पक्राउ परेको २४ घण्टापछि छुटिन् प्रियंका गान्धी, मिल्यो मारिएका किसान परिवारलाई भेट्ने अनुमति

भारतको उत्तर प्रदेश राज्यको लखीमपुर खीरीमा मारिएका किसान परिवारलाई भट्न जाने क्रममा पक्राउ परेकी कांग्रेस नेता प्रियंका गान्धी  रिहा भएकी छन्।

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिवसमेत रहेकी गान्धीलाई पक्राउ गरिएको २४ घण्टापछि प्रहरीले रिहा गरेको हो। उनलाई लखीमपुर जाने अनुमतिसमेत दिइएको छ।

उनलाई प्रहरीले सोमबार बिहान सितापुरबाट हिरासतमा लिएको थियो भने मंगलबार पक्राउ गरिएको थियो।

उनले किसानमाथि गाडी चढाउने मन्त्रीको छोरा खुलेयाम घुमिरहेको तर न्यायको पक्षमा आवाज उठाउन‍ेलाई कैद गरिएको भन्दै सामाजिक सञ्जालमार्फत भाजपा सरकारको चर्को आलोचना गरेकी थिइन्।

उत्तर प्रदेश सरकारले प्रियंकाका साथै राहुल गान्धीलाई पनि लखीमपुर जाने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रका छोरा आशिषले लखीमपुरमा आन्दोलनरत किसानमाथि गाडी चढाउँदा आठ जनाको मृत्यु भएको थियो।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्