भोटोका लुगा: नेपाली डिजाइन, राम्रो क्वालिटी

काठमाडौँ– टंगालकी मिना शेर्पा थापाथलीस्थित आफ्नो कार्यालय जान कमलपोखरीको बाटो हुँदै हिँड्ने गर्छिन्। हिँड्ने क्रममा उनको नजर करिब एक वर्षअघि ‘भोटो नेपाल’मा पर्‍यो। भोटो नेपाललाई सुरुमा उनले बाहिरैबाट नियालिन्।

बाहिरबाट हेर्दा उनलाई भोटो नेपालका लुगा निकै राम्रा लागे। ‘बाहिरबाट हेर्दा लुगा राम्रो लाग्यो’, उनले भनिन्, ‘त्यसपछि आफूलााई रोक्नै सकिनँ। भित्रै गएर हेरेँ।’

जब ती लुगा उनले हेरिन्, निकै फरक पाइन्, अन्य लुगाको तुलनामा। ‘फरक डिजाइन, क्वालिटी पनि राम्रो, मुलायम लुगा, मलाई एकदमै मन पर्‍यो। मैले किनिहालेँ,’ उनले सुनाइन्।

भोटो नेपालको लुगा लगाउँदा उनलाई लुगाको गुणस्तरका बारेमा पनि थाहा भयो। व्यापारीले आफ्नो सामान बिकाउन राम्रो गुणस्तर भएको अक्सर बताउँछन्। तर भोटो नेपालले भनेअनुसार नै लुगाको गुणस्तर एकदमै राम्रो भएको उनी बताउँछिन्।

‘सुरुमा यहाँका साहुले भन्दा मलाई पनि त्यति विश्वास लागेको थिएन। तर लुगा राम्रो लागेकाले किनेँ’, उनले भनिन्, ‘लगाएपछि थाहा भयो क्वालिटी एकदमै राम्रो छ। जसले गर्दा म भोटो नेपालमा आइरहन्छु।’

‘आफ्नो नेपाली ब्राण्डलाई पनि प्रमोट गर्नु पर्‍यो नि। कति अरुको ब्राण्ड मात्र लगाउनु। हामी नेपालीले स्वदेशको वस्तुलाई प्रोत्साहन गर्न एकदम जरुरी छ,’ उनले भोटो नेपालमा आउनुको अर्को कारण पनि खुलाइन्।

उनीसँगै किनमेलका लागि आएकी शान्ति थिङको अनुभव पनि उस्तै छ। तर नेपाली लुगा सबै नेपालीले खरिद गर्न सक्ने मूल्यमा भए अझ राम्रो हुने उनको भनाइ छ।

आफूलाई भोटो नेपालको लुगा केही महँगो लागेको उनले बताइन्। ‘क्वालिटीमा कुनै दुइ मत छैन। राम्रो क्वालिटीको राम्रो लुगा अलि सबैले मिल्ने मूल्यमा भएको भए अझ राम्रो हुन्थ्यो’, उनले भनिन्।

भोटो नेपालकी संचालक सस्मिता बिडारी भने आफूहरुले ग्राहकहरुलाई गुणस्तरीय सामान दिन खोज्दा लुगा केही महँगो भएको  बताउँछिन्।

‘भोटोमा आउने धेरैको गुनासो महँगो भयो भन्ने हुन्छ’, उनले भनिन्, ‘यसमा लाग्ने खर्च, समय, लेबर, गुणस्तर र नेपालकै रअ म्याट्रियलबाट बनेको हो। अहिले लेबरको ज्याला पनि धेरै बढेको छ। लुगा मात्र होइन हरेक कुरा महँगो भएको छ। कति लुगाहरु ह्याण्ड वर्क पनि छ। मेसिनबाट बन्ने भएको भए सस्तो हुन्थ्यो। तर हाम्रोमा पाइने अधिकांश लुगा ह्याण्ड वर्क हो।’

भोटो लुगा एकचोटी प्रयोग गरिसकेपछि महँगो भए भन्ने ग्राहक पनि फर्केर आउने गरेको सञ्चालक बिडारी दावी गर्छिन्।

भोटोमा नयाँ ग्राहकभन्दा ‘रेगुलर कष्टमर’ बढी आउने गरेको उनले सुनाइन्। ‘सुरुमा महँगो भन्नुहुन्छ। तर प्रयोग गरेपछि गुणस्तर, डिजाइन राम्रो लागेर रेगुलर नै आउनुहुन्छ,’ उनले भनिन्।

