दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ।

बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्।

पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप र्‍याली निकालेको बताए।

‘बलिप्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश हामीले दिन खोजेका हौँ,’ उनले भने,‘पशु चौपाया पनि हामी जस्तै हुन्। उनीहरुलाई मार्न पाइँदैन।’

सत्यसाई चलचित्र मन्दिरबाट सुरु भएको र्‍यालीले सब्जीमण्डी, कान्छि रोडदेखि राजमार्ग भएर रातो डाँडामा पुगेको थियो। शान्ति र्‍याली निकालिएको हो।

यस्तै पूर्ण ब्रह्म कवीर उपासक समाजले लमहीमा रक्तदानसमेत गरेको छ। ३० जनाले रक्तदान गरेका छन्।