सीके राउतको पार्टीद्वारा अख्तियारको बर्दिबास कार्यालय घेराउ

जनकपुरधाम – डा सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ।

जनमत पार्टीका नेता–कार्यकर्ताले बर्दिवास पुगी बुधबार अख्तियारको कार्यालय घेराउ गरेका हुन्।

अख्तियारको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीपश्चात् फाइल नियन्त्रणमा लिएपछि अनुसन्धान गर्न दबाब दिँदै जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेको हो।

‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘मधेसी जनता के भन्छ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायत नारा लगाउँदै अख्तियारको कार्यालय पुगेका थिए।

जसपाले अख्तियारको विरोधमा प्रदर्शन गरेपछि त्यसको काउन्ट दिँदै जनमत पार्टीले आन्दोलन थालेको हो। यसअघि जनमत पार्टीका कार्यकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्