साफ च्याम्पियनसिप- सर्वाधिक विजेता भारतसामू लगातार बराबरीपछि पहिलो चरणबाटै बाहिरिने संकट

काठमाडौँ –  साफ च्याम्पियनसिप फुटबलको सर्वाधिक विजेता भारत जारी १३ औँ संस्करणमा पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ। प्रतियोगिताका सुरुका दुई खेलमा बराबरीमा रोकिएपछि भारतको फाइनल पुग्ने सम्भावना कमजोर बनेको हो।

पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको भारतले बिहीबार श्रीलंकासँग गोलरहित बराबरी खेल्यो। भारतले शनिबार नेपाल र मंगलबार मालदिभ्ससँग खेल्ने छ।

बिहीबारको दोस्रो खेलमा बंगलादेशले मालदिभ्सलाई हराएमा र शनिबार नेपालले बराबरीमा रोकेमा भारत पहिलो चरणबाटै बाहिरिने छ। भारतले फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध जित हात पार्नै पर्ने दबाबमा हुने छ।

बिहीबारको दोस्रो खेलमा मालदिभ्सले बंगलादेशलाई हराएमा भारतलाई केही राहत हुने छ। तर संकट भने कायमै हुने छ। आफुले बाँकी दुवै खेल जितेमा र बंगलादेश र नेपालमध्ये कम्तिमा एक टोलीले बाँकी दुवै खेल हारेमा भारत अगाडि बढ्ने सम्भावना बलियो हुने छ।

भारत साविक उपविजेता र सर्वाधिक ७ पटकको विजेता हो।  प्रतियोगितामा ५ टोली सहभागी छन् भने लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा दुई खेल खेलेको नेपाल ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेलबाट ४ अंक भएको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। भारतको २ खेलबाट २ अंक छ। एक खेल खेलेको माल्दिभ्सले अंक जोड्न सकेको छैन भने श्रीलंकाको तीन खेलबाट एक अंक रहेको छ।

बिहीबारको दोस्रो खेलमा राति पौने १० बजे माल्दिभ्सले बंगलादेशसँग खेल्ने छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्