

तर बजारमा हल्ला भएजस्तो नयाँ समीकरणमा कुनै खटपट नभएको उनले बताए। ‘बजारमा हल्ला भएजस्तो नयाँ समीकरणमा कुनै खुटपट छैन’, नेता त्वातीले भने, ‘हामी प्रदेश र क्षेत्रीय अधिवेशनको लागि साझा उम्मेदवार तय गर्न व्यस्त छौं।’

नयाँ समीकरणका नेता एवं वर्तमान जिल्ला सचिव उद्धव सिलवालले पनि समीकरणमा त्यस्तो कुनै वैमनस्य उत्पन्न नभएको सुनाए। उनले निर्वाचनमा हारजीत हुनु स्वाभाविक भएको बताए।

निर्वाचनमा भाइ पराजित भएपछि दाजु कविर राणा सुरुमा अलि बढी जोशमा आएको सचिव सिलवालले बताए। ‘निर्वाचनमा भाइ हारेपछि उहाँ (कबिर राणा) अलि बढी जोशिएर आउनुभएको मात्र हो’, सचिव सिलवालले भने, ‘अहिले शान्त भइसक्नुभएको छ। समीकरणका त्यस्तो खटपट केही छैन।’

नयाँ समीकरणका अगुवा नेता विनोदप्रकाश कायस्थले जिल्ला अधिवेशनसम्म एक भएर जाने उद्देश्यले नयाँ समीकरण बनेको बताए। त्यसैले एकदुइटा हारजीतमै समीकरणभित्र खटपट नहुने उनको जिकिर थियो। ‘पार्टीभित्र व्यक्तिगत गुनासो आइरहन्छन्’, नेता कायस्थले भने, ‘तैपनि भएका कमीकमजोरीको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्छ। मुख्यतः पार्टी निर्माणको कुरा हो।’

उनले धेरै मत भएर पनि नयाँ समीकरणको उम्मेदवार पराजित हुनुमा धेरै फ्याक्टरले काम गरेको जिकिर गरे। सत्ताको दुरुपयोग र अन्य चलखेलले नयाँ समीकरणका दुई उम्मेदवार पराजित भएको नेता कायस्थको बुझाइ छ।

उनले यसपालि भक्तपुरमा नयाँ समीकरणकै नेतृत्व आउने दावीसमेत गरे। यसैका लागि नयाँ समीकरण बनाइएको उनको स्पष्टोक्ति थियो। ‘हिजोको नेतृत्वले पार्टी त कब्जा ग¥यो तर पार्टीलाई चलायमान बनाउन सकेन’, जिल्ला सभापतिका आकांक्षीसमेत रहेका नेता कायस्थले भने, ‘पार्टी बलियो स्थितिमा हुँदाहुँदै स्थानीय, प्रदेश र संघको निर्वाचनमा नराम्ररी पराजित भयो। यस हिसाबले वर्तमान जिल्ला नेतृत्वले पार्टीमा पुनः नेतृत्वको दावी गर्नु राजनैतिक रुपले अनैतिक हुन्छ।’

‘देउवा प्रवृत्ति भक्तपुर कांग्रेसको लागि पनि समस्या’

अहिलेको भक्तपुरको पार्टी नेतृत्व पार्टीमा कब्जा जमाएर धनवाद, डनवाद, गुटबन्दी, ठेक्कापट्टा र आर्थिक शुभलाभमै रमाएको नेता कायस्थको आरोप थियो। यो नै देउवा प्रवृत्ति भएको उनको आरोप थियो। जुन सिंगो पार्टी र देशको लागि घातक भएको नेता उनको भनाइ छ।

‘जसरी केन्द्रमा देउवा प्रवृत्ति पार्टीको लागि घातक छ, त्यसैगरी भक्तपुरमा पनि देउवा प्रवृत्ति नै समस्या हो’, नेता कायस्थले थपे, ‘यो प्रवृत्तिले पार्टी धराशायी हुन्छ। यस प्रवृत्तिलाई अहिलेको अधिवेशनमा ठेगान लगाउन सकिएन भने कांग्रेस पार्टी सकियो।’

त्यसैले वर्तमान असफल नेतृत्वलाई विस्थापन गर्दै सुदृढीकरण अभियान सञ्चालन गरेर पार्टीलाई चलायमान बनाउन, पार्टीको पफर्मेन्स चुस्तदुरुस्त बनाउन र भिजनरी नेतृत्व स्थापित गर्न नयाँ समीकरण बनेको उनले जिकिर गरे।

भक्तपुरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला गुटका मानिने नेपाल तरुण दलका पूर्वअध्यक्ष कायस्थले नयाँ समीकरणको बिजारोपण गरेका थिए। जसमा वरिष्ठ पत्रकार राणासमेत जोडिए। त्यस्तै उक्त समीकरणमा शेरबहादुर देउवा पक्षीय मानिने नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी र पूर्वजिल्ला सभापति गणेशमान चक्रधरसमेत समेटिए।

त्यस्तै देउवा पक्षकै प्रकाशमान सिंह पक्षीय अष्टकुमार कवे, विमलेन्द्र निधि पक्षीय राजनकाजी त्वाती र कृष्णप्रसाद सिटौला पक्षका पूर्वजिल्ला सभापति महेश श्रेष्ठसमेत नयाँ समीकरणमा जोडिएपछि भक्तपुरमा शेरबहादुर देउवा पक्षका दुर्लभ थापाले हिजोका सहयात्रीसमेत गुमाउनु पर्‍यो। बाबुराजा जोशी, गणेशमान चक्रधर र राजनकाजी त्वाती हिजो दुर्लभ थापाकै सहयात्री थिए। उनीहरुले जिल्ला सभापति नसुध्रिँदा पार्टी नै नजोगिने गरी अप्ठ्यारो अवस्थामा पुगेकाले पार्टी र पार्टीको साख जोगाउन आफूहरु विद्रोह गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको बताउने गरेका छन्।

जोशी, चक्रधर र त्वाती नयाँ समीकरणमा गएपछि वर्तमान जिल्ला सभापति दुर्लभ थापालाई उपसभापति हरिप्रसाद नेपाल, प्रदेश सांसद कृष्णलाल भँडेल, पूर्वजिल्ला सचिव जगन्नाथ कार्की, जिल्ला सदस्य राजाराम खड्काले साथ दिइरहेका छन्।

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्