‘दूरसञ्चार सेवा सबैको पहुँचमा पुग्नुपर्छ’

काठमाडौँ– दूरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

काठमाडौँमा बुधबार आयोजित ‘दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले दूरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताए।

टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारका परेको भन्दै उनले यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।
बारम्बार सेवा अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो उनले गरे।

वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले इन्टरनेट सेवालाई बढीभन्दा बढी जनताको पहुँचमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको औंल्याए। गुणस्तर सिध्याएर नाफा कमाउन नभइ सेवालाई सुलभ, सहज पहुँचमा पु¥याउनका लागि तथा सेवालाई गुणस्तरीय बनाउन प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले आफ्ना सेवालाई क्रमशः अपग्रेड गरिरहेको बताए। हाल टेलिकमले अप्टिकल फाइबरमार्फत सुविधा दिइरहेको उल्लेख गरे।

प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफूहरूले गर्नुपर्ने प्रक्रिया लामो हुँदा भनेकै बेलामा खरिद गर्न नसकेका कारण प्रतिस्पर्धा गर्न गाह्रो परेको उनको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारिता कमजोर भएको भन्दै यसको विकल्पबारे प्राधिकरण र मन्त्रालयले सोचेको बताए।

भरसक सो कम्पनीलाई राम्रो सेवा प्रवाहका लागि घच्घचाइरहेको उनको भनाइ छ। प्राधिकरणले मध्यपहाडी क्षेत्र भएर ७७ जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गरिरहेको उनले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानले सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा राम्रो नीति बन्न नसकेको बताए।

उनले विभिन्न कम्पनीले कार्टेलिङ गर्दा उपभोक्ता मारमा परेको भन्दै सरकार कार्टेलिङको सहयोगी हुन नहुने बताए। आगामी दिनमा नीति निर्माण गर्ने कुरामा सम्बन्धित विषय विज्ञको सहभागिता हुनुपर्ने उनको भनाइ छ।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्