काठमाडौँ – दसैँ नजिकिएसँगै विशेष पूजाका लागि मूर्ति बनाउन व्यस्त छन् कालिगढहरु । बिहीबारदेखि सुरु हुने बडा दसैँमा विभिन्न स्थानमा मूर्ति बनाउने काम भइरहेको छ ।

शहर बजारमा किनमेल गर्नेको घुईँचो बढ्दो छ । यो दसैँको अर्को रौनक हो, नवदुर्गाका बेला विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा । त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ ।

हरेक वर्ष दुर्गा पूजाका लागि चाहिने देवी देवताका मूर्ति बनाउनका लागि नेपालकै तराई तथा भारतबाट मूर्ति बनाउने पेशामा रहेका कालिगढहरु काठमाडौँ उपत्यका आइपुग्छन् ।

देशका अरु शहर जस्तै काठमाडौँका विभिन्न ठाउँमा अहिले दुर्गा पूजाका लागि चाहिने माटोका मूर्तिहरुको निर्णणमा विभिन्न समूह जुटेका छन् ।

ललितपुरको कुपण्डोलमा पनि मूर्ति बनाउने समूह विभिन्न देवी देवताका मूर्ति बनाउन व्यस्त छन् । विशेष गरी नवदुर्गाका लागि चाहिने देवीका मूर्तिहरु बनाइरहेका छन् । कालिगढले दुर्गा, सरस्वति, लक्ष्मी, कार्तिक, गणेशसहितका देवी देवता तथा महिसासुर, शुम्भ निशुम्भसहितका दैत्यहरुको पनि मूर्ति बनाइएको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुपण्डोलमा मूर्ति बनाइरहेकाहरुको केही तस्बिर खिचेका छन्।