ई-सेवा र एम-बैंकबीच डिजिटल कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ– डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम-बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ। सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो।

सम्झौतासँगै एम-बैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ।

ई–सेवासँगको सहकार्यले अबदेखि एम-बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, ई–सेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर/डिम्याट नवीकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानीलगायतका सेवा उपयोग गर्न पाइनेछ। हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुने ई–सेवाले जनाएको छ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन्। हाल ई–सेवाका देशभर एक लाख २५ हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन्।

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउने र सर्भिस दिनेमा एम-बैंक सबैभन्दा अगाडि रहेको छ। जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि एम-बैंकको सेवा सजिलै लिन सक्ने छन्। एम-बैंक नेपालमा सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो।

कम्पनीले हालसम्म ४५० बढी सहकारीलाई डिजिटलाइज गरिसकेको छ।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्