भक्तपुरमा रेडक्रसको जिल्ला शाखा भंग गरी तदर्थ समिति : कांग्रेस, माओवादी केन्द्र र एमालेले लगाए भागबन्डा

भक्तपुर– नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको निर्वाचित कार्यसमिति भंग गरिएको छ। मनोजकुमार थापा सभापति रहेको जिल्ला शाखा भंग गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भंग भएको जिल्ला शाखाको ठाउँमा नयाँ तदर्थ समिति गठन गरिएको छ। भंग गरिएको शाखाका उपसभापति कृष्णगोपाल लागेजूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको जनाएको छ।

कार्यालयका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भक्तपुर जिल्ला शाखालाई पत्र लेखी उक्त तदर्थ समिति गठन भएको जानकारी दिएका छन्। जसमा कृष्णगोपाल लागेजूलाई संयोजक र अरु बाँकी १४ जनालाई सदस्य तोकिएको छ।

तदर्थ समितिको सदस्यहरुमा कृष्णेश्वरी हाडा, रामेश्वर थापा, प्रदीप केसी, नारायणसुन्दर किलम्बू, सोम प्रधान, कल्पना राजथला, दिनेश थापा रहेका छन्। त्यस्तै वसन्तकुमार श्रेष्ठ, चण्डिका लामिछाने, श्यामसुन्दर श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, प्रेमप्रसाद खतिवडा, सरस्वती जोशी र धर्मराज थापालाई पनि सदस्य तोकिएको छ।

केन्द्रले नवगठित तदर्थ समितिलाई जिल्ला अधिवेशन गर्ने कार्यादेश दिइएको बताइएको छ। रेडक्रस केन्द्रीय कार्यालयका अनुसार जिल्ला अधिवेशन नगरेको हुनाले निर्वाचित जिल्ला शाखा भंग गरिएको हो।

‘जिल्ला अधिवेशन गर्न एक वर्षको अवधि दिँदा पनि नगरिएपछि जिल्ला शाखा भंग गरिएको हो’, रेडक्रस केन्द्रीय कार्यालय स्रोतले भन्यो।

उनका अनुसार जिल्ला अधिवेशन गर्नकै लागि जिल्ला शाखाको म्याद एक वर्ष थप गरिएको थियो। पाँच वर्षअघि जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला शाखा पदाधिकारीहरुको एक वर्षअघि नै म्याद सकिएको थियो। कोभिड १९ कै बीच निर्वाचित पदाधिकारीहरुको म्याद सकिएको थियो। जुन थपिएको म्याद सकिएको पनि ५ महिना बितेको भक्तपुर रेडक्रसका एक पदाधिकारीले बताए।

‘तदर्थ समिति अवैधानिक’

केन्द्रले रेडक्रसको विधानको दफा ३५ (१) बमोजिम नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला तदर्थ समिति गठन गरिएको जनाएको छ तर केन्द्रले विधानको दफा उल्लेख गरे पनि तदर्थ समिति गठन अवैधानिक भएको भंग गरिएको जिल्ला शाखाका पदाधिकारीहरु बताउँछन्।

केन्द्रीय कार्यालयले भंग गरेको भक्तपुर रेडक्रसको जिल्ला शाखा पदाधिकारीहरु ।

उनीहरुले जिल्ला अधिवेशन गर्न पाँचपटकसम्म केन्द्रमा माग गर्दा पनि स्वीकृति नदिएको जानकारी दिए। रेडक्रसको विधानानुसार जिल्लासभा (साधारणसभा) गरी त्यसबाट अधिवेशन गर्न भनी सभासद्हरुको नामावली पठाउँदा पनि केन्द्रले जिल्लालाई अधिवेशन नै गर्न नदिएको निवर्तमान मन्त्री परशुराम पाण्डे बताउँछन्।

