रक्तसञ्चार केन्द्रको बैकल्पिक व्यवस्था गर्न बाँके रेडक्रसको माग

नेपालगञ्ज– नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताल हाताभित्र रहेको रक्तसञ्चार केन्द्र हटाउने भए विकल्प दिन आग्रह गरेको छ। अस्पतालले १५ दिनभित्र रक्तसञ्चार केन्द्रको व्यवसायिक भवन हटाउन पत्र पठाएपछि रेडक्रसले त्यसप्रति असन्तुष्टि जनाउँदै विकल्पको माग गरेको हो।

रेडक्रसले बुधबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्थापछि मात्र भवन तोडफोड गरिदिन आग्रह गरेको छ। रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले भने, ‘रक्तसञ्चार केन्द्रविना अस्पतालको परिकल्पना गर्न सकिँदैन। रक्तसञ्चार केन्द्र त्यहाँबाट हटाउने हो भने तपाईंहरुले पनि विकल्प दिनुस्। हामी पनि विकल्प खोज्छौं। १५ दिनभित्र नै खाली गर्न सम्भव छैन।’

भेरी अस्पताल परिसरमै रक्तसञ्चार केन्द्र रहेको छ। अस्पतालले रक्तसञ्चार केन्द्र भवन रहेको ठाउँलगायत अगाडिका सटर खाली गरेर स्तरवृद्धि र सौन्दर्यकरण गर्न खोजेको छ। अस्पताल परिसरमा रेडक्रसको दुईतले रक्तसञ्चार केन्द्र र त्यसको छेउमै ६ वटा सटरसहितको एकतले भवन रहेको छ। त्यहाँबाट रेडक्रसले वार्षिक १२ लाख ७२ हजार रुपैयाँ संकलन गर्दै आएको छ। यो पैसा रक्तसञ्चार सेवाको व्यवस्थापनमा खर्च भइरहेको रेडक्रस बाँकेले जनाएको छ।

आफ्नो जग्गामा रेडक्रसले भवन र सटर बनाएर पैसा उठाइरहेकोप्रति अस्पतालले आपत्ति जनाउँदै आएको छ। बाँकेमा विसं २०३३ सालदेखि रगत संकलन तथा आपूर्ति हुँदै आएको छ। २०३३ सालमा सात युनिट रगत संकलन तथा आपूर्ति गरेको रक्तसञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको बाँके रेडक्रसले जनाएको छ। रक्त सञ्चार केन्द्रमा करिब आठ हजार स्वयंसेवी रक्तदाता (संस्थागत र व्यक्तिगत) आवद्ध रहेका छन्।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्