प्रदेश १ को हिउँदे अधिवेशन षड्यन्त्रमूलक र कपटपूर्ण डाकिएको प्रदेश सभा सदस्यहरूको आरोप

मोरङ – प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन षड्यन्त्रमूलक र कपटपूर्ण ढंगले डाकिएको प्रदेश सभा सदस्यहरूले आरोप लगाएका छन्।

विराटनगरस्थित प्रदेश सभामा शुक्रबार सुरु भएको अधिवेशनमा बोल्ने अधिकांश प्रदेश सभा सदस्यले सरकारको विषयमा चर्को आलोचना गरेका थिए।
यद्यपि, प्रमुख प्रतिपक्षी दल कांग्रेसले सफ्ट कर्नरबाट आफ्नो भनाइ राखेको थियो।

हिउँदे अधिवेशनको पहिलो बैठकका क्रममा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले हिउँदे अधिवेशन नैतिक रूपमा नआएको र षड्यन्त्रपूर्वक ल्याइएको आरोप लगाए। अल्पमतमा रहेको सरकारले विशेष अधिवेशनको स्थानमा दसैँको पूर्वसन्ध्यामा बैठक डाक्नुलाई आफूहरूले षड्यन्त्र रूपमा हेरिएको बताए।

भदौ ९ गते दल विभाजन भइसकेको हुँदा एमालेले पटक–पटक संविधानविपरीत कार्य गरिरहेको आरोप लगाए। संसद्मा अल्पमतमा रहेसँगै सरकारले विश्वासको मत लिनुपर्नेमा संविधान मिच्दै आफ्नो कार्यकाल लम्ब्याउने खेलमा लागेको बताए।

यस क्रममा सरकारको बागडोर सम्हालेको एमालेले प्रदेश प्रमुखदेखि सभामुख पदलाई समेत विवादमा तान्ने काम गरिरहेको बताए। बैठकका क्रममा एमाओवादीका नेता इन्द्रबहादुर आङ्ग्बोले हिउँदे अधिवेशन षड्यन्त्र र कपटपूर्वक सरकारले बोलाएकामा आपत्ति जनाए।

सरकारप्रति अधिकांश समय खर्चेका नेता आङग्बोले भदौ १० गते मुख्यमन्त्री भीम आचार्यको नियुक्ति नै असंवैधानिक भएको बताए। भदौ ९ गते दल विभाजन भइसक्दासमेत विश्वासको मत लिनुपर्नेमा एमाले सरकारले मुख्यमन्त्री मात्र फेरबदल गर्नुको औचित्य नभएको बताएका थिए।

अहिलेको मन्त्री फेरबदल झण्डा हल्लाउन र नाम लेखाउने रहरमा मात्र सीमित रहेको उनको भनाइ छ। सोही क्रममा जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादवले पूर्वमुख्यमन्त्री शेरधन राईले साढे तीन वर्षभर गरेको कामकारबाहीको हिसाबकिताब जनतालाई दिनुपर्नेमा नयाँ मुख्यमन्त्री भीम आचार्यको टाउकामा हालिदिएको बताए।

मुख्यमन्त्री आचार्यमा वजन नभएको भन्दै नेता यादवले वजनबिनाको भीमले आतंक मच्चाइरहेको आरोप लगाएका थिए। यद्यपि, मुख्यमन्त्री आचार्यले संवैधानिक नैतिकता प्रस्तुत गर्दै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने सुझाव नेता यावदले दिएका थिए।

सरकारले कहीँ नभएको जात्रा हाँडी गाउँमा झँै अल्पमतले बहुमतमाथि शासन गर्ने प्रवृत्ति देखिएको उनले बताए। सो क्रममा संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चकी प्रदेश सभासदस्य विष्णु तुम्बाहाम्फेले सरकारले विश्वासको मत लिन अग्रसरता देखाउनुपर्नेमा हिउँदे अधिवेशन डाक्नु नै आपत्तिजनक भएको बताइन्।

सरकार चलाउनका लागि एमालेको बहुमत प्रस्ट नभएको बताउँदै तुम्बाहाम्फेले बहुमत गुमेको सरकारले १ मिनेट पनि सरकारमा रहन नहुने सुझाव दिइन्। सो क्रममा प्रदेशको नामकरण सरकारले ल्याउन नसकेकामा आपत्ति जनाएकी उनले नामकरणमा लिम्बुवान, खुम्वुवान किराँत नसमेटिए अन्य नाममा सहमति नरहने बताइन्।

दसँैको शुभकामना दिँदैं बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुख्यमन्त्री भीम आचार्यले समस्याको निकास दिनेमा आफू विश्वस्त रहेको बताए।

उनले भने, ‘मुख्यमन्त्रीले अहिलेको परिस्थिमा र देखिएको समस्या समाधानमा छिटो, छरितो निकास दिनुहुनेछ।’ त्यसैगरी, सरकारको बचाव गर्दै पूर्वआन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले एमाले सरकार बहुमतमै रहेको प्रस्ट्याएका थिए। सो क्रममा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल चल्ने र अहिलेसम्म विश्वासको मत नगुमाएको बताए।

उनले भने, ‘अहिले सरकारले विश्वासको मत गुमाएको कुरामा सत्यता छैन। हामीसँग ४१ सदस्य छन्। अब ६ सिट पुर्‍याउनासाथ सरकार सहज रूपमा अघि बढ्नेछ।’

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले यसबीच आर्थिक विधेयक २०७८ सहित ३ वटा विधेयक पारित भई प्रमाणीकरण भएको बताएका थिए। उनले सदनमा यसबीच मन्त्री नियुक्त, दल दर्तालगायत विषयमा जानकारी दिए। सभामुख भण्डारीले अब अर्को बैठक असोज २४ गते बस्ने जानकारी दिए।

 

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्