‘हामीले केन्द्रमा पाँचपटकसम्म जिल्ला अधिवेशन गर्न माग ग¥यौं’, उनले भने, ‘तर केन्द्रले अधिवेशन गर्ने कार्यादेश दिएन। उल्टै रेडक्रसको नयाँ विधान आउँदैछ, त्यसपछि जिल्ला अधिवेशन गर्नुस् भनी हामीलाई झुलायो। अहिले आएर जिल्ला अधिवेशन नगरेको भनी आरोप लगाउनु न्यायोचित भएन।’

रेडक्रस विधानमा जिल्लामा केन्द्रले हस्तक्षेप गर्ने प्रावधान भए पनि केन्द्रले आफ्नो कमजोरी छोप्न जिल्लामा नाजायज हस्तक्षेप गर्न नपाइने उनको भनाइ छ।

त्यस्तै भंग गरिएको जिल्ला शाखाका सदस्य धर्मराज कार्कीले भक्तपुरमा तदर्थ समिति गठन गर्नु अवैधानिक भएको बताए। जिल्ला शाखाले पटकपटठक अधिवेशन माग गर्दा गर्नै नदिने केन्द्र आफैले अहिले आएर जिल्ला शाखाले अधिवेशन गर्न सकेन भन्नु आफै अवैधानिक भएको उनको तर्क थियो।

उनले जिल्ला शाखा अधिवेशन गर्न सफल भएको भए असफल शाखाकै उपसभापति, कोषाध्यक्ष, उपकोषाध्यक्ष र सदस्यहरु राखेर किन तदर्थ समिति गठन गरिएको भन्दै प्रश्न गरे। तदर्थ समितिका संयोजक लागेजू भंग गरिएको जिल्ला शाखाका उपसभापति हुन्। त्यस्तै तदर्थ समितिमा सदस्य बनाइएका प्रदीप केसी शाखाका कोषाध्यक्ष र नारायणसुन्दर किलम्बू उपकोषाध्यक्ष हुन्। त्यस्तै तदर्थ समितिकी सदस्य कृष्णेश्वरी हाडा भंग गरिएको शाखाकी कार्यसमिति सदस्य हुन्।

तदर्थ समितिमा कांग्रेस, माओवादी केन्द्र र एमालेको भागबन्डा

तदर्थ समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेले भागबन्डा लगाएका छन्। दलहरुको भागबन्डामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका दुई पूर्वकर्मचारी र भक्तपुरका पूर्वसहायक प्रमुख जिल्ला अधिकारीले समेत भाग पाएका छन्।

तदर्थ समितिका संयोजक लागेजू नेकपा माओवादी केन्द्रको कोटाबाट भक्तपुर रेडक्रस प्रमुख भएका हुन्। उनीसँगै नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाका सभापति धर्मराज थापासमेत माओवादी केन्द्रको कोटाबाट तदर्थ समिति सदस्य बने। माओवादी केन्द्रबाटै चण्डिका लामिछाने तदर्थ समिति सदस्य बनिन्। उनी भक्तपुरका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेकी छोरीसमेत हुन्।

त्यस्तै कांग्रेसबाट कृष्णेश्वरी हाडा, प्रदीप केसी, नारायणसुन्दर किलम्बु, सोम प्रधान, दिनेश थापा र कल्पना राजथला तदर्थ समिति सदस्य बने।
सत्ताबाट बाहिरिएको एमालेले समेत भक्तपुर रेडक्रसमा राम्रो भाग पाएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रेडक्रसको निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई हटाएर एमाले समर्थित नेत्र तिमिल्सेनालाई रेडक्रस अध्यक्ष बनाएका थिए। उनै नेत्रले भक्तपुर रेडक्रसमा एमालेको भाग सुनिश्चित गरेका हुन्। उनले एमाले कार्यकर्ता रामेश्वर थापालाई भक्तपुर रेडक्रस संयोजक बनाउन खोजेका थिए। सबै तयारी गरेका उनलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएपछि आफ्ना कार्यकर्तालाई हटाएर माओवादी केन्द्रका कृष्णगोपाल लागेजूलाई भक्तपुर रेडक्रस संयोजक बनाउन बाध्य भएका थिए।