भोटोका विदेशी ग्राहक पनि रहेको उनले बताइन्। तर अहिले कोरोनाका कारणले ग्राहक घटेको उनको भनाइ छ। ‘अहिले कारोनाले गर्दा विदेशी ग्राहकहरु घटेका छन्’, उनले भनिन्, ‘उनीहरुले नेपाली लुगा मन पराएर आफ्ना लागि र उता बेच्नका लागि पनि लैजान्छन्।’

तर नेपालको सामानलाई नेपालीहरुले नै नबुझेको सस्मिताको गुनासो छ। धेरै ग्राहकहरुले उनलाई नेपालमा नभइ बाहिर (विदेश)मा व्यापार गर्न सुझाव दिन्छन्। तर उनलाई नेपालको ब्राण्ड नेपालमै चिनाउनु छ।

‘जसले लुगाको बारेमा धेरै बुझ्नुहुन्छ। उहाँहरुले नेपालमा गाह्रो छ। नेपाल बाहिर निर्यात गर्नुस् भन्नुहुन्छ। बाहिर व्यापार गर्नुपर्छ नि भन्नुहुन्छ’, उनले भनिन्, ‘तर हामीले नेपाललाई नै फोकस गरेका छौँ। किनभने नेपालको लुगा नेपालमै चिनाउने हाम्रो प्रयास हो।’

भोटो नेपालमा के–के पाइन्छ ?


‘भोटो नेपाल’ महिला–पुरुषका लागि लुगा पाइन्छन्। महिलाका लागि टप्स, सर्ट, प्यान्ट, वान पिस, फुट वेयर पाइन्छन् भने पुरुषका लागि पोलो टिर्सट, कोर्ट, पाइन्ट, सर्ट, पैजामा लगायतका लुगा पाइन्छन्। ती लुगाहरु कटन, पस्मिना, कष्मिरा लगायतबाट उत्पादन गरिएको सञ्चालक सस्मिताले बताइन्। साथै भोटोमा उलनका लुगा पनि तयार गरिन्छ।

‘हामीले क्याजुअल, फर्मल, सेमीफर्मल लगायतका मोर्डन लुगा तयार गछौँ’, उनले भनिन्। ती हरेक लुगा नेपाली कच्चा पदार्थबाट उत्पादन गरिएको उनले बताइन्।

आफूहरुले कपडा, लागत तथा श्रमिकको खर्चअनुसार नै मूल्य तोकेको उनको दावी छ। लुगाको डिजाइन उनका श्रीमान् र दिदीले गरेका हुन्। सस्मिता पनि जापानबाट फेसन डिजाइनिङ गरेर नेपाल फर्केकी हुन्।

भोटो नेपालका डिजाइनहरु अन्य डिजाइनसँग मेल नखाने उनको दावी छ। ‘हामीले एउटा डिजाइन एक चोटी मात्र डिजाइन गछौँ’, उनले भनिन्, ‘अर्को चोटी उस्तै डिजाइन बन्दैन।’ भोटोमा अर्डर अनुसार पनि ‘कष्टमाइज’ गरिने उनले बताइन्।

भोटो नेपाल सञ्चालनमा आएको करिब चार वर्ष भयो। यो अवधिमा आफ्नो ब्राण्ड बनाउन निकै चुनौती खेपेको उनको भनाइ छ। मुख्य चुनौती नेपाली ग्राहकहलाई नेपाली सामानको गुणस्तर बुझाउनु रहेको उनले बताइन्।

‘ग्राहकहरुले गुणस्तरभन्दा पनि महँगो भयो भन्नुहुन्छ। राम्रो क्वालिटीको महँगो हुन्छ। साथै यसमा पनि मेहनत धेरै लागेको हुन्छ। अन्य देश जस्तो ठूला मसिनबाट एक घण्टामा हजारौँ पिस बनाउन सकिनँ। धेरै समय लाग्छ। जसले गर्दा गुणस्तर बन्छ र महँगो पनि हुन्छ’, उनले भनिन्।

महंगो भए पनि भोटोका लुगा निकै टिकाउ हुने उनी बताउँछिन्।

यस्तै बाह्य देशबाट आयातित वस्तुभन्दा नेपालमा उत्पादन हुने वस्तु अलि महँगो भएकाले पनि ग्राहकलाई तान्न अलि गाह्रो भएको उनको भनाइ छ।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्