प्रथम वागेश्वरी कप फुटबल

जब सेनाका गणपति मैदान छिरे…..

नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा नेपाली सेनाको भैरवप्रसाद गणविरुद्ध युनाइटेड क्लवको खेल हुँदै थियो। नेपालगञ्ज–२०, राँझामा रहेको भैरवप्रसाद गणका गणपतिसहित ठूलो संख्या बाजा लिएर रंगशालामा प्रवेश गरे। खेल सुरु भयो। नेपाली सेनाको बाजागाजा र हुटिङ सुरु भयो। खजुरा बीगाउँका युवा सम्मिलित युनाइटेड क्लवले आर्मीलाई टक्कर दिइरहेको थियो। दुवै पक्षले मध्यान्तरसम्म राम्रा अवसर खेर फाले तर गोल गर्न सकेनन्।

भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की रंगशालाको भीआईपी कक्षमा बसेर आफ्ना खेलाडीको हौसला बढाइरहेका थिए। आर्मीका खेलाडीले बल अगाडि बढाएपछि बाजागाजा र हुटिङ चर्किन्थ्यो। रंगशाला गुञ्जयमान हुन्थ्यो।

खेलको ५६ औं मिनेटमा आर्मीका खेमराज शर्माले गोल गरे। आर्मीले अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की जर्सी लगाउन अगाडि बढे। उनी मैदान प्रवेश गर्ने तयारीमा लागे। नभन्दै १० नम्बरको जर्सी लगाएर गणपति कार्की मैदान छिरे।

गणपति नै मैदान छिरेपछि आर्मीका खेलाडीको हौसला अझ बढ्यो। फलस्वरुप संगम चौधरीले ६१ मिनेटमा आमीको लागि एक गोल थपे। ६८ औं मिनेटमा पुनः खेमराजले दोस्रो गोल गर्दै आर्मीलाई ३–० गोलको जीत दिलाए। आर्मीका खेलाडीमा जीतको खुसी छायो।

करिब एक दशक त्रिभुवन क्लवबाट आर्मीको फुटबल टीमको कप्तानी गरेका प्रमुख सेनानी कार्कीको फुटबल क्रेजले गर्दा नै नेपालगञ्ज रंगशालाको मुहार फेरिएको छ। दुई वर्षदेखि सरसफाइ नभएर झाडीमा रुपान्तरित रंगशालाको कार्कीले सेना लगाएर सफा गरिदिए। मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जलाई व्यक्तिगत रुपमा घाँस काट्ने मेसिन उपलब्ध गराए उनले।

कार्कीको अग्रसरतामा रंगशालाको मैदान फुटबल खेल्न लायक भयो। परिणामस्वरुप आठौं राष्ट्रिय प्रतियोगितापछि पहिलोपटक नेपालगञ्ज रंगशालामा अहिले क्लवस्तरीय फुटबल प्रतियोगिता भइरहेको छ।

रोयल नेपालगञ्ज फुटबल क्लवले आयोजना गरेको प्रतियोगितामा १४ वटा क्लवले भाग लिएका छन्। आर्मीको भैरवणप्रसाद गणले सोमबार बिहान पहिलो जीत निकालेको छ। सोमबारको खेलमा आर्मीका युद्ध शाही म्यान अफ म्याच भए। उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितीय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए।

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्