एमालेलाई संयोजक दिन नसकिए पनि ठूलै भाग पार्न केन्द्रीय अध्यक्ष नेत्र सफल भए। तदर्थ समितिमा एमालेबाट रामेश्वर थापासँगै प्रेमप्रसाद खतिवडा, बसन्तकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सरस्वती जोशी सदस्य बन्न सफल भए। बसन्तकुमार रेडक्रस केन्द्रका पूर्वकर्मचारीसमेत हुन्।

रेडक्रसको सदस्य नै नभएका व्यक्ति तदर्थ समितिमा

रेडक्रस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। रेडक्रसका अवधारणा र मान्यताले यो अराजनैतिक संस्था हो तर पछिल्लो सयम रेडक्रसमै बढी राजनीतिकरण भएको छ। जसको ज्वलन्त उदाहरण भक्तपुर रेडक्रस बनेको छ। रेडक्रसको सदस्य नै नभएकालाई भक्तपुर रेडक्रसको कार्यसमितिका ल्याइएको छ।

रेडक्रस केन्द्रले आजीवन सदस्य भनिएका चण्डिका लामिछाने र सरस्वती जोशी रेडक्रसको साधारण सदस्यसमेत नरहेको भक्तपुर रेडक्रसले जनाएको छ। यी दुईजना रेडक्रसको सदस्य भएको रेडर्क भक्तपुरमा कतै छैन।

भंग गरिएको जिल्ला शाखाका सदस्य धर्मराज कार्कीले चण्डिका लामिछाने र सरस्वती जोशी रेडक्रसको साधारण सदस्यसमेत नभएको जानकारी दिए। चण्डिका माओवादी कार्यकर्ता एवं पूर्वसहायक प्रमुख जिल्ला अधिकारीकी छोरी भएकै कारण भक्तपुर रेडक्रस तदर्थ समितिमा आएको उनी बताउँछन्। त्यस्तै सूर्यविनायक नपा ५ की भनिएकी सरस्वती जोशीको समेत रेडक्रसमा राजनीतिक नियुक्ति भएको कार्कीको भनाइ छ।

‘म पनि सूर्यविनायक नपा ५ बाटै भक्तपुर रेडक्रसमा आवद्ध भएको हुँ तर सूर्यविनायक नपा ५ कै सरस्वती जोशीलाई मैले चिनेको छैन’, उनले भने, ‘उहाँ रेडक्रसका कुनै पनि कार्यक्रममा सहभागी भएको अहिलेसम्म थाहा छैन। अनि रेडक्रसको सदस्य नै नभएको व्यक्ति के केसरी तदर्थ समितिमा आउनुभयो।’

पूर्वप्रधानमन्त्री केपी शर्माकै सिको गरेर रेडक्रस केन्द्रमा नियुक्त भएका पदाधिकारीहरुले भक्तपुरमा पनि हस्तक्षेप गरेका छन्। ओली सरकारले मनोनीत गरेका केन्द्रीय पदाधिकारीहरुको म्याद यहीं कार्तिक ३ गते सकिँदै छ। कार्तिक ३ भित्र केन्द्रीय महाधिवेशन गर्न नसकिए यी मनोनीत पदाधिकारीहरुसमेत आफै अवैधानिक हुँदैछन्। यस्तो संक्रमणको बेला भक्तपुर रेडक्रसलाई अस्थिर बनाउन राजनीतिक चलखेल गरिएको भंग गरिएको जिल्ला शाखाका पदाधिकारीहरुको निष्कर्ष रहेको छ।

‘यो स्थायी होइन, स्थिर भक्तपुर रेडक्रसलाई अस्थिर बनाउन खोजिएको हो। राजनीतिक चलखेल सफल हुँदैन’, उनीहरुले भने।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्