भारतीय पर्यटक आएसँगै सिमकोटका होटलमा बढ्यो चहलपहल

फाइल फोटो।

सिमकोट– नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको ‘दूरदर्शन’ गर्ने क्रम सुरु भएसँगै सिमकोटका होटलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल सुरु भएको छ।

दुई वर्ष लगातार बन्द रहेका होटलहरु पर्यटकको आगमनसँगै खुल्न थालेपछि व्यवसायीले खुसी व्यक्त गरेका छन्।

होटल कैलाशका सञ्चालक रिन्जिन लामाले दुई वर्षपछि होटलमा पर्यटक आएको जानकारी दिए। यो अवधिमा बन्द अवस्थामा रहेको होटल खोलिएको बताउँदै उनले होटलमा चहलपहल सुरु भएको बताए।

लामो समयपछि नौ जना भारतीय पर्यटकको टोली लाप्चाबाट मानसरोवर कैलाशको दर्शनका लागि सिमकोट आउँदा सुनसान होटल खुलेको उनले बताए।

यस्तै होटेल विजयका सञ्चालक गोर्खबहादुर लामाले सदगुरु लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आएयता होटेल भरिभराउ हुन थालेको बताए। होटलमा सात वटा पर्यटकको टोली आइसकेको छ। उनले होटेल व्यवसाय सुनसान भएको बेला पर्यटक आउन थालेसँगै चहलपहल बढ्न थालेको बताए।

सिमकोट आइपगेका पर्यटकहरु एक रात सिमकोटमा बास बस्ने गर्छन्। एक रात बास बसेका पर्यटकले कोठाअनुसार दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिर्ने गरेका छन्।

बाह्यसँगै आन्तरिक पर्यटकको संख्यामा पनि बृद्धि हुँदै गएको छ। कोरोना कहर कम हुनु र मौसम पनि सफा भएका कारण पर्यटकहरुको संख्यामा बृद्धि भएको हो।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्