सन्दर्भ कोप २६

इटालीको ‘प्रि-कोप’ सम्मेलनमा नेपाली जलवायु विज्ञको अनुभव

नेपालकाे हिमाली क्षेत्र मुस्ताङ। तस्बिर : वर्षा शाह

काठमाडौँ – जलवायु परिवर्तनविरुद्ध तत्काल र प्रभावकारी विश्वव्यापी कार्यक्रमको पक्षमा वकालत गर्दै आएकी स्वीडिस अभियन्ता ग्रेता थनबर्गले गएको हप्ता विश्वका नेताहरुको तिखो आलोचना गरिन्। उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि प्रयास गर्ने भन्दै फोस्रा आश्वासनमात्रै दिएको भन्दै खरो आलोचना गरिन् विश्व नेतृत्वको।

उनले इटालीमा भएको ‘युथ४क्लाइमेट समिट’ मा गरेको ‘ब्ला ब्ला ब्ला’ सम्बोधनलाई जलवायु परिवर्तनका सम्बन्धमा विश्वका सरकारहरुको भनाइ र गराईबीचको बेमेलमाथिको ‘झापड’ का रुपमा लिइएको छ।

इटालीका जलवायुमन्त्री रोर्बेतो चिङ्गोलानीले ग्रेताले गरेको आलोचना स्वीकार गर्ने बताएका थिए।

जलवायु अभियन्ता थनबर्ग, युगाण्डाकी भेनेरा नाकाटेसहित विश्वका १९० देशका करिब ४०० जना युवाहरु मिलानमा भेला भएका थिए सो सम्मेलनका लागि। उनीहरुले उत्सर्जन न्यूनीकरणको प्रस्ताव पनि पेश गरे। त्यसलगत्तै विभिन्न देशका जलवायुसम्बन्धी मन्त्रीहरुको सम्मेलन प्रि–कोप २६ मिलानमै भयो।

इटालीमा भएको प्रि–कोप २६ मा सहभागी हुनेमध्ये एक हुन् जलवायु परिवर्तनका जानकार जलवायु विश्लेषक मञ्जीत ढकाल। ‘म नेपाल सरकारको प्रतिनिधिका रुपमा नभई अतिकम विकसित राष्ट्रहरुको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय छलफलको सल्लाहकारका रुपमा सहभागी भएको हुँ। मैले युवाहरुको कुरा सुन्ने तथा मन्त्रीस्तरीय छलफलमा अतिकम विकसित देशहरुको माग र अवस्थाहरुबारे सहकार्यमा रहेर काम गर्ने मौका पाएँ।’

अतिकम विकसित देशको तर्फबाट रुवान्डाकी वातावरणमन्त्री मुजावामरिया जन डी’आर्कले प्रि–कपमा धारणा राखेकी थिइन्। प्राविधिक अडान तथा विषयहरु आफूहरुले बुझाउने प्रयास गरेको जलवायु परिवर्तनविद् ढकालले बताए।

मञ्जीत ढकाल

‘कोपमा सहज होस् भनेर प्राविधिक समूहसहित मन्त्रीस्तरीय छलफल हुने गरेको छ। युवाहरुको सम्मेलन र त्यहाँ उठेका विषयहरुले मन्त्रीस्तरीय छलफलमा एजेण्डा तय गर्न थप बल पुगेको देखिन्छ’, देश सञ्चारसँग ढकालले भने, ‘विज्ञानले भनेका कुराहरु बुझाउने र राख्ने प्रयास भयो। हाम्रोतर्फबाट रुवान्डाकी मन्त्रीले माग तथा अडानहरु प्रस्तुत गर्नुभयो।’

जलवायु परिवर्तनको प्रत्यक्ष असर र जोखिममा अग्रपंक्तिमा रहेका नेपालसहितका अतिकम र टापु राष्ट्रहरुका लागि प्रभाव न्यूनीकरण, अनुकूलनका लागि हुने सबै छलफल एवम् निर्णयहरु महत्वपूर्ण हुन्छन्।

‘जलवायुसम्बन्धी छलफलहरुमा सबैका अडान वा मागहरुमा केही तहको कम्प्रमाइज गरेर सहमति खोजिन्छ। तर हामीले सम्झौता गर्नु भनेको आउँदो पुस्ताको भविष्यमा सम्झौता गर्नु हो। अतिकम विकसित देशको जीवनस्तरमा सम्झौता गर्नु हो। त्यो अवस्थामा पुर्‍याइनु हुँदैन। हाम्रोतर्फबाट सोही अडान प्रस्तुत भएको छ’, प्रि–कोप २६ (मन्त्रीस्तरीय) छलफलमा भएको कुराकानीबारे जानकारी दिँदै जलवायु परिवर्तनविद् ढकालले भने।

जलवायु परिवर्तनका सम्बन्धमा हालसम्मको प्राविधिक ज्ञानलाई नेतृत्व तहलाई बुझाउने र त्यसअनुसारका न्यूनीकरण र अनुकूलन नीतिका लागि सहयोगी भूमिकाको प्रयासमा आफूहरु रहेको ढकालले बताए। उनले भने, ‘विज्ञानले भनेको कुरा भनेका हौँ, अडानका लागि अडान होइन। हाम्रा देशहरुले पहिलेदेखि नै जलवायु परिवर्तनको प्रभाव भोगेका हुन्। जलवायु परिवर्तनको प्रकोप पछिल्लो तीन महिनामा जर्मनी, चीन, अमेरिका, क्यानडासहितका विकसित देशमा पनि बाढी, अत्यधिक गर्मी, भलबाढीका रुपमा देखियो। त्यसले विकसित देशहरुलाई पनि थप हल्लाएको देखियो सम्मेलनको क्रममा।’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा हुँदैछ। कोपको अर्थ कन्फरेन्स अफ पार्टिज हो। सो सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क सन्धिमा हस्ताक्षर गर्ने देश सहभागी हुन्छन्। सन् १९९४ मा हस्ताक्षर भएकाे यो सन्धिको नेपाल पक्ष राष्ट्र हो।

