नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुर ‘लब्ली र ब्यूटी’ को जाँच

नेपालगञ्ज – नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।

नेपाल प्रहरीको दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस, सवारी साधनलाई जाँच गरेको थियो । लब्लीले बिष्फोटक पदार्थ र हात हतियार तथा ब्यूटीले लागु औषधि सम्बन्धी जाँच गरेको थियो ।

नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड रहेको छ । नाका खुलेका किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ ।

प्रहरीले दसैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको जाँच गरेको थियो । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेका थिए ।

नेपालगञ्ज नाकामा बेलाबेलामा यस्तो जाँच हुने गर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषधि किनेर फर्किने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषधि बरामद गर्ने गर्दछ । तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागु औषधि बरामद गर्ने गरेको पनि छ ।

शनिबार बिहान भने केही फेला परेन । नाकामा प्रायः सबै कालापहाडबाट दसैँ मान्न घर फर्किएका नेपालीको भीड रहेकाले उनीहरुको साथमा कुनै अवैध सामान फेला परेन ।

नेपालगञ्ज नाकामा केही दिनयता भारतबाट फर्किने नेपालीलाई खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेको छ।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्