धुलिखेल नगरपालिकाद्वारा बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन

काठमाडौँ – काभ्रेको धुलिखेल नगरपालिका बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन गर्ने दक्षिण एसियाको पहिलो सहर बनेको छ।
जलवायु परिवर्तन मानवसँगै समग्र प्राणी तथा वनस्पति जगत्का लागि घातक रहेको र जलवायु परिवर्तनको कारकका रूपमा खनिज इन्धनको अत्यधिक प्रयोग तथा उत्खनन रहेकाले आफूहरूले नागरिक तहबाट सुरु भएको प्रस्तावित सन्धिलाई समर्थन गरेको धुलिखेल नगरपालिकाले जनाएको छ।

अमेरिकाको लस एन्जलस, स्पेनको बार्सिलोना, अस्ट्रेलियाको सिड्नीसहितका सहरले यसअघि नै यो प्रस्तावित सन्धिलाई समर्थन गरेका छन्।
आफूहरूले गरेको समर्थन अरू सहरका लागि सोही मार्गमा हिँड्न ऊर्जा प्रदान गर्ने अपेक्षा रहेको धुलिखेलका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले बताए।

आणविक ऊर्जा अप्रसार सन्धिको प्रारुपसँग मिल्ने गरी खनिज इन्धन अप्रसार सन्धिको प्रस्ताव तयार पारिएको अभियन्ताले बताएका छन्। नेपालमा यो अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक लीलामणि वाग्लेका अनुसार सन्धिको प्रस्तावमा खनिज इन्धनको सबै नयाँ लगानी र उत्पादनमा विश्वव्यापी रोक लगाउने, तापक्रम वृद्धि १.५ डिग्रीसेल्सियसमा सीमित गर्ने गरी हाल भइरहेको खनिज इन्धनको उत्पादन चरणबद्ध रूपमा अन्त्य गर्ने तथा खनिज इन्धनको विकल्पमा विश्वभर नवीकरणीय ऊर्जामा पहुँच विस्तार गर्ने उद्देश्य छ।

अक्टोबर अन्त्यमा विश्वभरका नेता र सरोकारवालाहरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ का लागि भेला हुने तयारी भइरहेका बेला नेपालको धुलिखेलले खनिज इन्धनको उत्पादनमा रोक लगाउने अभियानका रूपमा सुरु प्रस्तावित सन्धिको समर्थन गरेको हो।

जलवायु परिवर्तनको कारक विश्वव्यापी रूपमा भइरहेको तापक्रम वृद्धि सीमित तथा न्यूनीकरणका लागि हरितगृह ग्यासको उत्सर्जन कटौती गर्नुको विकल्प नरहेको संयुक्त राष्ट्रसंघीय निकाय तथा अरु वैज्ञानिक अध्ययन अनुसन्धानले भन्दै आएका छन्।

उत्सर्जन कटौतीका लागि खनिज इन्धनको उत्खनन तथा प्रयोगलाई स्वच्छ ऊर्जामा स्थानान्तरण गर्नुपर्ने हालै सार्वजनिक भएका आइपिसिसीसहितका प्रतिवेदनमा उल्लेख छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्