साफ च्याम्पियनसिप- नेपालसँग खेल्नुअघि भारत लगातार दोस्रो बराबरीमा रोकियो

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकासँग बराबरी खेलेको छ।

माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत भारतीय खेलाडीले श्रीलंकाविरुद्ध गोल गर्न सकेनन्। भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारत पछिल्लो नतिजापछि दबाबमा परेको छ। भारत साविक उपविजेता हो। उसले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको छ।

भारतले तेस्रो खेल शनिबार नेपालविरुद्ध खेल्दै छ। चौथो तथा अन्तिम खेल अक्टोबर १३ तारिखमा मालदिभ्सविरुद्ध खेल्ने छ।  प्रतियोगितामा ५ टोली सहभागी छन् भने लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा दुई खेल खेलेको नेपाल ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेलबाट ४ अंक भएको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। भारतको २ खेलबाट २ अंक छ। एक खेल खेलेको माल्दिभ्सले अंक जोड्न सकेको छैन भने श्रीलंकाको तीन खेलबाट एक अंक रहेको छ।

बिहीबारको दोस्रो खेलमा राति पौने १० बजे माल्दिभ्सले बंगलादेशसँग खेल्ने छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्