जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ बजारमा

नेपालगञ्ज – राजनीतिक शास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन भएको छ। प्रा.डा. आचार्यले मंगलबार श्रीमती किरण आचार्यको जन्मदिन पारेर आफ्नो किताब बजारमा ल्याएका हुन्।

किताबको प्रा.डा. गोविन्दप्रसाद शर्मा घिमिरे र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विमोचन गरे। पुस्तक र प्रा.डा. आचार्यको जीवनबारेमा प्रा.डा. घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, प्राज्ञ सनत रेग्मी, पुराना वामपन्थी नेता रोमहर्ष धिताल, वरिष्ठ पत्रकार पूर्णलाल चुकेले बोलेका थिए।

प्रा.डा. आचार्यले राजनीति, प्राध्यापन र कूटनीतिमा रहेको आफ्नो लामो अनुभवलाई संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ मा समेटेका छन्।

आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन्। उनी स्वयंम् वामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन्। नेपाली राजनीतिको दुईधारका नायक बीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई पनि प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन्।

२००७ साल साउन ५ गते दाङको उवाकोटमा जन्मिएका आचार्यले प्रसेनीको स्कूलबाट अक्षर चिने। पाँच कक्षा पढ्न महेन्द्र हाइस्कूल, तुलसीपुर पुगेका आचार्यले पद्मोदय पब्लिक हाइस्कूलबाट टेष्ट पास गरे। यतिबेलासम्ममा उनी राजनीतिमा लागिसकेका थिए। पद्मोदयमा पढ्दा नै वि.सं. २०२४ सालमा पञ्चायती शासकको धरपकडकबाट बच्न भागेर भारतको बनारस पुगे। बनारसको आदर्श कलेजबाट आइएसी गरेपछि वि.सं. २०३० सालदेखि काठमाडौँमा विश्वविद्यालयको पढाइ सुरु गरे।

आचार्यको बनारस बसाइमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसँग संगत भयो। पुष्पलाल श्रेष्ठबाट उनले कम्युनिष्टको सदस्यता लिए। दाङको कम्युनिष्ट आन्दोलनलाई प्रत्यक्ष नियालेका आचार्यले पूर्वमा रहेको तत्कालिन कोर्डिनेसन कमिटि (कोके) सँग सम्बन्ध स्थापित गराउन मद्दत गरे। बनारसमा रहँदा आचार्यले बीपी कोइरालालाई भेटेर नेपालको राजनीतिबारे समीक्षासमेत गरेका थिए।

वि.सं. २०३२ सालमा अनेरास्ववियु मध्यमाञ्चलको अध्यक्ष बनेका आचार्यले विद्यार्थी आन्दोलनलाई मूल पार्टीसँग जोड्न धेरै जिल्लाहरुको भ्रमण गरे। २०३७ साल वैशाखमा किरण पौडेलसँग विवाह बन्धनमा बाँधिएसँगै २०३९ पुस ११ गतेदेखि महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन सुरु गरे। ३४ वर्षअध्यापन गरेर हाल उनी सेवानिवृत भएका छन्।

आचार्यको पुस्तकमा दाङको कम्युनिष्ट आन्दोलन, दाङ, बनारस र तत्कालीन कोर्डिनेशन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलन र विश्व विद्यालयभित्रको राजनीतिसँग सम्बन्धित संस्मरण लेखेका छन्।

त्यस्तै दलहरुमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कुटनीति सम्बन्धबारे आफ्ना अनुभूति उनले उल्लेख गरेका छन्। नेताहरु पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मरिचमान श्रेष्ठ, सीपी मैनालीजस्ता नेतासँग आचार्यको संगत, भोगाइ र बुझाइ पनि पुस्तकमा पढ्न सकिन्छ।

क्रियटिभ बुक्सले आचार्यको पुस्तकलाई प्रकाशन गरेको हो। क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले समाजका प्रवुद्ध व्यक्तिको जीवन भोगाइबारेको पुस्तक बाहिर ल्याउन पाउँदा खुशी लागेको बताए।

पुस्तकको सहलेखन पत्रकार कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका छन्। क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ।

‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन हो।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्