नेपालले कोप २६ मा लस एण्ड ड्यामेज (क्षति र नोक्सानी) तथा अनुकूलनलाई प्रमुख रुपमा उठाउने गरी तयारी गरिरहेको छ। तर ढकालका अनुसार लस एण्ड ड्यामेज र अनुकूलनमात्रै प्राथमिकतामा पर्नु हुँदैन।

‘नेपालसहितका अतिकम विकसित तथा जलवायु परिवर्तनको प्रभाव पर्नेमा सबैभन्दा अघि रहेका देशहरुलाई अनुकूलनका लागि सहयोगको खाँचो पर्छ। तर हामीहरुले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासहरु गरिरहेका छौँ, त्यसलाई पनि प्राथमिकतामा राखिनु पर्छ’, ढकालले भने, ‘दायित्व हामीले लिनुपर्छ र लिइरहेका पनि छौँ। अन्तर्राष्ट्रिय मञ्चमा हामीले गरिरहेका कुराहरु प्रस्तुत गरेर विकसित तथा ठूला अर्थतन्त्र भएका देशहरु जो कार्बन उत्सर्जनमा अग्रपंक्तिमा छन्, उनीहरुलाई बाध्य बनाउन सकिन्छ।’

हालै सार्वजनिक भएको जलवायु परिवर्तनसम्बन्धी आइपिसिसीको प्रतिवेदनअनुसार पृथ्वीको तापक्रम औद्योगिककालयता करिब १.१ डिग्री सेल्सियसले बढेको छ। सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताअनुसार विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य छ। तर युएनएफसिसिसीले हालै सार्वजनिक गरेको एनडिसी सिन्थेसिस रिपोर्टअनुसार प्रस्तावित प्रतिबद्धता कार्यान्वयन भएको अवस्थामा पनि कार्बन उत्सर्जन सन् २०१० को तुलनामा २०३० मा १६ प्रतिशतले बढ्ने देखिएको छ।

‘विज्ञानले तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्न सन् २०३० सम्ममा कार्बन उत्सर्जन ४५ प्रतिशतले घटाउनु पर्छ भन्छ। युएनएफसिसिसीको प्रतिवेदनले हामी सही बाटोमा छैनौँ भन्ने देखाएको छ’, ढकालले भने।

उनले भने, ‘तापक्रम घटाउने एउटै उपाय भनेको धेरै कार्बन उत्सर्जन कम गर्नु नै हो। धैरै कार्बन उत्सर्जन गर्ने राष्ट्र र विकसित राष्ट्रहरुले कस्तो योजना प्रस्तुत गर्छन् भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण छ। त्यस्तै महत्वपूर्ण हामीले आफ्नै तहमा गर्ने न्यूनीकरणका प्रयासहरु पनि हुन्। हाम्रो ध्यान त्यसमा पनि हुनु पर्छ। तापक्रम सीमित गर्न सकिएको खण्डमा अनुकूलनका लागि लाग्ने खर्च कम हुन्छ। लामो समयसम्म अनुकूलन गरिरहनु पर्दैन।’

जलवायु परिवर्तनविद् ढकालले भने, ‘जलवायु परिवर्तनका कारण निम्तिरहेका समस्याको स्थायी समाधान कार्बन उत्सर्जन कटौती गर्ने नै हो। हामीले पनि उत्सर्जन कटौतीको जिम्मेवारी लिइनु पर्छ र त्यसका कारण हुने आर्थिकसहितका मुनाफाको कुरा उजागर गरिनु पर्छ।’

जलवायु परिवर्तनको दायित्वबाट कोही पनि भाग्न नमिल्ने वैज्ञानिकहरुले बताइरहेका छन् विभिन्न मञ्च तथा अध्ययनहरु मार्फत्। ठूला अर्थतन्त्र र विकसित देशहरुले कार्बन उत्सर्जन कटौतीसँगै अनुकूलनका लागि आर्थिक दायित्व लिनुपर्ने र सबै देशहरुले प्रभाव न्यूनीकरणका लागि जलवायु अनुकूल काम गर्नुपर्ने जिम्मेवारी छ। तर अझै पनि जिम्मेवारी र आर्थिक दायित्वलाई लिएर विकसित र ठूला अर्थतन्त्र भएका विकासोन्मुख देशहरुबीच फरक मत रहेको छ।

आइपिसिसीको प्रतिवेदनमा समूद्रको सतह बढ्नुमा ४२ प्रतिशत भूमिका आइसबर्ग (हिउँका ढिक्का) र हिमाली क्षेत्रका हिमनदी पग्लिनु रहेको उल्लेख छ। तापमान वृद्धि १.५ मा सीमित गर्दा पनि एकतिहाइ हिमनदीहरु पग्लिने अध्ययनमा उल्लेख छ। सो प्रतिवेदनले विश्वव्यापी रुपमा चासो र चिन्ता बढाएको र त्यसको झलक प्रि–कोप २६ मा देखिएको ढकालले बताए।

प्रस्तुत छ, जलवायु परिवर्तनविद् मञ्जीत ढकालसँग जुममार्फत गरेको कुराकानीको सम्पादित भिडियोः

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्