बौद्धिक अपांगता भवन प्रयोगविहीन

तम्घास – नियमित सञ्चालन खर्च अभावमा बौद्धिक अपांगता भवन प्रयोगविहीन बनेको छ। बौद्धिक अपांगता अभिभावक संघले मानसिक तथा बौद्धिक अपांगताको उचित व्यवस्थापनका लागि रेसुंगा नगरपालिका–९ मा ०७४।७५ मा सो भवन बनाएको थियो।

तम्घासकै ईश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाको नाममा पास गराएका थिए। पाँच वर्षमा ३९ लाख खर्च गरी दुर्ई तलामा पाँच कोठा र एउटा हलसहितको भवन निर्माण गरिएको थियो।

कर्मचारीको मासिक तलब, केन्द्रमा आवश्यक सामग्री खरिद, बालबालिकाको खाना–खाजा खर्चलगायत नियमित खर्च अभावमा केन्द्रलाई सञ्चालनमा ल्याउन नसकिएको संस्थाका अध्यक्ष ईश्वरी पौडेलले जानकारी दिनुभयो।

भवन बनाउन ०७१।७२ मा सहरी विकास कार्यालय पाल्पाबाट ९४ हजार ९५०, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार ६२१, पुनर्निर्माण प्राधिकरणबाट तीन लाख २२ हजार ५७ विनियोजन भएको थियो।

यसैगरी, ०७२।७३ मा तत्कालीन सांसद चन्द्र भण्डारीको संसद् विकास कोषबाट १४ लाख ६० हजार ८५१, तत्कालीन शान्ति तथा पुनर्निर्माणबाट दुई लाख, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार २३९, रेसुंगा नगरपालिकाबाट एक लाख ८९ हजार ५०९, सहरी विकासबाट ९५ हजार विनियोजन भई काम भएको थियो। हालसम्म भवनका लागि मात्रै कुल ३९ लाख नौ हजार ३१५ खर्च भएको संघका पूर्वअध्यक्ष रघुनाथ मरासिनीले बताए।

डे केयर सेन्टर र पुनःस्थापना केन्द्रमा १५–१५ गरी कुल ३० जनासम्मको क्षमता छ। संघमा रेसुंगा नगरपालिकाले फरक क्षमता भएका बालबालिका राख्नेगरी योजना बनाएको छ। नियमित कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी आवश्यक पर्छ।

बालबालिकालाई नियमित खाना–खाजा खर्चलगायत गरी मासिक एक लाख भए बौद्धिक अपांगता भएकालाई केन्द्रमा राख्न सकिने पूर्वअध्यक्ष मरासिनीले जानकारी दिए। यसका लागि कम्तीमा पाँच लाखको अक्षयकोष निर्माण गर्ने र यसैबाट कार्यालय सञ्चालन गर्ने तयारी गरे पनि कोषमा पनि रकम जम्मा नभएको उनले बताए।

अहिलेसम्म कोषमा एक लाख ४० हजार जम्मा भएको छ। रेसुंगा नगरपालिकाका उपप्रमुख सीता भण्डारीले नगरपालिकाले आर्थिक सहयोग गरिरहेकाले अझै धेरै सहयोग गर्ने बताए। व्यवस्थापन र सञ्चालनका लागि समितिले काम गर्ने भएकाले आफूहरूले आर्थिक सहयोग गरेको उनको भनाइ छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्