भरियाहरुको दसैँ

‘हामीजस्ता गरिबका लागि के-को दसैँ?’

भारी बोक्दै गरेका कृष्ण बुढाथोकी।

काठमाडौँ– ‘दसैँ आयो ..! दसैँ आयो…! भन्दै भरियाहरु पिठ्यूँको भारी गन्तव्यसम्म पुर्‍याउन निकै आतुर थिए। उनीहरुलाई पनि अरुजस्तै दसैँ लागेको छ। फरक यति हो, उनीहरु पैसाका लागि भारी बोक्न महाबौद्धमा थिए भने अरु सामान किन्न।

यसपालिको दसैँ राम्रोसँग मनाउन उनीहरु दुई/चार पैसाको जोहोका लागि काममा निकै व्यस्त देखिन्थे। निकै फूर्तिला भएर एक–अर्कोसँग गर्फिँदै त कोही भीडभाड पन्छ्याउन सिट्टी (मुखबाट बजाएर) बजाउँदै हतार–हतार हिँडिरहेका थिए, कोही थकाइ मार्दै।

महाबौद्ध चोकका मन्दिरमा थकाइ मार्दै थिए, दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं–३ झ्याङका ४५ वर्षीय कृष्णा बुढाथोकी। उनी दसैं खर्च जोहोका लागि काठमाडौँ आएका हुन्। उनी काठमाडौँ आएको महिना दिन भयो। उनी अक्सर दसैंका बेला भारी बोक्ने काम गर्न काठमाडौँ आउँछन्।

‘दसैंमा खर्च चाहिन्छ। बालबच्चालाई लुगाफाटो किन्नै पर्‍यो’, उनले भने, ‘वर्ष दिनको चार्डवाड सबैको देखेर बालबच्चाले रहर गर्छन्। केही काम त गर्नै पर्‍यो।’

उनको सात जनाको परिवार छ। सबै जिम्मेवारी उनकै काँधमा छ। सोही जिम्मेवारी निर्वाह गर्न पनि उनी अक्सर दसैंमा काठमाडौँ आइपुग्छन्।

अरु बेला भने गाउँतिर खेतीपाती, वस्तुभाउबाट जिविका चलाउने गरेको उनले बताए। तर सोचेजस्तो भने कमाउन नसकिएको उनको गुनासो छ। ‘पहिलेजस्तो कमाइ छैन’, निरास हुँदै उनले भने, ‘आएको एक महिना भयो पाँच/सात हजार मात्र भएको छ। अब केही दिन काम गरेर २५/२६ गतेतिर घर जान्छु।’

कोरोना महामारीले गर्दा उनीहरुको कमाइमा पनि असर गरेको छ। सामान्य अवस्थामा दसैंका बेला राम्रो कमाइ हुने गरेको बुढाथाकी बताउँछन्। कोरोना महामारी सुरु भएपछि आफूहरुको कमाइ घटेको पनि उनले बताए।

‘पहिले राम्रो कमाइ हुन्थ्यो। तर लकडाउन भएपछि धेरै गाह्रो भयो। कमाइ पनि भएन’, उनले भने, ‘पोहोरको दसैंमा त काठमाडौँ पनि आउन पाइएन। उसै ढुङ्गा फोड्ने, खन्ने, जोत्ने, मेलापात गरेको पैसाले दसैं मनाइयो।’

यसपालीको दसैं गतवर्षको भन्दा राम्रो हुने उनी बताउँछन्। सुख–दुःख गरेर भएपनि वर्षदिनको दसैंलाई खुसी भएर मनाउनु पर्ने उनको भनाइ छ। तर उनको भनाइ र भावले मेल खाएन। सबैभन्दा धेरै मेहनतको काम गरे पनि कमाइ भने थोरै हुने कुराले उनलाई पोल्दो रहेछ।

‘जति धेरै भारी बोके पनि साहुहरुले थोरैमा काम गराउन खोज्छन्। अहिले त पहिलेजस्तो काम पनि छैन। जे पायो गर्नुपर्छ’, उनले आफ्नो दुःख पोख्दै भने, ‘महँगी बढ्यो तर हाम्रो ज्याला उस्तै छ। थोरै पैसामा नै काम गराउन खोज्छन्।’

उनको जस्तै गुनासो उनका साथी पदम बुढाथोकीको पनि छ। उनी पनि दसैंको खर्च जोहो गर्न ज्यामी काममा लागेका छन्। उनलाई पनि अरुजस्तै दसैं मनाउने रहर भए पनि आफूले सोचजस्तो कमाइ नभएकोमा उनले दुःख व्यक्त गरे।

‘वर्ष दिनको चाडवाडका लागि दुःख गर्‍यो। कमाइ हुँदैन’, उनले निकै आक्रोशित हुँदै भने, ‘कोरोनाका कारणले कति दुःख पाइयो। कसैले सहयोग गरेन। हाम्रो दुःख हामीसँगै छ। कुरा गरेर के फाइदा? दसैं हुनेहरुका लागि मात्र हो, हामीजस्ता गरिबहरुका लागि के को दसैं?’

उनीहरु त केवल प्रतिनिधि पात्र मात्र हुन्। यस्ता कयौं श्रमिक छन्। जसलाई दैनिक मजदूरी गरेर एक छाक टार्न पनि धौँ–धौँ पर्छ। हुने वर्गका लागि दसैँंउत्साहको पर्व, नहुनेका लागि निराशाको।

असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्