भारतबाट फर्केका व्यक्तिलाई नाकामै खोप

नेपालगञ्ज – भारतमा काम गरेर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामै खोप लगाएर पठाउन थालिएको छ।

भारतका विभिन्न सहरमा काम गरेर दसैं मान्न घर फर्किएका नेपालीलाई नाकामै भेरोसेल खोप लगाएर पठाइएको हो।

नाकामा रहेको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले खोप नलगाएका व्यक्तिलाई खोप लगाउँदै घरतर्फ पठाइएको बताए। ‘धेरै भारतमै कोभिशिल्ड लगाएको कार्ड देखाउनुहुन्छ। कोहीसँग नेपालमै खोप लगाएका कार्ड छन्, ल्याब टेक्निसियन ज्ञवालीले भने, खोप नलगाएका व्यक्तिलाई हामीले खोप लगाएर पठाउने गरेका छौं।’

नेपालगञ्ज नाकामा पहिलो डोज लगाएका व्यक्तिले आफ्नो पालिकामा गएर अर्को डोज लगाउन सक्ने उनले बताए। उनीहरूले दोस्रो डोज २१ देखि ३० दिनभित्र लगाउनुपर्छ।

नाकामा दुई दिनमा एक सय १६ जनाले खोप लगाएका छन्। नेपालगञ्ज नाकामा भारतबाट फर्केका व्यक्तिमा एन्टिजेन जाँच पनि हुन्छ। ज्ञवालीका अनुसार असोज महिनामा ६ हजार आठ सय जनाको जाँच गर्दा १५ जना पोजिटिभ फेला परेका छन्।

कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट मौसमी कामका लागि भारत पुगेका नेपाली यतिबेला दसैं मनाउन घर फर्किरहेका छन्।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दसैंभरि भारतबाट फर्किएका व्यक्तिलाई खोप लगाउने जानकारी दिए। नेपालमा क्रमशः सबैलाई खोप लगाइरहँदा भारतमा रहेका नेपाली नछुटुन् भनेर नाकामै खोप लगाउन थालिएको हो।

 

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्